हामीमध्ये धेरैले सुनेको श्लोक हो, ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् । परोपकार पुण्याय पापाय परपीडनम् अर्थात् अठ्ठार पुराणमा व्यासका दुई वटा भनाइ छन् : पुण्य प्राप्त गर्न परोकार र पाप गर्न अर्कालाई पीडा दिनू ।’ व्यासका सन्दर्भमा यो महत्वपूर्ण सन्देश छ ।
हामीले जान्दै, बुझ्दै र मान्दैआएको कुरा के हो भने व्यास विष्णुका अवतार हुन्, व्यास वेदका रचनाकार हुन् र व्यास १८ वटा पुराणका पनि रचनाकार हुन् । यिनले नै यी सबै काम गरेका हुन् भन्ने बुझाइ धेरै जनामा रहेको देखिन्छ । तर के व्यास एक जना व्यक्ति हुन् त ? एक जना मानिसले यति धेरै काम गरे होलान् त ? यस्ता अनेकौँ प्रश्न र जिज्ञासा पनि मानव मस्तिष्कमा रहेको देखिन्छ । केही दिनअघि मात्र मनाइएको आषाढ शुक्ल पूर्णिमा— गुरूपूर्णिमा/व्यास जयन्तिका केही सामान्य प्रसङ्ग खोतलौं । यस दिन हिन्दु सनातन संस्कृतिका अनुयायीहरूले यस दिनलाई गुरु पर्वका रूपमा मनाउने प्रचलन रहिआएको छ । यसको सोझो अर्थ हो व्यासलाई गुरु मानिन्छ । सामान्यतया गुरु शब्दको अर्थ अज्ञानलाई हटाएर ज्ञान दिने भन्ने लाग्दछ । ज्ञान के हो ? दार्शनिक हिसाबले भन्ने हो भने जीवन र जगतका बारेमा बुझ्नु र बुझेका कुरालाई व्यवहारमा लागू गर्न सक्नु हो । जीवन र जगत बारेका बुझाइ फरक—फरक छन् । अतः ज्ञान र ज्ञानको परिभाषा पनि फरकफरक हुनसक्नु स्वाभाविक हो ।
के हो र को हो त गुरु ? जसमा गुरुत्व हुन्छ उही नै गुरु हो । गुरुत्व भनेको ? भारीपन, गह्रौपन । गुरुत्व भनेको उचाल्न सक्ने शक्ति हो, तान्न सक्ने शक्ति हो । गुरुत्वाकर्षणको अर्थ बुझेका छौँ भने गुरुको अर्थ बुझ्न गाह्रो छैन । तर फरक के हो भने सामान्यतया गुरुत्वले तलतिर तान्दछ भने गुरुले माथि उकास्ने क्षमता दिने सामथ्र्य राख्दछन् । तान्न वा उकास्न के गर्नपर्ने हो, त्यसको सही सन्तुलन कायम राख्ने ज्ञान, क्षमता र सीपको अन्तर्वस्तु वा स्रोत गुरुत्व हो, जहाँ, जेमा वा जसमा यो अन्तर्वस्तु छ, त्यो नै गुरुस्थान वा गुरु हो । समग्रमा गुरुत्व भनेको शक्ति र गुरु भनेको शक्तिसम्पन्न हो ।
पृथ्वीमा रहेको गुरुत्वाकर्षणका कारण पृथ्वीमाथि रहेका हरेक वस्तु पृथ्वीमा खस्दछ । पृथ्वी देखिन्छ, वस्तु देखिन्छ, खसेको पनि देखिन्छ तर के कारणले त्यस्तो भइरहेको छ, त्यो पनि थाहा छ, तर त्यो शक्ति देखिँदैन । पृथ्वीको गुरुत्वाकर्षणका कारण संसारको सन्तुलन छ । त्यसै कारणले यहाँ जीवन सहज छ । अन्य ग्रहहरूमा यस्तो सन्तुलन नभएकै कारण जलजीवन र जनजीवन सहज छैन । अझ मानिस नपुगेका यस्ता ठाउँहरूको खोजी भइरहेको छ र सहजताको प्रयास पनि हुने नै छ ।
