images
images

सामुदायिक विकासको अवधारणा र आइसिए नेपालका काम !

ग्रामीण बस्तीहरुमा आर्थिक,सामाजिक क्रान्तिको बिगुल फुक्ने, सामुदायिक विकासको अवधारणालाई अघि सार्ने, आर्थिक स्थिति कमजोर भएका दूर–दराजका नागरिकहरुलाई आत्मनिर्भर बनाउँदै सबलीकरण गर्ने, युवाहरुको नेतृत्व विकास गर्ने अभियानकासाथ सुरुभएको आइसिए नेपालले हाल आफ्नो २५ औं स्थापना दिवश मनायो । 

 

गरिबी बढेर गएको पृष्ठभूमिमा विकास प्रयासमा सामुदायिक जनसहभागिता बढाउने अभिप्रायले स्थापना भएको आइसिए नेपाल स्थानीय विकासमा  जनसहभागिता,योजना तर्जुमा,स्रोत व्यवस्थापन र पारदर्शिता,विपन्न वर्ग र लक्षित समुदायको निर्णय क्षमता जस्ता सामुदायिक विकासको अवधारणालाई अवलम्बन गरिरहेको छ । जनसहभागिता मूलक सामुदायिक विकासले मात्रै समाज समृद्ध बन्न सक्छ भन्ने हेतुले अघि बढिरेहको आइसिए नेपाल जातीय भेदभाव,छुवाछुत महिलामाथि हुने विभेदका विषयमा पनि काम गर्दै आइरहेको छ । 

 

आइसिए नेपालको स्थापना र काम 
सन् १९९८ (वि.सं २०५५) मा सहभागितामूलक विकासलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ स्थापना भएको यो संस्था तालिम, अनुसन्धान र सामुदायिक विकासका विषयमा कामहरू गर्दै आइरहेको छ । नेपालसँगै अन्य विभिन्न देशहरुमा पनि कार्यक्रम सञ्चालन गर्दै आइरहेको यस संस्थाले नेपालका ५० भन्दा बढी जिल्लाहरूमा विभिन्न कार्यक्रम सञ्चालन गरिसकेको छ । 

आइसिए नेपालका संस्थापक अध्यक्ष प्राध्यापक डा. तत्वप्रसाद तिम्सिनाका अनुसार संस्था छुवाछुत, जातीय भेदभाव, महिलामाथि हुने विभेदका विषयमा पनि काम गर्दै आइरहेको छ । संस्थापक अध्यक्ष तिम्सिना भन्नुहुन्छ, “जातीय भेदभाव तथा छुवाछुत, अशिक्षा, पछ्यौटेपनबाट पीडित महिला, बालबालिका र दलित समुदायका मानिसहरूमा जीवनोपयोगी व्यावसायिक सीप विकास गरी उनीहरूलाई आत्मनिर्भर बनाउने तर्फ आइसिए नेपाल अघि बढेको छ ।” उहाँ थप्नुहुन्छ,  “नेपालमा भेदभाव र छुवाछुतको चरम विकृति रहेको छ । धेरै जसो महिला, दलित र बालबालिका यस्तो भेदभावमा परेका छन् र अवसरबाट वञ्चित भएका छन् । यस्ता मानिसहरूमा सीप विकास गरी उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा हामी सक्दो प्रयास गरिरहेका छौँ ।”

 

महिला, अपाङ्गता भएका व्यक्तिहरू, दलितहरूका अतिरिक्त बालबालिका, असहाय र वृद्धहरूको सहयोगका क्षेत्रमा पनि आइसिए नेपाल क्रियाशील रहेको उहाँले बताउनुभयो । ‘शारीरिक रूपमा अपाङ्गहरू पनि अन्य हिसाबले सक्षम हुन्छन् भन्ने विषयमा तालिम, गोष्ठी सञ्चालन गरिरहेका छौँ । गाउँगाउँमा सरसफाई गर्नेदेखि सहकारी संस्थाहरू खोल्न उत्प्रेरित गर्ने र सहयोग गर्ने समेत गरेका छौँ’ उहाँले भन्नुभयो । 

 

आइसिए नेपालको सहयोगको यात्रा
पर्वत खानीगाउँकी केशकुमारी दर्जीका लागि आर्थिक स्थिति नाजुक हुनु, अझ दलित महिला हुनु उहाँका लागि निकै कष्टप्रद थियो । अशिक्षित गाउँ र समाजले दलितहरूप्रति गर्ने तिरस्कार र हेलाहोँचो सहँदै आइरहनुभएकी दर्जीको भेट ०५६ सालमा आाइसिए नेपालसँग भयो । आइसिए नेपाललले ‘नेतृत्व विकास’तालिम दिने सुइँको पाएर तालिम स्थल पुग्नुभएकी उहाँले त्यही तालिमबाट अक्षर चिन्ने मौका पाउनुभयो । तालिम लिएपछि उहाँले आफूमा परिवर्तन चाहनुभयो र सुरु गर्नुभयो आफूभित्रको क्षमताको बलमा अन्धविश्वासको जडतामा फसेको समाजविरुद्धको क्रान्ति । दलितप्रति सामाजिक दृष्टिकोण, सामाजिक तिरस्कार, सामाजिक मनोविज्ञान अकल्पनीय हुन्छ । ०५६ अघिका दिन उहाँले पाएको हण्डर र समाजले गरेको तिरस्कारको घटना उहाँको मनमा अझै खिलझैँ गडिरहेको छ । ‘त्यस बेलाको कुरा त के गरिसक्नु छ र ? आफू बसेको ठाउँ त लिपेर हिड्नुपथ्र्यो’ उहाँले भन्नुभयो । उहाँ आफूमा परिवर्तन आउनुको कारण आइसिए  नै रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला आइसिए नेपाल यहाँ नआएको भए म अहिले कहाँ पो हुन्थे  होला ! ।’ 

