राजनीतिलाई विदेशी स्वार्थले गिजोलेर अस्थिर बनाउँदै आएको अहिलेको नेपालको अवस्था पछिल्ला वर्षहरूमा झन् सकसपूर्ण बन्दै गएको छ । यसमा स्वदेशी राजनीतिको पनि कम दोष छैन । यस्तै अवस्थाले पछिल्ला दिनहरूमा युक्रेनको राजनीतिले भूराजनीतिक प्रभावलाई सन्तुलनमा राख्न नसक्दाको दुष्परिणाम भोगिरहेको छ । यो भूराजनीतिको दबावमा परेका विश्वका साना र कमजोर देशहरू लगायत नेपाली राजनीतिका लागि अनिवार्य रूपले शिक्षा लिनुपर्ने विषय भएको छ ।
हाम्रै छरछिमेकमा यस अगावै स्वतन्त्र रहेको तिब्बत र सिक्किमले आफ्नो अस्तित्व गुमाए भने पाकिस्तान टुक्रिएर बङ्गलादेश अस्तित्वमा आयो । कतै विगतमा सिक्किम र तिब्बतले भोगेको व्यथाको पुनरावृत्ति नेपालले भोगिरहेको त छैन ? भन्ने प्रश्नले नेपालीे मनहरूलाई घोच्न थालेको छ । हिमालय वारिको मात्र कुरा गर्दा पनि नेपाली अनुहारहरूभित्रै सिक्किममा झैं केही नकाबधारीहरूको चलखेल तीव्र हुँदै गएको आभास विगत केही समयदेखि हुन थालेको छ । के नेपाल पनि षड्यन्त्रको जालोमा फँस्दै गएको हो ? गम्भीरतापूर्वक सोच्नपर्ने बेला आएको छ ।
सन् १९५९मा उत्तरतिरको तिब्बत सैन्य अभियानबाट चीनमा गाभियो र अहिले तिब्बतको अभिन्न स्वशासित अङ्गका रूपमा स्थापित भएको छ । लगभग ७०९६ वर्ग किमी क्षेत्रफल भएको सिक्किम सन् १९७५मा भारतमा विलय भयोे । नेपालका यी दुई ठुला छिमेकी देश साना छिमेकी देशमाथि आधिपत्य जमाएर तंै चुप मैं चुप भए । भारतले तिब्बतको प्रसँग नउठाउने र चीनले सिक्किमबारे नबोल्ने भद्र सहमति नै बन्यो । तर, यी दुवै बलशाली छिमेकीबिच अन्यत्रको आपसी सिमा विवादले गर्दा कहिल्यै सम्बन्ध सुमधुर बन्न सकेन । त्यस बेलाको पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) र स्वतन्त्र सिक्किम देश बिचको सानो भूभागले भारतको उत्तरपूर्वी भागलाई जोडेको हुनाले पनि भारतका लागि तत्कालीन पूर्वी पाकिस्तान र सिक्किम रणनीतिक रूपले संवेदनशील बने । त्यसमाथि सिक्किमको उत्तरतिरको चीन, जससँग सन् १९६२को युद्धमा भारतले परास्त हुनुपरेको थियो, त्यसका कारण पनि यो संवेदनशीलता झन् बढी थियो । यो प्रसङ्ग यतिबेला तिब्बत र सिक्किम फेरि स्वतन्त्र राष्ट्र बनुन् वा नबनुन् भन्ने उद्देश्यले उल्लेख गरिएको होइन । यसको निर्णय गर्ने त्यहीँका जनता र तिनका शासकहरूको अन्तरसम्बन्धले निक्र्यौल गर्ने कुरा हो । नेपालमा अहिले कुनै न कुनै रूपमा चलिरहेको विदेशी स्वार्थको चलखेलले कतै सिक्किम र तिब्बतको नियति दोहो¥याउला कि भन्ने आसयले मात्र उल्लेख गरिएको हो ।
