images
images

हरेक मानिससँग सिर्जनशील क्षमता छ तर अवसरको कमी छ : प्रा.डा.तत्वप्रसाद तिम्सिना

धेरै विकासोन्मुख मुलुकहरूमा सामुदायिक विकासका कार्यक्रमहरूको लोकप्रियता बढ्दै गइरहेको छ । गरिब राष्ट्रहरूमा विकासका कामहरू अवरुद्ध हुन पुगेको पृष्ठभूमिमा विकास प्रयासमा जनसहभागिता बढाउने अभिप्रायले सामुदायिक विकास कार्यक्रमतर्फ लोकप्रियता बढ्दै गइरहेको हो । 

 

स्थानीय विकासमा जनसहभागिता, योजना तर्जुमा, स्रोत व्यवस्थापन, विपन्न वर्गको नेतृत्व विकास, निर्णय क्षमता जस्ता उद्देश्य राखी आइसिए नेपालले विगत २५ वर्षदेखि काम गर्दै आइरहेको छ । सामुदायिक विकासलाई केन्द्र भागमा राखेर नेपालमा सामुदायिक विकासको अवधारणा अवलम्बन गरिरहेको आइसिए नेपालले गरेका काम र यसको प्रभावकारिताका विषयमा आइसिए नेपालका संस्थापक अध्यक्ष प्रा.डा.तत्वप्रसाद तिम्सिनासँग अनलाइन बहसकर्मी विशाल आचार्यले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।  

 

आइसिए नेपाल नेपालमा पनि स्थापना गर्नुपर्छ भन्ने विचार कसरी आयो ? 
आइसिए विश्वव्यापी अभियान हो । २६ वर्षअघि अमेरिकाबाट सुरु भएको विश्वको विकास गर्ने विपन्न वर्ग, विपन्न जनताहरूलाई सहयोग गर्ने हिसाबले सुरु भएको संस्था हो । नेपालमा भने सन् १९९८ मा सुरु भएको हो । नेपालमा यो कार्यक्रम मैले नै नेतृत्व गरेर ल्याएको हुँ । त्यतिबेला म बेल्जियममा पढ्थेँ, यसको हेड अफिस पनि बेल्जियममा नै थियो । त्यतिबेला म यो संस्थासँग सम्पर्कमा आएँ । त्यतिबेला मैले धेरै कुराहरू सिक्ने मौका पनि पाएको थिएँ । धेरै खालका तालिमहरू पनि लिएँ ।  मुख्यतः मान्छेको विकास कसरी गर्ने ? भन्ने बारेमा तालिम लिएँ । म वातावरण विज्ञान पढ्न गएको थिएँ तर सँगसँगै यो पनि सिकेर आएँ । यसरी मैले नेपालमा पनि मानवीय विकास गर्न जरुरत छ भन्ने थाहा पाएर नेपाल फर्किएपछि आइसिए नेपाल संस्था स्थापना गरेँ ।  

 

आइसिएले नेपालमा के के काम गरिरहेको छ ? 
विगत २५ वर्षदेखि नेपालमा विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ । हामीले ५० भन्दा बढी जिल्लाहरूमा कार्यक्रम गरिसकेका छौँ । २२ हजारभन्दा बढीलाई विभिन्न प्रकारका तालिमहरू दिइसकेका छौँ । आइसिएले विशेषतः  दिने भनेको तालिम नैे हो । यसका आफ्नैखाले तालिम प्रक्रिया छन् । जसले मान्छेलाई  विकासका लागि सहजीकरण, सजिलो ढङ्गबाट रणनीतिक योजना तर्जुमा, आफ्नो नेतृत्व क्षमता विकास गर्नका लागि यसले यस्ता खाले तालिम सामग्रीहरू विकास गरिरहेको छ । समुदाय स्तरमा विकासका लागि स्रोतहरू जुटाइदिने काम पनि गरेको छ । खास गरी मानिसहरूलाई अभिप्रेरित गर्ने र सक्दो स्रोत जुटाइदिने काम नै हुन् । 

