images
images

चैत मसान्तसम्म २३२ उद्योग दर्ता, २ खर्ब ६६ अर्बको लगानी प्रस्ताव

काठमाडौँ । चालु आवको चैत मसान्तसम्म २ सय ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १ सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८/०७९ को ९ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । 

गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागकामहानिर्देशक रामचन्द्र तिवारीका अनुसार हालसम्म एक हजार २ सय ८१ ठूला, एक हजार ९ सय ९१ मझौला ५ हजार ४ सय १५ साना उद्योग दर्ता भएका छन् ।

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना, १५ देखि ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई मझौला र ५० करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ । चालु आवको तेस्रो त्रैमाससम्म २ सय ३२ उद्योगमा दुई खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् ।

गत आवमा प्रस्तावित लगानी एक खर्ब ३९ अर्ब रुपैयाँ थियो । हालसम्म २५ खर्ब ५० अर्ब रुपैयाँको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३ सय ५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ ।

कम्पनी रजिस्टार कार्यालयमा अत्यावश्यक सेवा

कम्पनी रजिस्टारको कार्यालयले कर्मचारीको अभावमा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न थालेको छ । आसन्न स्थानीय तह निर्वाचनमा अधिकांश कर्मचारी खटिएकाले यही वैशाख २३ गतेदेखि अत्यावश्यक परेका कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी काम मात्र सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

अत्यावश्यकबाहेक अन्य कार्य स्थानीय तह निर्वाचनपश्चात् पूर्णरूपमा सञ्चालनमा आउने उपरजिस्टार अच्युत ढुंगानाले जानकारी दिए । रासस