काठमाडौँ । दैनिक ओहोर-दोहोर गर्ने फिरन्तेहरूका लागि गौशला चोक सामान्य हो । त्यहाँ आउ–जाउ गर्नेहरूका लागि त्यहाँका फुटपाथ व्यपारी पनि सामान्य नै हुन् । सरकार र राज्यका उच्च ओहदामा बस्ने व्यक्तिहरूका लागि अझ गौशलाका फुटपाथ व्यापारी मामुली हुन् । तर, जीजिविषाको आशाले त्यहाँ व्यापार गर्ने व्यापारीहरूका लागि भने जीवन गाँसिएको स्थल हो- गौशला वरपरका फुटपाथ !
कालो चस्मा, भादगाउँले कालो टोपी, सेतो दौरा-सुरुवालमाथि कालो कोट । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअघि काठमाडौँका चोक–चोक र गल्ली–गल्लीमा मेयर बालेन्द्र शाह उर्फ ‘बालेन’को एउटा गीत खुबै गुञ्जियो, ‘गाई त बाँध्यौ ढुङ्ग्रामा मोही छैन, मोही छैन । गरिबको चमेली बोल्दिने कोही छैन ।’ यही गीतले मेयर बालेनलाई चुनाव जित्न निकै सहज भयो । बल्लबल्ल गरिबको सरकार आयो भन्ने आभास ती मामुली फुटपाथ व्यापारीलाई पनि भयो । तर, अहिले मेयर बालेन र काठमाडौँ महानगरपालिकाको डरमा फुटपाथ व्यापारीहरू लुकीलुकी व्यापार व्यवसाय गर्न बाध्य छन् । ‘हाम्रा पनि बोलिदिने कोही भेटिए’ भनेर दङदास देखिएका गौशाला वरपरका फुटपाथ व्यापारी काठमाडौँ महानगरपालिकाको रङ्गढङ्ग देखेर अहिले पिरोलिन थालेका छन् ।
गौशाला चोकबाट ३ सय मिटर पूर्व लागेपछि पिङ्गलास्थान आउँछ । पिङ्गलास्थानबाट दायाँ लागेपछि बाटोमै रामकला चौधरीको ठेला देखिन्छ । पानी पुरी, चटपटे, चाउचाउ र चुरोटले भरिएको रामकलाको ठेलामा मानिसहरूको आउने जानेक्रम जारी रहन्छ ।
रामकला दिउँसोको ३ बजे ठेला लिएर फुटपाथमा निस्कन्छिन् । छोरीको स्कुल छुट्टी भएपछि छारीसँगै उनी ठेला लिएर फुटपाथमा निस्कने गर्छिन् । छोरीलाई महानगरको गोठालो राख्छिन् अनि आफू पानीपुरी व्यापार गर्न थाल्छिन् । ठेला निकाल्नुअघि उनी एउटा धुप सल्काएर पशुपतिनाथलाई पुकारा गर्छिन्, ‘आज महानगरले ठेला नलगिदियोस् !’ पशुपतिनाथसँग रामकलाले यो पुकारा गर्न थालेको निकै भयो । रामकला आफ्नो डरलाई हलुङ्गो बनाउन धुप सल्काउने गरेको बताउँछिन् । ‘मनमा सधैँ महानगरको डर हुन्छ, कुनबेला आउँछ र टिपेर लैजान्छ थाहै हुन्न’ उनी भन्छिन् ।
रामकला फुटपाथमा ३ बजेदेखि ७ बजेसम्म बस्छिन् । ३ बजेदेखि ६ बजेसम्म उनलाई महानगरकै डर हुन्छ । ‘महानगरले ठेला आजचैँ नलगिदियोस्’ उनको मनमा यही कामनाको खिचडी दिनहँु पाकिरहन्छ । छोराछोरीको अनुहार र गाउँबाट काठमाडौँ आउँदा घरपरिवारका सदस्यले भनेका तिखा वचन रामकलाको मनमा खिलझैँ गाडिरहेको छ । गाउँमा परिवार पाल्नै धौ–धौ भएपछि काठमाडौँ छिरेकी रामकलाले एउटै सपना सुनाउँछिन्, ‘छोराछोरीलाई राम्रोसँग पढउन सकूँ ।’