 

यीबाहेक अरु कामहरू के कस्ता छन् ? 
त्यसबाहेक हामी विपन्न वर्गका समुदायका अपाङ्गता भएकाहरूलाई पनि सहयोग गर्दैआएका छौँ । हामी विशेष गरी तीन क्षेत्रमा काम गरिरहेका छौँ । अनुसन्धान, सामुदायिक विकासमा र मानव विकास हाम्रो कामका प्राथमिक क्षेत्र रहँदै आएको छ । मानवीय क्षमताको विकासका लािग अझ विशेष काम गरिरहेका छौँ । आइसिएको विशेष ध्येय भनेकै मानव क्षमता विकास हो । यसो नभई कुनै पनि विकास सम्भव हुँदैन भन्ने मान्यतामा विश्वास गर्छौँ । 

 

आगामी योजनाहरू के के छन् ? 
हामीले विगत १६—१७ वर्षअघि युएस—एडको सहयोगमा चलाइरहेको कार्यक्रम ‘लिडरसीप म्यानेजम्यान्ट एण्ड गभर्नेन्स’ हो । यस विषयमा हाम्रो तालिम प्याकेज नै छ, जुन धेरै देशमा चलाइएको छ । त्यही तालिममार्फत व्यक्ति तथा संस्थाहरूलाई सशक्तीकरण गर्ने,  गर्दैआएका कामलाई थप प्रभावकारी बनाउने, योजना तर्जुमा गर्ने, योजना तर्जुमाको सीप सिक्ने, नेतृत्व विकास तथा व्यवस्थापने विकास गर्ने, सुशासन कायम गर्ने विषयमा हामीले जोड दिँदैआएका छौँ । हामीले गर्ने र सिकाउने विषय यिनै हुन् । 

 

तपाईँहरूका तालिमबाट कति मानिस लाभान्वित हुन्छन् ? नेपालमा यसको प्रभावकारीता  होला  त ? 
वास्तवमा यति प्रभावकारी कामहरू छन् तर पनि सबै देशभरी पुग्न त सकिरहेको छैनौँ । हामी के कुरामा विश्वास राख्छौँ भने युवा पलायन भैरहेको छ । त्यसले हामीलाई दुख पनि लाईरहेको छ । हुन त कति पय राम्रा पक्ष पनि होलान् । हरेक मान्छेसँग ट्यालेन्ट छ । हरेक मान्छे सिर्जनशील छन् । तर कमि के छ भने अवसरको कमी छ । व्यत्तिहरूले अवसर पाईरहेका छैनन् । र,उनीहरूलाई राज्यले समेत अवसर दिन सकिरहेको छैन । युवाहरू पलायन हुने क्रम बढ्दो छ । यदि नेपालमै युवाहरूलई अवसर दिने हो भने अमेरिका अथवा जापानका भन्दा कम्ति होइनन् । त्यो कुरामा हामी विश्वास गर्छौँ । त्यही भएर हामी जे जति सक्छौँ । ती व्यत्तिहरूलाई तालिम दिन्छौँ सिकाउछौँ र विभिन्न आय आर्जनमा लाग्नुपर्छ भनेर त्यस्ता खालका आयआर्जनका उपायहरू सिकाउँछौँ र केही सहयोग पनि गर्दछौँ । यो एउटा विशिष्ट खालको प्रक्रिया छ । आइसिएको यो प्रक्रिया नै त्यसरी सुरु भयो । जतिबेला मलेसिया गरिब थियो जापान गरिब थियो । यस्ता धेरै गरिब देश भएकाले एकजना प्रोफेसरको नेतृत्वमा विश्व्व्यापी रूपमा हजारौँको संख्यामा यस्ता व्यक्तिहरू गए र उनीहरूले ती देशमा विकासका कामहरूलाई बढाए र विकास गर्दा गर्दै मानिसहरूको विकास र उनीहरूको क्षमता विकासमा पनि उत्तिकै काम गरे । यही काम हामी अहिले नेपालमा गरिरहेका छौँ । 