 

०५६ सालमा आइसिए नेपालसँग साक्षात्कार भएपछि उहाँको प्रगतिपथको यात्रा अविश्रान्त लम्किरह्यो । एक अक्षर चिन्न नपाउनु उहाँका लागि  बोझको विषय त बन्यो नै तर, साहस र हिम्मत पनि सँगै बढिरह्यो । उहाँभित्रको साहस र हिम्मतलाई आइसिएले नै प्रस्फुटन गराएको उहाँ बताउनुहुन्छ । ‘मलाई साहस दिने, आँट दिने त आइसिए नै हो । यो संस्थाले धेरै महिलाहरूको वृत्ति मविकासमा मद्दत गरेको छ’ उहाँले भन्नुभयो ।  उहाँले आइसिएको तालिमपश्चात् लघु उद्यमीको रूपमा काम गर्नुभएको हो । लघु उद्यम विकासमा विशेष योगदान पुऱ्याएकै कारण उहाँले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार समेत पाउनुभएको छ । उहाँलाई विभिन्न देशले सम्मानित गरिसकेको छ । उहाँ अहिले साना लघु उद्यम व्यवसायीको अध्यक्ष समेत हुनुहुन्छ । उहाँ ०७४ सालको स्थानीय निर्वाचनबाट फलेवास नगरपालिकाको कार्यपालिका सदस्य चुनिनुभएको थियो । 

 

आत्मनिर्भरता मानिसको स्वावलम्बन हो, आड हो, भरोसा हो, आश्रय हो । मानिसलाई आत्मनिर्भरतातर्फ डो¥याउन  सकारात्मक सोचको ठूलो देन भूमिका हुन्छ । हो त्यसै कारण आत्मनिर्भरताको उदाहरणका रूपमा भक्तपुर चाँगुनारायणका प्रगतिशील महिला समुहका महिलाहरू उभिएका छन् । आफूहरूको आयआर्जनमा आत्मनिर्भरता र व्यक्तित्व विकासले उहाँहरूलाई उत्साहित बनाएको छ । सामुदायिक विकासको अवधारणालाई मुख्य केन्द्रमा राखेर काम गरिरहेको आइसिए नेपालले चाँगुनारायणमा गरेको सामुदायिक विकासको प्रयासले त्यहाँका महिलाहरू उत्साहित भएका हुन् । प्रगतिशील महिला समुहका महिलाहरूका लागि आइसिए नेपालले सेनेटरी प्याड निर्माण, मैनबत्ती बनाउने, सामुहिक आलू खेती, महिला विकासका तालिमलगायत धेरै थुप्रै सीप विकास गरेको छ । तालिमबाट महिलाहरूलाई सैद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान पनि सिकाउने गरेको आइसिए नेपालले सामुदायिक विकास र महिला विकासमा उनीहरूको आयआर्जनका लागि आवश्यक लगानी र प्राविधिक सहयोग समेत खोजिदिने गरेको छ ।  

 

महिला तथा दलित समुदायको उपार्जन सहज बनाउन क्रियाशिल रहेको आइसि.ए नेपालले युवाहरुलाई इन्नोभेसन तथा स्टार्ट–अप कार्य गर्न प्ररित गरेको छ । मानव सूचकाङ्कको सूचिमा कमजोर रहेका जिल्लाहरूमा प्राथमिकताका साथ काम गरिरहेको यो संस्थाले सहभागिता मूलक प्रक्रियाबाट समूह सुगमीकरण गर्दै युवाहरूको नेतृत्व विकासमा काम गरिरहेको प्राध्यापक डा.तिम्सिना बताउनुहुन्छ । ‘पहिलो काम त व्यक्तिको विकास नै हो । त्यसछि परिवार र समुदायको विकास गर्ने हो । विशेष गरी व्यक्ति, परिवार र समुदायका मानिसहरूले अहिलेभन्दा बढी कसरी आयआर्जन गर्न सक्छन् भन्ने ध्येय हाम्रो हुन्छ’ उहाँले भन्नुभयो। उहाँ समुदायस्तरमा समुदायस्तरमा सहभागितामूलक विकासका लागि योजना बनाउने र त्यहाँ लाग्ने लागतले नभ्याए दातृनिकायहरूलाई गुहार्ने गरेको सुनाउनुहुन्छ । ‘योजना त बनाउँछौँ, तर योजनामा भने अनुसार स्थानीय तहबाट असम्भव योजनाहरूलाई दाताहरूसँग मिलेर कार्यक्रम बनाउँछौँ’ उहाँले भन्नुभयो । 

 

सामुदायिक विकासको गर्विलो खम्बा बनेको आइसिए नेपाल विपन्न समुदायका लागि दृष्टि र सृष्टिको अनुपम नमुना बनेको छ । पितृसत्ताको चङ्गुलमा फसेका नेपालका धेरै ठाउँका महिलाहरूको क्षमता अभिवृद्धि गर्दै स्वावलम्बी बनाइरहेको आइसिए नेपालले कार्यदक्षता र सीप हुँदाहुँदै पनि परनिर्भर बनेका महिलाहरूका लागि आत्मनिर्भरताको बाटो देखाइरहेको छ । प्रविधिमैत्री, सकरात्मक सोच र उत्साहसाथ काम गर्ने वातावरण सिर्जना गर्ने आइसिए नेपाल महिला र दलितहरूका लागि अझै बिर्सनै नसक्ने नाम बनेको छ ।