पानी पुरी खान आउने ग्राहकका लागि पानी पुरी हाल्दै गरेकी रामकला उदास मुद्रामा देखिन्थिन् । दुई वटा ठेला महानगरको कार्यलयमा पुगेपछि उनको अनुहारमा चमक आउन छोडेको हो । ठूलो जोहोले किनेको ठेला महानगरले लगेपछि उदासीन रामकला अब कसरी छोराछोरीलाई पढाउने भन्ने चिन्तामा छिन् । उनी भन्छिन्, ‘हामी त जसरी पनि पालिन्छौँ, तर यी नानी बाबुहरू कसरी पालिएलान् ?’ उनी अहिलेको महङ्गीले दिक्दार बनेको बताउँछिन् । उनी सरकार महङ्गी हटाउने भन्दा पनि गरिब हटाउने खेलोमा लागेको बताउँछिन् । ‘सरकारलाई कसरी हुन्छ गरिबलाई हटाउन पाए हुन्छ भन्ने ध्याउन्न छ । महङ्गी त परको कुरा’ उनको आक्रोस पोखिन्छ । बालेनलक्षित उनको आक्रोस सुनिनसक्नुको छ । नेता र सरोकारवालाहरूलाई गाली गर्दागर्दा थाकेका उनका ओँठ दिक्दार बनेका छन् ।
महानगरले ठेला उठाएपछिका दिन रामकला कल्पना पनि गर्न सक्दिनन् । दुईदुई वटा ठेला उठाउँदाको चोट उनको मनमा खिल गडेझैँ गडेको छ । रित्तो पेट, उजाड सपना, छोराछोरीको महिनावारी स्कुल ‘फि’ तिर्न नसक्दाको पीडा उनको मानसपटलमा तरोताजै छ ।
कहीँकतै बाहिरी कामले जाँदा महानगरका प्रहरी देख्दा रामकलाको मनमा चिसो पस्छ । उनी भन्छिन्, ‘कहिलेकाहीँ अन्य कामले बाहिर जाँदा महानगरका प्रहरी देखेँ भने पनि झस्किन्छु ।’ ‘गरेर खानेलाई गरिखान नदिने सरकारसँग धेरै अपेक्षा छैन
। मार्नचैँ नमारोस्’ उनले आक्रोस मिश्रित विनम्र स्वरमा भनिन् ।
सिरहामा जीविकोपार्जन नभएपछि काठमाडौँ भासिएको बताउने रामकला आफूले जीवनमा धेरै हन्डर खाएको बताउँछिन् । गाउँमा हुँदा इँटाभट्टामा काम गर्ने गरेको बताउने रामकला छोरी जन्मेपछि काम गर्नै नसक्ने अवस्थामा पुगेको सुनाउँछिन् । उनी भन्छिन्, ‘दुःख र हन्डर त जीवनमा धेरै गरेँ, पहिला इँटा भट्टामा काम गरेँ, पछि छोरी जन्मिएपछि कामै गर्न सकिन । परिवार पाल्नै धौ–धौ भएपछि काठमाडौँ छिरेकी हुँ ।’ उनी दिनदुःखीका लागि गरी खान दिए मात्र पनि सरकार र सरोकारवालाहरूको भलो हुने बताउँछिन् । उनको सरकारसँगै एउटै माग छ,‘गरिखान देऊ !’
दाउपेच र भयमा परित्यक्त जीवन बिताइरहेकी रामकला छोराछोरीको भविष्य हेरेर फुटपाथमा सङ्घर्ष गरेको बताउँछिन् । उनी छोराछोरीलाई सरकारले पढाइदिए आफू जसरी पनि पालिने बताउँछिन् । ‘सरकारले छोराछोरी पालिदिए भोलिीबाट यहाँ ठेला राख्न छोड्छु । विकल्प त दिनुपर्यो नि, कि कसो हो ?’ उनी यक्ष प्रश्न अघि सार्छिन् ।
रामकलाको भन्दा कत्ति फरक छैन, रामेछापकी शकुन्तला धामीको व्यथा पनि । गाउँमा उब्जनी नै नभएपछि काठमाडौँ छिरेकी धामी गौशालामा मकै व्यापार गर्छिन् । २ वर्षदेखि गौशलाको फुटपाथमा मकै बेच्दै आएको बताउने उनी सरकारले गर्नेलाई गरिखान नदिएको आरोप लगाउँछिन् । भएको ठेला महानगरले उठाएपछि र्याकमा मकै बेचिरहेकी उनी थप दिक्दार बनेकी छिन् । ‘भएको ठेला महानगरले लगिहाल्यो, पापी पेट पाल्नै पर्यो, बालबच्चा पाल्नै पर्यो, के गर्नु नबेचेर’ उनले सासै नफेरी सरासर जवाफ फर्काइन् । उनी काम गर्ने इच्छाशक्ति भएकाहरूलाई राज्यले बाटो देखाइदिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘म गर्छु भन्नेलाई सरकारले बाटो देखाइदिनपर्यो ।’ महानगरको रङ्गढङ्गबाट हैरान् भएकी धामी पनि रामकलाकै कुरामा सही थाप्छिन् । सरकारसँग उनको पनि रामकलाको जस्तै माग छ, ‘गरेर खान देऊ !’