 

यी सबै काम त गर्नुहुन्छ, सहयोगचैँ कहाँबाट ल्याउनुहुन्छ ? 
हामी सँगसँगै नेपालका गैरसरकारी संस्थाहरूलाई पनि सहयोग गर्छौँ । कसरी राम्रा प्रोपोजल लेख्ने कसरी ‘फन्ड जेनेरेट’ गर्ने, कसरी स्थानीय तहमै स्रोत खोजी र संकलन गर्ने भन्ने विषयमा पनि तालिम दिन्छौँ । यो प्रक्रियाबाट हामीले विभिन्न अस्पतालहरूका लागि विद्यालयहरूका लागि प्रशस्तै सहयोग गरिरहेका छौँ । अपाङ्गहरूका लागि घरहरू बनाइदिने समुदायमा ठाउँ ठाउँमा सिकाई केन्द्रहरू पनि बनाइरहेका छौँ । यो सम्भव हुन्छ । हामी अलिक लाग्यौँ भने । सहयोग गर्ने धेरै छन् । तर हामीले त्यो सहयोग लिन पनि जान्नुपर्दछ । त्यस्तो खालको सहयोग भेला गरेर समुदायस्तरसम्म पुऱ्याउने काम हामी गर्दछौँ ।त्यो सहयोगको समुचित प्रयोग गऱ्यौँ भने हामी समृद्ध दिशातर्फ जान्छौँ । 

 

नेतृत्व विकासको तालिमहरू त दिनुहन्छ तर, अहिले दैनिक विदेश पलायन हुनेको सङ्ख्या त हजारौँको छ नि ! वर्तमान राजनीतिक अवस्था र विदेश पलायनलाई कसरी लिनुभएको छ ? 
अहिलेको राजनीतिक अवस्था हेर्दा अलिकति नैराश्य पूर्ण पनि छ । अब यो राजनीतिले दिएको उपज पनि भन्ठानौँ । हाम्रो संविधानले जे भन्यो त्यही खालको राजनीति आउने हो । जसरी भए पनि सत्तामा पुग्ने र सत्तामा पुगेपछि जे गरे पनि हुन्छ भन्ने सोच हामीमा व्याप्त भयो । संविधानले भन्यो होला तर त्यो निकृष्ट हिसाबले नै राजनीति गर्नुपर्छ भन्ने पनि छैन । राजनीतिमा पनि आदर्श चाहिन्छ । आखिरी के र केका लागि भन्ने कुरा त त्यहाँ पनि छ । सत्ता पाउँदैमा देशै बेचेर खाने भन्ने  होइन । आखिर जनता पनि चुपो लागेर त बस्दैनन् । सचेत नै छन् । देश बेचेरै खान त प्रधानमन्त्री भए पनि, जति ठूलो पदमा भए पनि उनलाई त्यो अधिकार  त दिएको छैन नि ! खालि के हो भने राम्रोसँग शासन सत्ता चलाऊ भन्या न हो । हामीले अब राजनीतिमा नैराश्य छ भनेर चुपो लागेर बसेर पनि हुँदैन । हामी जस्तो बुझेको मान्छेले केही न केही गर्नुपर्छ । यदि त्यसो नगर्ने हो भने स्थिति झन् झन् प्रतिकूल पनि हुँदै जान सक्छ । जसरी अहिले झण्डै २ हजारको हाराहारीमा विदेश पलायन भइरहेका छन् । लाखौँका संख्यामा महिनैपिच्छे गइरहेका छन् । यो लामो समय सम्म नरहोस् भन्ने मेरो कामना हो ।