images
images

सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन : पौडेल

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको सरकारका लागि केपी ओली नेतृत्वको सरकारको शैली पछ्याउने छुट नरहेको बताएका छन् । उनले वर्तमान सरकारले मूल्यवृद्धि रोक्नु पर्ने भन्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

आज (मंगलबार) केन्द्रीय कार्यसमिति बैठकपछि नेता पौडेलले भ्रष्टाचार घटाउन अख्तियार दूरूपयोग अनुसन्धान आयोगलाई सक्रिय बनाउनु पर्ने उनको भनाइ थियो । यस क्रममा पौडेलले राष्ट्रिय समस्या समाधान गर्न सरकार सजग हुनुपर्ने पनि बताएका थिए ।

नेता पौडेलले भने, ‘केपी ओलीले संविधान भत्काएका थिए । त्यसलाई ट्रयाकमा ल्याउनु पर्छ । संवैधानिक परिषद् सम्बन्धी विधयेक फिर्ता हुनुपर्छ । यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन । त्यस्तो हामी हुन दिँदैनौं ।’

नेता पौडेलले अहिलेको सन्दर्भमा गठबन्धन आवश्यक रहेको पनि बताएका थिए । कांग्रेस बैठकमा कतिपय नेताहरूले गठबन्धन तोड्नुपर्ने माग गरिरहेका बेला पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अहिले सिद्धान्तको कुरा गर्ने बेला नभएर राष्ट्रिय आवश्यकतालाई ध्यान दिनुपर्ने जनाएका थिए । ‘स्थायित्व चाहने हो भने गठबन्धन आवश्यक छ । कांग्रेस र कम्युनिस्ट भन्ने बेला हैन यो । यो त स्थायित्व दिने कुरा हो । त्यसकारण गठबन्धन गरौं । मापदण्डका बारेमा छलफल गरौंला ।’