images
images

नयाँ विश्वव्यवस्था : चर्चा मात्र कि यथार्थ ? 

काठमााडौं, माघ २६ (अनलाईन बहस) 
रुस–यूक्रेन युद्धसँगै नयाँ विश्वव्यवस्थाको चर्चा पुनः प्रारम्भ भएको परिपे्रक्षमा नेपालीहरूको सोचाइ र अभ्यास पनि अग्रणी रहेको तथ्य सामुन्ने आएका छन् । ‘पशुपतिनाथ र विश्वव्यवस्था’ तथा ‘प्रकृति तथा ईश्वरीय विश्वव्यवस्था : अबको मार्ग चित्र’ लेख मार्फत आएका विचारका आधार र औचित्य पुष्टि भइरहेका छन् । कोभिड-१९ महामारीले विश्वलाई नै प्रभावित पार्दै ढप्प पारेको अवस्थामा नयाँ विश्व व्यवस्था तर्फको सङ्केत देखिन्छ । सृष्टि, प्रकृति र जीवनका बिच रहेको तादात्म्यलाई सन्तुलित र सम्यम ढङ्गले सञ्चालन गर्नु पर्ने मान्यतामाथि मानवीय हस्तक्षेपका कारण कोभिड-१९ जस्ता महामारीको प्रकोप भोग्नु परको यथतितालाई हृदङ्गम गराउने क्रममा नयाँ विश्वव्यवस्थाको चर्चा प्रारम्भ गरिएको थियो । प्रकृति माथिको हस्तक्षेप जस्तै राजनीतिक हस्तक्षेपका कारण उत्पन्न रुस र युक्रेन बिचको युद्ध पनि मानवीय त्रासको विषय बनिरहको अवस्थामा राजनीतिक रूपले नयाँ विश्वव्यवस्थाको चर्चाले निरन्तरता पाइरहको छ ।
‘बिसौँ शताब्दीको द्विध्रुवीय विश्वका अवशेष हराउँदै गर्दा हाल बहुध्रुवीय विश्वको उदय हुदैछ । सैनिकी क्षमता, प्राविधिक र आर्थिक शक्तिका कारण अमेरिका—चीन आगामी दिनमा प्रभावशाली खेलाडी रहने नै छन् भने युरोप, जापान र भारतले पनि विश्वको ठुलो आफ्नो अर्थपूर्ण उपस्थितिको अभ्यास गर्ने देखिन्छ’ भन्ने जर्मनका पुर्वविदेशमन्त्री जास्का फिसरको भनाइले नयाँ विश्वव्यवस्थाको परिचय दिन खोजेको छ । शितयुद्धको समाप्तिपश्चात सभ्यताको लागि लडाइँ हुने कुरा विश्लेषण गर्दा जर्नलहरूमा लेख प्रकाशनसँगै ‘द क्लासेस अफ सिभिलाइजेसन एण्ड द रिमेकिङ अफ वल्र्ड अर्डर’ लेख्ने सभामुल पी हन्टीङटनका विचारहरू अरु पनि चर्चाकै विषय बनेका छन् । सन् २०१९ मा ‘एसियन सिभिलाइजेसन डायलग’ चीनका राष्ट्रपति सि जिङ पिङले युनेस्को सँगको सहकार्यमा आयोजना गर्दै चीनलाई अग्रणी र जिम्मेवार रहेको देखाउन सके । आर्थिक, सामाजिक र राजनीतिक होडबाजीका बिचमा सभ्यताको परिचय र नेतृत्वले नयाँ विश्वव्यवस्थाको नयाँ आधार बनाउन थालेको अनुभव भएको थियो । चीनमा ‘एसियाली सभ्यता सम्वाद’ विषयक लेखका साथै ‘संस्कृति, स्वराज्य र समाजवाद” लेख मार्फत नेपाली समाज पनि मौलिक ज्ञान र परम्पराको आधारमा समृद्धिमा पुग्ने प्रयास गरिरहेको थियो । दश वर्षे माओवादी द्वन्द्वले बिथोलिएको समाजलाई सामान्य बनाउन ‘स्वराज्य र मेलमिलाप’ प्रकाशन सहित अगाडि बढेको थियो । माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण समाधान गर्न गरिएको अनुसन्धान ‘द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमीका’ पनि हाम्रै संस्कृति र अभ्यासबाट द्वन्द्व रूपान्तरण गर्ने प्रयास थियो । २०६२–६३ को जनआन्दोलनपश्चात सम्पन्न ‘विस्तृत शान्ति सम्झौता’ पश्चात् सङ्क्रमणकाललाई टुङ्ग्याउँदै संविधान सभाबाट संविधान