यो त भयो समग्र पृथ्वीको कुरा । समग्र सृष्टिको कुरा । प्राकृतिक सन्तुलनको कुरा । मानव जीवन पनि अनेकौँ विविधता र विशेषतायुक्त छ । यहाँ जन्म र मरण छ । यही जन्म र मरणका बिचको अवधि नै मानिसको जीवन हो । तर यही बिचमा मानिसले धेरै कुरा देख्दछ, धेरै कुरा खोज्दछ, धेरै कुरा भेट्टाउँछ । यही बीचमा मानिसले सुख भोग गर्छ । यहीँ उसले दुःख पाउँछ । यहीँ उसले अनेकौँ अनुमान, कल्पना, सृजना, निर्माण र आविष्कार गर्दछ ।
यति मात्र होइन, मानिस अनौठो प्राणी हो । यो बौद्धिक प्राणी नै हो । तर यसले आफै ईश्वर/परब्रह्मको परिकल्पना गर्दछ र आपूm स्वयं उसकै उत्पादन, खटन र अधीनमा रहेको व्यवस्था समेत विकास गर्दछ । ईश्वर÷परब्रह्मको परिकल्पना गर्दछ, स्वरूप निर्धारण गर्दछ, विग्रह निर्माण गर्दछ र सबै सृष्टि, चराचर सबैको कर्ता—विधाता उसैलाई बनाइदिन्छ ।
मातापिता र प्रत्यक्ष रूपमा ज्ञान, सीप दिने गुरू देखिने शक्ति हुन् । परब्रह्म भनेको शब्दमा वर्णन नगरिएका र नदेखिने कल्पित सर्वोच्च शक्ति हो । जीवन र जगतका विषयमा सचेत, जागरूक र सक्षम बनाउने ज्ञात—अज्ञात भूमिका भएका सबै गुरू हुन् । मानिसका पुर्खाले धेरै विषयको खोज, पहिचान, आविष्कार, सृजनाको आधार प्रकृतिमा उपलब्ध भौतिक पदार्थका साथै अनुमान र परिकल्पनालाई बनाएको पनि स्पष्टै देखिन्छ । अतः नदेखिने अनुमानित शक्तिलाई पनि महत्व दिइएको पाइन्छ । यही अनुमान र परिकल्पनाकै आधारमा ग्रह, नक्षत्र आदिको अध्ययन, अन्वेषण गरे । ग्रहहरूका गतिलाई आधार बनाएर तिथिहरूको नामकरण गरे । आज हामीले जानेका २७ नक्षत्र(मुख्य), १२ महिना, १६ तिथि, सात वार आदि हाम्रा पुर्खाको अनुमानमा पाइएको सत्य र परिकल्पनाको शक्तिको परिणाम हो । यिनै प्राप्तिलाई हाम्रा पूर्वजहरूले खास महत्व दिएर सजाए ।
माथि चर्चा गरिसकिएकोछ कि व्यास ठूला गुरू हुन् । यिनैले वेदलाई ४ भागमा विभाजित गरे । यिनैले १८ पुराण लेखे । तर, यथार्थमा व्यासले वेद लेखेको नभई चार भागमा बाँडेको भन्ने भनाइ सत्यको नजिक देखिन्छ । धेरै मानिसहरू व्यास भनेको कुनै एकजना व्यक्ति हुन् भन्ने मात्र जानकारी राख्दछन् । वास्तवमा व्यास कुनै एकजना मानिसको नाम भए पनि पछि यो पदवी बन्यो । व्यास शब्दको अर्थ के हो ? शब्दकोशका अनुसार व्यास शब्दको अर्थ हो— विस्तार वा