सन् १९४७मा भारत अंग्रेजहरूबाट स्वतन्त्र भएपछि उत्तरतिरका यी साना छिमेकी देशहरूसँग सन् १९५० मा उसले सिक्किम, नेपाल र सन् १९४९मा भूटानसँग सन्धि गरेर सम्बन्धलाई आफु अनुकूल बनाएको थियो । यी सन्धिहरूमा अंग्रेजहरूले यस अगावै गरेका सन्धिहरू भन्दा खासै फरक थिएनन् । नयाँ गरिएको सन्धि अनुसार अंग्रेजहरूले जस्तै भारत भूटान र सिक्किमको वैदेशिक मामिला भारतले अधीनमा लिएर दुवै देशहरूलाई अंग्रेजहरूले जस्तै आफ्नो प्रत्यक्ष संरक्षकत्वभित्र राख्न सफल भयो । सिक्किममा यसलाई लिएर त्यतिबेला असन्तोष पनि देखिएको थियो । अंग्रेजहरूको दासत्वबाट मुक्त भएको भारतले आफ्ना सार्वभौमतालाई सम्मान गर्ला भन्ने आशा लिएका यी साना देशहरूको हातमा निराशा मात्र हात लाग्यो । दुवै देशहरूमा भारतीय सेना सुरक्षाको नाममा स्थाई रूपले बस्यो ।
समयको प्रवाहसँगै अहिलेसम्म ह्वाङहो र गंगा नदीमा धेरै पानी प्रवाहित भइसकेको छ । यी विलयहरूबाट सन्त्रस्त नेपालले दुई छिमेकीहरू विरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता हरेक मंच र अवसरमा जाहेर गर्दै आएको छ । एक चीन नीति नेपाल चीन सम्बन्धको आधार नै मानिएको छ । यो सबै नेपालले आफुलाई सुरक्षित राख्ने उद्देश्यले मात्रै गरिरहेको छ । नेपालकालागि यो बाहेक अर्को विकल्प पनि थिएन र छैन । तर, पनि नेपालको यो अडानको मानमर्दन विभिन्न ढंगले हुँदै आएको छ । यसमा कसले के गरे भन्ने कुरामा मात्रात्मक वा संख्यात्मक भिन्नता मात्र होला गुणात्मक रूपले छैन । अहिले त झन् परतिरका तगतहरू समेत नेपालमा आफ्ना घोडाहरू दौडाउन तल्लिन देखिंदै छन् ।
आफु वरपरका साना राष्ट्रहरूको अवसानले त्यो कालखण्डमा नेपालको मानसिकता कति सन्त्रासपूर्ण थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । नेपालसँग न सामरिक क्षमता छ न आफ्नो कुटनीतिक प्रभाव बलियो बनाउने आर्थिक सबलता र चातुर्य छ । नेपाललाई हरेक दृष्टिले परनिर्भर कमजोर बनाउन बहिरकाहरू लागिरहेका छन् । यसैमा उनीहरूलाई रणनीतिक फाइदा छ । यो कुरा सच्चा राष्ट्रवादी नेपालीहरूले अहिले पनि छर्लङ्ग बुझ्न सक्छन् । इतिहास भइसकेका नेपालका छिमेकी देशहरू तिब्बत र सिक्किमको अवसानका पछाडि, तरिका र तथ्यहरूमा केही भिन्नता छ । तिब्बतमा सैन्य अभियान चलाइएको थियो भने सिक्किममा त्यहाँको आन्तरिक अन्तरविरोधलाई प्रयोग गरेर योजनालाई परिणतिमा पुऱ्याइएको थियो । नेपालमा पनि सानातिना आन्तरिक अन्तरविरोधहरूलाई विदेशीहरूले प्रयोग गर्दै आएका छन् । पछिल्ला दशकहरूमा यो झन् डरलाग्दो ढङ्गले भइरहेको छ । यस्ता चलखेलले गर्दा राजनीतिक परिवर्तनहरूका बावजूद पनि नेपाल र नेपाली जनचाहना पूरा हुनै पाएको देखिंदैन । बरु अस्थिरता र अराजकता मात्रै मौलाएको देखिन्छ ।
