काठमाडौँ l वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिब दुई लाख ६० हजार सुरक्षाकर्मी र तीन लाख कर्मचारी परिचालन गरिएको छ ।
गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन र निर्वाचन व्यवस्थापन गर्न ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको जनाएको हो ।
‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफुमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रुपले हुनु आवश्यक छ,’ गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता विथोल्ने तथा मतदातालाई स्वतन्त्र रुपले आफ्ना प्रतिनिधि छनौट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोहीलाई कारवाही हुने प्रष्ट पारेको छ ।