निर्माण गरी दिगो शान्तितर्फ उन्मूख हुन धार्मिक क्षेत्रबाट मौलिक प्रयास भएका थिए । नयाँ विश्वव्यवस्थालाई दिगो शान्तिको मार्गचित्रबाट अगाडि बढाउन हाम्रो अनुसन्धान सदैव उपयोगी रहने छ । जातीय राज्यको कुराले जातीय हिंसा तर्फ उन्मुख भएको नेपाली समाजलाई शान्त पार्न ‘शान्ति, न्याय र मेलमिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता’  कार्यक्रम र अवधारणालाई गोष्ठीको आयोजना गरी सम्झाउन सफल भइएको थियो । नेपाली सभ्यतालाई वैदेशिक दृष्टिकोणबाट विश्लेषण गर्ने अभ्यासबारे सचेत पार्न हाम्रा ज्ञान र अभ्यासले सम्भव भएको थियो । जाति र संस्कृतिको नाममा हुन सक्ने द्वन्द्वलाई पुनः दोहरिन नदिन ‘सम्पदा र शान्ति’ विषयक लेख र अभियान पनि सहयोगी बनेको थियो । नयाँ विषम परिस्थिति र नयाँ विश्वव्यवस्थाको चर्चा भइरहँदा नेपाल चाहिँ आन्तरिक द्वन्द्वमै रुमलिइरहनु उचित नहुने ठानी गरिएका बौद्धिक तथा धार्मिक प्रयासहरू अन्तर्राष्ट्रिय स्तरकै रहेको कुरा भविष्यमा गरिइने खोज अनुसन्धानबाट पनि प्रमाणित हुनेछन् । फिलोसफी अफ जोजन, जापान सोसाइटी अफ ह्यूमनिस्टिक एन्थ्रोपोलोजी एसोसियसन, टोकियोले तयार गर्ने क्रममा दर्शन र सभ्यताको बहसमा हाम्रो समेत  सङ्लग्नताले सफलता पाउन सहज बनेको थियो । धर्म, दर्शन र विज्ञानको समन्वय तथा संयोजनद्वारा नयाँ शान्ति दर्शन तयार गर्ने प्रयास सभ्यताको महत्वलाई स्थापित गर्नु थियो । सभ्यताको आधारमा नयाँ विश्वव्यवस्था निर्माण गर्ने प्रयास थियो । 
शितयुद्धको समयमा सोभियत रुसलाई एक्ल्याउन चीनसँग सम्बन्ध बढाएका अमेरिकी कुटनीतिज्ञ हेनरी किसिन्जरले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वव्यवस्थाको अवधारणा अगाडि बढाउँदछन् । एक चीन नीति तथा संयुक्त राष्ट्रसङ्घमा ताइवानको सट्टा चीनको प्रतिनिधित्व गराउने प्रयास अनुरूप अमेरिकी नीतिलाई परिवर्तन गराउने प्रयास नयाँ विश्वव्यवस्थाको एक चरण थियो । बेल्ट एण्ड रोड इनिसियटिभको थालनीसँगै चिनियाँ बुद्धिजीवीहरू वर्तमान विश्व बहुधु्रवीय नभएर चीन तथा अमेरिका बिचको दुई धुव्रीय भएको मान्दछन् । यस्तो अवस्थामा रुस–युक्रेन युद्धले रुसको सामरिक क्षमता तथा त्यसको प्रभावलाई पनि चीनकै शक्ति समुहका रूपमा स्वीकारेको पाइन्छ । विश्वका सभ्यताको आधारमा नयाँ विश्वव्यवस्थाको अवधारणालाई अगाडि बढाउँदा समन्वय गर्ने संस्था र नेतृत्वको खाँचो महसुस हुने देखिन्छ । इतिहास, धर्म, भूगोल, संस्कृति र भाषाका आधारमा निर्माण भएका सभ्यताहरूलाई समन्वय गर्न नसक्दा झन भयावह स्थिति उत्पन्न हुने देखिन्छ । सुमेरिया सभ्यता (ईसापूर्व २३००–२१५०) बेबिलोनी सभ्यता (ईसापूर्व २०००–४००) इरानी सभ्यता (ईसापूर्व २०००–२५०) मिश्रको सभ्यता (ईसापूर्व २०००–१५०) आसिरियायी सभ्यता (ईसापूर्व १४५०–५००) युनानी सभ्यता (ईसापूर्व १४५०–१५०) र रोमको सभ्यता (ईसापूर्व ८००–५००) अस्तित्वमा रहेको पाइन्छ । सिन्धुघाटीको सभ्यता (ईसापूर्व ५०००–३५००) तथा हिमालय सभ्यताको नेपाल प्राचीनतम सभ्यताको केन्द्रका रूपमा रहेको पाइन्छ । हिमालय निवासीको अर्थमा ‘हिमधु’बाट हिन्दु भएको मान्यता राख्नुहुने योगी नरहरिनाथका दृष्टिकोण सभ्यता निर्माण र पहिचानका सन्दर्भमा महत्वपूर्ण रहेका छन् । ‘कसैले पनि आफ्नो जाति र संस्कृतिलाई अरुको भन्दा श्रेष्ठ ठान्दछन् भने यो मूर्खतापूर्ण कुरा हो ।’ भनाई राख्ने चिनियाँ राष्ट्रपति सी जिङपिङको भनाइले साझा गौरवको अनुभूति गराउन खोजेको देखिन्छ । साथै, आफ्नो महान र ठूलो ठान्ने प्रवृत्तिले नयाँ द्वन्द्व सिर्जना गराउन सक्ने छ । नेपाली परिवेशमा कुरा गर्दा गण्डकी, कोशी, कर्णाली नदी सभ्यतादेखि पशुपतिनाथ सहित नेपाल मण्डलको सभ्यता, मिथिला सभ्यता लुम्बिनी, दामोदरकुण्ड, मुक्तिनाथ क्षेत्र सभ्यताका जीवित मुहान हुन् । खस सभ्यता भाषा र धर्मको अन्वेषणका क्षेत्र बनेका छन् । स्पर्शनीय र अस्पर्शनीय सम्पदाहरूको क्रमबद्ध सङ्ग्रह र सङ्कलन प्राचीन सभ्यता र जीवन्त संस्कृतिको साक्षी बनिरहेका छन् । सम्प्रदायहरूको प्रभुत्वसँगै विश्वमा प्रचलनमा आएका हिन्दु, क्रिश्चियन, इस्लाम, अर्थाेडक्स, कन्फुसियस, ताओ, बौद्ध आदि धर्मका आधारमा सभ्यताको परिचय गराउने परिपाटी अनुरूप त्यसका केन्द्रहरू तोक्ने गरिन्छ । हिन्दु धर्मको केन्द्र नेपाल–भारत, व्रिmश्चियन धर्मको अमेरिका तथा युरोप, इस्लामको मध्यपूर्ण तथा अरब, अर्थाेडक्सको रुस, कन्फुसियसको चीन, ताओको जापान, बौद्ध धर्मको नेपाल, श्रीलंका आदि हुन् । आज पनि आफ्नो धर्म, सभ्यता र संस्कृति प्रतिको आकर्षण र प्रभाव रहेकोले यस विषयलाई गम्भीरतापूर्वक लिने गरिन्छ । यही गम्भीरतालाई हृदयङ्गम गर्दै ‘हाम्रो सम्पदा’ पुस्तक मार्फत ललितपूरका महत्वपूर्ण सम्पदाहरूको जानकारी गराउँदै सम्पदा संरक्षण र गौरव बढाउने प्रयास भएको छ । लुभूमहालक्ष्मीः इतिहास र साधना, हिरण्यवर्ण महाविहार र सम्पदा, पशुपतिनाथ दर्शन तथा पुजन, श्री विन्ध्यवासिनी : शास्त्र र साधना, मत्स्यनारायण, सृष्टि र विन्ध्यवासीनी, धुलिखेल भगवती : शास्त्र र साधना, ललितपूर, अष्टमातृका र राष्ट्रिय सुरक्षा विषयमा लेख अनुसन्धान तयार भएका छन् । रुस–युक्रेन युद्धको स्मरण गर्दा भूराजनीतिक महत्वको नेपालका लागि पनि मौलिक रणनीतिक अवधारणा आवश्यक देखिन्छ । अमेरिकी इण्डोपेसिफिक रणनीति र चिनियाँ बेल्ट एण्ड रोड इनिसियटिभ रणनीतिको प्रतिस्पर्धाका बिचमा चेपिने अवस्थामा ‘आर्यावर्त’लाई नेपाली रणनीतिक अवधारणाको रूपमा अभ्यासमा ल्याउन आवश्यक छ । ‘आर्यावर्त : पूण्यभूमिर्मध्यं विन्ध्यहिमालयो’ सांस्कृतिक अवधारणाले विशाल दुई छिमेकी चीन र भारतका साथै अमेरिकी रणनीतिलाई समेत सन्तुलन गर्दै आर्थिक समृद्धि हासिल गर्न सक्षम हुनेछ । सबै सभ्यताहरूलाई समन्वय र सञ्चालन गर्न स्वराज्य र मेलमिलापको सिद्धान्तले सहयोग गर्ने हुँदा स्वराज्य र मेलमिलाप भावी विश्वकोे आधार बन्ने छ,  नयाँ विश्वव्यवस्थाको केन्द्र नेपाल बन्ने छ । 
(लेखक अन्तरधार्मिक समन्वयका प्रमुख अभियन्ता तथा सञ्चारकर्मी हुनुहुन्छ ।)