काठमाडौँ, चैत २५ ।
‘मानवजातिले विकास गरेका ज्ञान, सीप, प्रविधि मानवजातिको साझा सम्पत्ति हुन् । सबैले सबै ठाउँबाट सिक्न र ग्रहण गर्न हुन्छ । तर, आफ्नोलाई बिर्सेर तिनैको भरपर्नु हुँदैन । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि महत्वपूर्ण हुन्छ ।’ भाषा ठ्याक्कै यही भएन होला, शुक्रबार यस्तैयस्तै विषय रहेको ‘नेपालका लागि २१ औँ शताब्दीको परिकल्पना’ विषयमा सार्थक सम्वाद शृङ्खला सुरू भएको छ ।
आइसीए नेपाल(ICA Nepal) र परिकल्पना नेपाल(Imagine Nepal) को संयुक्त आयोजनामा शुक्रबार यो कार्यक्रम सम्पन्न भएको हो । आइसीए नेपालको कार्यालय, कोटेश्वरमा सम्पन्न भएको यस कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर प्रशंसनीय दृष्टिकोण सम्बन्धी अभ्यास गरिरहनुभएका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रमका विषय प्रस्तोता समुदायको विकासमा प्रशंसनीय खोज विधिको अध्ययन तथा प्रयोग गर्दैआउनुभएका मानवशास्त्री बुद्धि तामाङ रहनुभएको थियो । उहाँले वेद, उपनिषद् आदि पूर्वीय दर्शनसँगै जैन, बौद्ध दर्शनका विषयमा सारगर्भित प्रस्तुति गर्नुभएको थियो । प्रस्तुतिका क्रममा बुद्धि तामाङले ‘हाम्रो यो भूभागमा यति धेरै दर्शन, विचार र सिद्धान्तहरू जन्मेका छन्, हामीले तिनीहरूको अध्ययन र प्रयोग नगर्दा आज हाम्रा पूर्वजको नासो हराउँदै गइरहेको छ ।’ अहिले संसारमा एकातिर ठुल्ठूला आविष्कार र प्रविधिको विकास भएको छ भने अहङ्कार, विभेद, द्वेष, झगडा, सङ्घर्ष र युद्धहरू रोकिएका छैनन् । राजनीति, समाज, व्यवसाय आदि सबै क्षेत्रमा यस्ता समस्या बल्झिरहेका छन् ।’ पूर्वीय दर्शनमा आधारित दृष्टिकोणका प्रशंसनीय पक्षहरू केलाउँदै उहाँले थप्नुभयो, ‘वास्तविक सुख र शान्ति प्राप्तिका लागि हाम्रो पूर्वीय दर्शनका शिक्षा अवलम्बन आवश्यक छ ।’ यस क्रममा उहाँले भन्नुभयो, ‘पछिल्लो कुरा गर्ने भने नेपाली भूमिका जन्मेका सिद्धार्थ गौतम बुद्धका निष्कर्ष कान्छो हो र यो थप पद्धतिसङ्गत छ । यसमा रहेका सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् आजीविका हुँदै सम्यक् समाधि सम्मको आर्य अष्टाङ्ग मार्ग अवलम्बन गर्ने हो भने विश्वशान्ति, सद्भाव, समुन्नति खोज्न अन्त जानै पर्दैन ।’ प्रस्तुतिपश्चात् प्रस्तुत विषयमा सहभागीहरूबिच अन्तक्र्रिया समेत भएको थियो ।
आयोजक संस्था आइसीए नेपालका कार्यकारी अध्यक्ष ईशु शुब्बा, परिकल्पना नेपालका अध्यक्ष प्रा.डा. तत्व तिम्सिना, परिकल्पना नेपालका पूर्वमहासचिव ध्रुव आचार्यलगायतको सहभागिता रहेको यस कार्यक्रमको सञ्चालन पुर्णिमा शुब्बाूले गर्नुभएको थियो । आयोजकका तर्फबाट प्रस्तोता तथा सहभागीहरूलाई ध्रुव आचार्यले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम प्रत्येक अङ्ग्रेजी महिनाको पहिलो शुक्रबार सञ्चालन गरिने बताइएको छ ।