महानगरले ठेला उठाएपछि सेक्युरिटी गार्डमा काम गर्न गएको बताउने उनी आफू सेक्युरिटी गार्डमा एक महिना पनि टिक्न नसकेको बताउँछिन् । पाँच जनाको परिवार रहेको बताउने धामी मकै बेचेको पैसाले छोराछोरीको स्कुल फिसमेत तिर्न नसकेको बताउँछिन् । उनी महानगरको डर र त्रासमा आफ्नो आधा ज्यान सुकेको गुनासो गर्छिन्, ‘महानगरको डरले आधा ज्यान सुकिसक्यो, कहिले कहाँ भाग्यो कहिले कहाँ’ उनले भनिन् ।
उनी पनि सरकारले आफूहरूलाई विकल्प दिनुपर्ने तर्क राख्छिन् । गरेर खानेहरूका लागि सरकारले उचित व्यवस्थापन गरेर मात्रै फुटपाथ हटाउनुपर्ने धामीको बुझाई छ । उनी भन्छिन्, ‘हामीलाई हटाउने नै हो, साँच्चै काठमाडौँ सुन्दर बनाउने हो भने हामीलाई उचित व्यवस्थापन गर्नुपर्यो नि, हामीचैँ कहाँ जाने त ?’
शकुन्तलाको श्रीमान् विदेशमा छन् । उनी शकुन्तलाकै आग्रहमा विदेश उडेका हुन् । ‘गाउँमा उब्जनी नभएपछि मेरै सल्लाहमा उहाँ विदेश जानुभएको हो । आजभन्दा भोलिभन्दा छोराछोरी ठूला हन्छन्, उनीहरूलाई पढाउनै पर्यो’ शकुन्तलाले भनिन् । उनी थप्छिन्, ‘नेपालमा पढाउनलाई राज्यले केही गर्दैन, विदेश पठायो कमाउँदै पढ्दै गर्छन् । त्यसका लागि पनि त अलिकति जोहो गर्नपर्यो नि !’
उनी सरकारले गाउँमै बसेर कृषिकर्म गर्ने वातावरण सिर्जना गरिदिए आफूहरू फुटपाथमा नबस्ने बताउँछिन् । उनी भन्छिन्, ‘बाटोमा बस्ने कसैको रहर हुँदैन, सरकारले कृषि गर्ने वातावरण सिर्जना गरिदिए हामी गाउँ नै जान्थ्यौँ । हामीलाई पनि रहर होइन’ उनले झोक्किदैँ भनिन् । उनी सरकारले नागरिकको रोजगारीको बेवास्ता गरेको बताउँछिन् । बेरोजगार नागरिकलाई रोजगारी दिनेतर्फ सरकारको ध्यान नगएको तर गरिखानेहरूलाई खेदो खनेको उनको बुझाई छ । ‘हामी गरिखानेको खेदो खन्छ सरकार, बेरोजगार युवालाई रोजगारी दिने कुराको कुनै सुरसारै छैन’ उनले भनिन् ।
उनी सरकारलाई महङ्गी कम गरिदिन आग्रह गर्छिन् । उनी भन्छिन्, ‘तपाईँहरूको मिडिया सरकारका मान्छेले पनि पढ्लान्, मेरो आग्रह छ महङ्गी कम होस्, गरिखान दिइयोस्’ उनले भनिन् ।