सिक्किममा राजतन्त्रीय सामन्तवाद र जनताबिच रहेको अन्तरविरोधलाई भारतले आफ्नो पक्षमा प्रयोग गर्न सफल भएको थियो । भारतले नेपालमा झैं लोकतन्त्र र गणतन्त्रका नाममा यो अन्तरविरोध झन् तीव्र बनाउन मद्दत गरेको थियो । छोग्याल भनिने सिक्किमका बाह्रौं राजा पाल्देन थोन्दुप नामग्यालले आफ्नो वर्ग र संस्कृति बाहेकका बहुसङख्यक जनतालाई वेवास्ता गरेको हुनाले असन्तोष चुलिएको थियो । त्यसबेला सिक्किमको जनसङ्ख्या लगभग २ लाख मात्रै थियो । सिक्किमका आदिवासी मानिएका लेप्चाहरूको सङ्ख्या १७ हजार थियो भने तिब्बतबाट आएको भनिने भुटिया समुदायको सङ्ख्या १६ हजार थियो । समयकालमा नेपालबाट गएको मानिने नेपाली भाषीहरूको सङ्ख्या १ लाख ५० हजार थियो । जनसङ्ख्याको संरचना तथा राजा र जनताबीचको अन्तरसङ्घर्षले नेपालमा जस्तै डरलाग्दो अराजकताको स्थिति उत्पन्न गरेको थियो । सिक्किममा यो अस्थिरताले नै विदेशी तागतलाई खेल्न फराकिलो मैदान प्रदान गरेको थियो । राजामाथि आफ्नो समुदाय र अरुबिच काखा र पाखा गरेको आरोप थियो । राजाले समयमा नै अवस्थाको सही मूल्याङ्कन गर्न सकेको भए स्थिति परक हुने संभावना थियो । तर, त्यसो भएन । सिक्किमको आन्तरिक सङ्घर्षका पक्षविपक्ष दुवै एकअर्काका कुरालगाएर दिल्लीलाई आफ्ना पक्षमा पार्न बारम्बार दिल्ली धाउने गर्दथे । दिल्लीको मनसाय उनीहरूले समय रहँदासम्म बुझ्ने प्रयास नै गरेनन् बरु दिल्लीलाई न्यायदाताका रूपमा मानी रहे । नेपालमा पनि नेपाली नेताहरूको यस्तो दिल्ली दौड शंकास्पद ढङ्गले चल्दै आएको छ ।
सन् १९७३ अप्रैलमा राजाको पचासौं जन्मदिवसको अवसर पारेर सिक्किममा राजाको कार्यशैलीको विरोधमा ठुलो जनविद्रोह भएको थियो । राजा विरुद्ध भएको विद्रोहले राजतन्त्रको जग हल्लिएको थियो । मानिसहरूको ठुलो समुहले ‘गांटोक जाऔँ’ भन्ने अभियान अन्तरगत राजदरबार घेराउ गर्न पुग्यो । यो आन्दोलनको नेतृत्व काजी लेण्डोप दोर्जेले गरेका थिए । यसअघि सन् १९४९मा पनि यस्तै घटना घटेको थियो । राजाको वेवास्ताका कारण यो फेरि १९७३मा पनि दोहोरियो । जनसमुहमाथि सिक्किम गार्डले अश्रुग्यास र गोली चलायो । कैयौंको ज्यान गयो तर पनि भीड साम्य नभएपछि सानो सङ्ख्यामा रहेको सिक्किमको सुरक्षा बलले आत्मसमर्पण ग¥यो । यस्तो अवस्था उत्पन्न भएपछि राजाले भारतसँग सहयोग मागे । भारतीय सुरक्षाबल सक्रिय भयो । सिक्किमको अवस्थाबारे भारतको लोकसभामा सरकारको आलोचना पनि भयो । वामपन्थी सांसद ज्योति बसुले भारतले सिक्किमको आन्तरिक कलहमा हस्तक्षेप गरेको भन्दै विरोध गरे । भारतीय कम्युनिष्ट पार्टीले भारतीय फौजले सिक्किमे जनताको विरोध नगरोस् भनेर प्रतिक्रिया जनायो ।
घटनाहरू तीव्र रूपमा घट्दै गए । अप्रैल ४, १९७३ मा आन्दोलनकारीका तर्फबाट काजी लेण्डोप र केहरसिंह कार्की, नरबहादुर खतिवडा, नकुल प्रधान, केएल राई, एमबी छेत्री, बीबी गुरुङ, एलके राई, वीपी दाहाल, बीपी खरेल, सीबी राई, केबी लिम्बूले भारतलाई सिक्किममा हस्तक्षेप गर्न पत्र नै लेखे । अप्रैल ९ मा सिक्किको प्रशासन भारतले आफ्नो हातमा लियो बी एस दासलाई त्यहाँको प्रशासक नियुक्त ग¥यो । मई ८ मा भारतका विदेश सचिव केवल सिंह, आन्दोलनकारीका नेताहरू र राजाका