काठमाडौँ ।
सिन्धुपाल्चोकको इन्द्रावतीमा ‘समृद्धि र नागरिक अपेक्षा’ विषयमा एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले, इन्द्रावती गाउँपालिका कमिटीले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदान—प्रदानसहित कार्यक्रम सम्पन्न गरिएको हो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्नुहुने व्यक्तित्वहरू प्राध्यापक कपिल श्रेष्ठ, साहित्यकार जगन्नाथ आचार्य, वास्तुशास्त्री डा.उत्तम उपाध्याय न्यौपाने, पाँचपोखरी क्याम्पसका क्याम्पस प्रमुख डा.नवराज न्यौपाने, बुद्ध धर्मका गुरु कर्मा छिरिङ तथा सामाजिक व्यक्तित्वहरू गोविन्द मिश्र, रामबहादुर सुनार, सुब्बा माझी, सञ्चमाया तामाङ, नमुना तामाङ, सन्तबहादुर दनुवार लगायतलाई सम्मानित गरिएको थियो ।
नेकपा एमालेद्वारा देशैभरि सञ्चालनमा रहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरुट) अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको एमाले इन्द्रावतीका अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभएको छ । उहाँले गाउँपालिकाको समृद्धिको अभियानमा समझदारी र सहकार्य बढाउने उद्देश्यकासाथ यो कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले विकास निर्माणमा सबै दलहरू मिल्नुपर्ने बताउनुभयो । आफू इन्द्रावतीका विषयमा जानकार भएको भन्दै इन्द्रावतीको समृद्धिका लागि स्थानीय स्रोत साधनको उपयोग गरी स्वरोजगारी बढाउनुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले इन्द्रावती गाउँपालिकाको समृद्धिका लागि आफूले कुनै कसर नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समृद्ध इन्द्रवतीका लागि सबै दलबिच सहकार्य र समझदारी आवश्यक रहेको उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै गाउँपालिका निवर्तमान अध्यक्ष वंशलाल तामाङले आफ्नो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । आफू नेतृत्वमा हुँदा प्रत्येक वडामा स्वास्थ्य चौकी विद्यालय सडक निर्माणका काम भएको उहाँले बताउनुभयो । गाउँपालिका कमिटीका अध्यक्ष शशिनाथ आचार्यले जनतालाई विकासमुखी बनाउन स्थानीय तहको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै त्यसअनुरूप काम भइरहेको पनि बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको समृद्ध यात्रामा शिक्षा,स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए । अन्तक्र्रिया, शुभकामना तथा सम्मान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, विभिन्न सामाजिक सङ्घ—संस्थाका प्रतिनिधिहरू र सर्वसाधारण नागरिकको समेत उपस्थिति रहेको थियो ।