अनलाइन बहस
चैत २९ , पाल्पा ।
पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरुट)ले स्थानीय तहका पार्टी नेता, कार्यकर्ता एवम् समर्थकहरुका बिचमा पार्टीका नीति, विचार, सिद्धान्त एवम् कार्यक्रम पुऱ्याउन सकिएको, विकास निर्माणसँग पार्टीलाई जोड्न सम्भव भएको बताइएको छ । नेकपा एमाले तिनाउ गाउँ कमिटी, पाल्पाले मिसन ग्रारुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, अभियानका केन्द्रीय प्रतिनिधि एवम् पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्यालले यो कुरा बताउनुभएको हो । समीक्षा कार्यक्रम मंगलवार दोभानमा सम्पन्न गरेको छ ।
कार्यक्रमका विशिष्ट अतिथि पार्टीको पाल्पा जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरेले यो अभियानलाई परिणामुखी बनाउनु पर्नेमा जोड दिँदै पार्टीका सदस्यहरुको सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र टोल कमिटी गठनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । सोही अवसरमा पार्टीका प्रदेश कमिटी सदस्यद्वय टंकनाथ खनाल र काशिका गैरेले मिसन ग्रासरुटलाई समग्र विकास निर्माणमा जोड्नुपर्नेमा ध्यान आकृष्ट गराउनुभएको थियो । सोही कार्यक्रममा पार्टी स्कुल विभाग पाल्पाका प्रमुख दलबहादुर गुरुङले एमालेका नेता, कार्यकर्ताहरु विचारमा स्पष्ट, व्यवहारमा जनमुखी र कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिनु भयो ।
समीक्षा कार्यक्रममा अर्जुन रेग्मी, सन्तोष भट्टराई, झबिन्द्र रायमाझी, रोमबहादुर लम्तरी, तोया लम्साल, रामबहादुर थापा, यादव अर्याल, भुवानसिंह चिदी, तुलबहादुर आले, ऐमानसिंह चिदी, यमबहादुर चिदी लगायतले तिनाउमा मिसन ग्रासरुट अभियानले पार्टी सुदृढीकरण एवम् सदस्यता अभिवृद्धिमा विशेष महत्व राखेको बताउनु भयो ।