फैलावट, कथा—पुराणवाचन गर्ने विद्वान, वृत्त परिधिको कल्पना गरिएको रेखा आदि । यसरी हेर्दा व्यास कुनै व्यक्तिविशेषको नाम नभएर यो एउटा पदवी हो भन्ने बुझिन्छ । वेदको विभाजन गर्ने, यतिका धेरै (१८ वटा) पुराणहरू रचना गर्ने र ज्ञानगुनका कथावाचन गर्ने भनेपछि व्यासको विशाल व्यक्तित्वको अनुमान गर्न त सकिन्छ, तर यी एउटै व्यक्ति थिए भन्ने भ्रममा पर्न भने हुँदैन । वेदको सङ्ग्रह र ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेद गरी ४ भागमा विभाजन, सृष्टि, विकास, अन्तर्विरोध, उपदेश, दण्ड आदिको सङ्ग्रहका रूपमा रहेका १८ पुराणहरूको रचना गर्ने व्यासहरू ज्ञानका मूर्ति हुन् ।
जसरी राजा भन्दा एउटा मात्र भन्ने अनुमान गर्नु सही हुँदैन, मन्त्री भन्दा कुनै एकजना मात्र हुँदैनन्, शिक्षक, गुरु, पण्डित, कलाकार आदि पनि एकजना मात्र भन्ने बुझाई सही हुँदैन । त्यसैगरी अनेकौँ कृतिहरू, गुणका हिसाबले व्यास पनि एकजना मात्र थिएनन् । परापूर्व कालदेखि चलिआएका यस्ता विषयहरूबारे जानकारीका स्रोत पुराणहरू हुन् । पुराणहरूमा व्यास एकजना मात्र थिए भन्ने उल्लेख पाइँदैन । विष्णुपुराणका अनुसार व्यासपीठ(पद)मा रहेकाहरू अर्थात् ‘व्यास’हरूका नाम यस प्रकार रहेको पाइन्छ :
१. ब्रह्मा, २. प्रजापति, ३. शुक्राचार्य, ४. बृहस्पति, ५. सूर्य, ६. मृत्यु, ७. इन्द्र, ८. वसिष्ठ, ९. सारस्वत, १०. त्रिधामा, ११. त्रिशिख, १२. भरद्वाज, १३. अन्तरिक्ष, १४. वर्णी, १५. त्र्यारूण, १६. धनञ्जय, १७. क्रतुञ्जय, १८. जय, १९. भरद्वाज, २०. गौतम, २१. हर्यात्मा, २२. वाजश्रवा, २३. तृणबिन्दु, २४. ऋक्ष (वाल्मीकि), २५. शक्ति, २६. पराशर, २७. जातुकर्ण, २८. कृष्णद्वैपायन ।
पौराणिक कथनअनुसार यी २८ जना व्यासहरू भइसके र अब हुने २९ औँ व्यास अश्वत्थामा हुन् भनिएको छ । व्यासजस्तै अश्वत्थामा पनि अष्टचिरञ्जीवी मध्येका एक हुन् । यहाँ १२ र १९ सङ्ख्यामा लेखिएका ‘भरद्वाज’ एउटै हुन् कि फरक हुन् ? स्पष्ट हुन सकिएन । माथि उल्लेख गरिएका सबै व्यासहरू एकै ठाउँमा जन्मे होलान् ? यिनका जन्मस्थान पनि फरक ठाउँमा भएको अनुमान सहजै गर्न सकिन्छ । यिनै मध्येका कुनै व्यास नेपालको तनहुँको दमौलीमा जन्मेका हुन्, कुन हुन् यो खोजको विषय हो । खोज्न सकिन्छ, खोजौँ । यी सबै हेर्दा र बुझ्दा व्यास एक जना व्यक्ति होइनन् । व्यास परम्परा हो, पदवी हो, गुण र कर्म हो भन्ने देखिन्छ ।
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)