प्रतिनिधिहरूबिच वार्ता भयो । राजालाई नहटाउने सहमति बन्यो र अरु आन्दोलनका धेरै मागहरूमा सहमति भयो । सहमति पत्रमा भारतका विदेश सचिव र राजा लगायत आन्दोलनकारीहरूले हस्ताक्षर गरे । अप्रेल १९७४मा चुनाव भयो । चुनावमा ३२ मध्ये ३१ स्थानमा सिक्किम काँग्रेसले विजयी भयो । राजावादीले १ स्थान मात्र हात पारे । यसरी सिक्किमको राजतन्त्र कमजोर देखियो । लेण्डोप दोर्जी खाङसार्पा मुख्यमन्त्री बने । केसी प्रधान, वीपी दाहाल, रेन्जिङ लेप्चा र काजी दोर्जी मन्त्री बने । जुलाई ६मा सिक्किम सरकार एक्ट निर्वाचित सदनबाट पारित भयो । तर, सिक्किममा अन्तिम पटाक्षेप हुन अझै बाँकी थियो । लेण्डुप शपथ लिएर परामर्श गर्ने भन्दै दिल्ली गए । राजाले अन्य सबै बाटाहरू बन्द देखेर जनमतसँग्रहको माग गरेका थिए । अप्रैल १४, १९७५मा जनमतसँग्रह भयो । ६१ हजार मानिसहरूले मतदान गरेको जनमतसँग्रहमा २.४५% मत मात्र राजतन्त्र र स्वतन्त्र देशको पक्षमा पर्यो । यसरी सिक्किम विलयलाई न्यायोचित देखाउने काम भयो ।
यस परिघटना नेपालमा माओवादी आन्दोलनलाई मुल राजनीतिक धारमा अवतरण गराउँदादेखि अहिलेको गठबन्धनको उत्पत्ति र विकास सम्मको अवस्था जस्तै देखिन्छ । फरक यस अर्थमा देखिन्छ कि सिक्किममा सबै गतिविधिहरूको केन्द्र भारत रहेको थियो भने नेपालमा भारत र पश्चिमा शक्तिहरू पनि संलग्न देखिन्छन् । भारतीय खुफिया एजेन्सी “र”को इतिहासमा सबैभन्दा सफल अभियान बङ्गलादेशलाई पाकिस्तानबाट अलग गर्नु मानिन्छ भने दोस्रोमा सिक्किमलाई भारतमा विलय गराउनुलाई मानिन्छ । सिक्किम भारतमा विलय हुदैँछ भन्ने कुरा त्यसबेलाका भारतका गृहमन्त्रीलाई समेत अन्तिम समयसम्म थाहा थिएन । आफ्नो भूराजनीतिक रणनीतिका प्रभावभित्रका कमजोर देशहरूमा विदेशी स्वार्थहरू कसरी काम गर्दारहेछन् भन्ने कुरा हाम्रै वरपरका घटनाले देखाउँछ । राजाले भित्रभित्रै भारत विरोधी गतिविधि गर्न थालेको दिल्लीको बुझाइ थियो । राजनीतिक र कुटनीतिक पहलबाट सिक्किमलाई आफ्नो पकडमा राखिरहन खतरा हुने निष्कर्षमा पुगेको दिल्लीको मुख्य नेतृत्वले वैकल्पिक बाटोबाट “र”लाई यो अभियानमा संलग्न गराएको थियो । सन् १९७२को सेप्टेम्बरमा प्रधानमन्त्री इन्दिरा गान्धीले मुख्यसचिव पी एन हस्कर “र”का रामनाथ काओलाई बोलाएर सरसल्लाह गरेपछि सिक्किमलाई भारतमा विलय गराउने योजना बनाइएको थियो । यसले सिक्किमलाई बङ्गलादेशको सफलतापछि तुरुन्तै भारतमा गाभ्ने योजना “र”ले सुरू गरिसकेको बुझिन्छ । नेपालमा पनि आन्दोलन, जनआन्दोलन र जनयुद्धका नाममा भारतीय स्वार्थले बल पुऱ्याएझैँ सिक्किममा पनि आन्दोलनका नाममा गरिएका सबै गतिविधिको ठुलो हिस्सामा भारतीय प्रायोजन थियो भन्ने प्रमाणित भइसकेको छ ।
