काठमाडौँ - पूर्व अर्थमन्त्री जनार्दन शर्माको छानबिन गर्न बनेको संसदको विशेष समितिको पहिलो बैठक आज मंगलबार बसेको छ । उक्त बैठक सिंहदरबारस्थित अर्थ समितिको हलमा आज बसेको हो ।
संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।
पहिलो बैठक बसेसँगै १० दिनको काउन्ट डाउन सुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिएका डेडलाइन अनुसार पहिलो बैठक बसेको १० दिनभित्र समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी रिपोर्ट तयार गर्नुपर्नेछ ।
विवादै विवादमा मुछिएका शर्माले गत बुधबार (असार २२ गते) राजिनामा दिएका थिए ।