त्यसबेला “र”को पूर्वी कमाण्ड कलकत्तामा पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट विभाजन गरेर बङ्गलादेश बनाउन पूर्वी पाकिस्तानमा सङ्घर्ष गरिरहेको मुक्तिवाहिनीलाई हातहतियार र प्रशिक्षण दिने तथा विद्रोही नेता शेख मुजिबुर रहमानको सुरक्षाको जिम्मेदारी सफलतापूर्वक सम्पन्न गरेका पी एन बेनर्जी थिए । उता सिक्किमको प्रशासन विभागमा रहेका आईपीएस अधिकारी अजित सिह स्याली पनि “र”का व्यक्ति थिए । यस बाहेक सन् १९६८मा “र”को स्थापना भएदेखि नै सिक्किममा धेरै खुफिया पोष्टहरू सञ्चालनमा थिए । यसरी दिल्ली, कलकत्ता र सिक्किममा गरी तीन तहको भारतको खुफिया संरचनाले त्यसबेला काम गरिरहेको थियो । राजा छोग्याललाई भारतको रवैयामाथि शङ्का उत्पन्न हुनथालेको थियो । आन्दोलनकारी नेताको भारतसँग बढ्दो उठबस र भारतले सन् १९५०मा सिक्किमको स्वतन्त्रतामाथि कुनै आँच आउन नदिने प्रतिबद्धताका बावजूद पछिल्ला दिनहरूमा दिल्लीले उनिप्रति देखाउन थालेको उपेक्षा यसका कारण थिए । भुटान, नेपाल र सिक्किमबिच हिमाली देशहरूको गठबन्धन बनाउने भन्ने चर्चा पनि राजाप्रति भारतको थप उपेक्षाको कारण थियो पनि भनिन्छ । रानी होप कुक अमेरिकी थिइन् । दिल्लीमा उनलाई अमेरिकी गुप्तचर संस्था सीआईएको एजेण्टको रूपमा शङ्का गरिन्थ्यो । वि .सं. १२ फाल्गुण २०७१ ( ई २४ फब्रुअरी १९७५) का दिन नेपालका राजा वीरेन्द्रको शुभराज्यभिषेकमा सिक्किमका राजा छोग्याललाई पनि आमन्त्रण थियो । आन्तरिक प्रतिकूलताका बावजुद नेपालमा विभिन्न देशका नेताहरूलाई भेट्ने र सिक्किमको अवस्थाबारे अवगत गराउने उद्देश्यले उनी नेपाल आए । नेपाल आँउदा बाटोमा उनीमाथि बम प्रहार भयो तर उनी त्यस प्रहारबाट जोगिएका थिए । नेपालमा विदेशी सहभागीहरूले उनलाई सिक्किम नफर्कने सल्लाह पनि दिएका थिए । तर, उनी फर्के । फर्किंदा पनि उनले अवरोधको सामना गर्नुप¥यो । त्यसको तीन महिना पनि नबित्दै सन् १९७५ मे १७ मा उनको राजसत्ता र सिक्किमको स्वतन्त्रता खारेज भयो । त्यस दिन अचानक भारतीय सेनाले दरबारमा घेरा हाल्यो । केवल २४० को सङ्ख्यामा रहेको सिक्किम गार्डले उनिहरूलाई रोक्न खोज्यो । एक जना गार्डको भारतीय सेनाको गोली लागेर मृत्यु भयो । भारतीय सेनालाई सिक्किमको दरबार नियन्त्रणमा लिन २० मिनेट पनि लागेन । गार्डहरूलाई आत्मसमर्पण गराइयो र सेनाको ट्रकमा हालेर अन्यत्र लगियो । ट्रकमा उनीहरूले सिक्किमको राष्ट्रिय गान गाउँदै थिए ।
तीमध्ये केही ‘हामी फेरि आउने छौँ’ भन्दै कराइरहेका थिए । यस घटनाले ३ सय ३३ वर्षदेखि चलिआएको नामग्याल राजतन्त्रको अन्त मात्रै भएन, झण्डै पाँच शताब्दीदेखि चल्दै आएको सिक्किमको स्वतन्त्र पहिचान नै मानचित्रबाट मेटियो र त्यो सुन्दर हिमाली देश भारतको प्रान्त बन्यो । राजाले अन्य सबै बाटाहरू बन्द देखेर जनमतसङ्ग्रहको माग गरेका थिए । नेपाल र नेपालीहरूले यो घटनाबाट शिक्षा लिन आवश्यक छ ।
(लेखक इतिहास तथा राजनीतिका जानकार हुनुहुन्छ ।)