असार २९ नजिकिएपछि आदिकवि भानुभक्तको अलि बढी सम्झना हुन्छ । भानु सम्झेपछि रामायण सम्झिइन्छ । रामायण सम्झनासाथ एउटा प्रचलित नेपाली उखान सम्झना हुन्छ, ‘बाह्र वर्ष रायायण पढ्यो, सीता कसकी जोई !’ भानुभक्तको रामायणबारे पनि नेपाली समाज यस्तैयस्तै छ । त्यतिबेलाआफ्नो भाषामा त्यति ठुलो ग्रन्थ पढ्न पाउनु ठुलो महत्वको विषय हो । कुनै अनुवादक, लेखक र कृतिको प्रशंसा गर्नु भनेको त्यसबाट प्राप्त शिक्षाका लागि हो । भानुभक्तद्वारा नेपाली भाषामा लेखिएको रामायण पढ्ने मात्र होइन, यो समय रामायणबाट सिक्ने समय हो ।
सिक्नतिर मन गएन
प्राकृतिक वस्तुबाट त धेरै कुरा सिक्न सकिन्छ, पशुप्राणीबाट धेरै कुरा सिक्न सकिन्छ, सामान्य मानिस र पुस्तकबाट त सिक्न सकिन्छ भने रामायणजस्तो कृतिबाट सिक्न नसकिने भन्ने हुँदैन । भानु जयन्ती नेपाल र नेपाली भाषाभाषी रहेका नेपाल बाहिरका भूभागमा पनि यथोचित ढङ्गले मनाइन्छ । ती आयोजनहरूमा भानुको प्रशंसा गरिन्छ, केही आलोचना पनि हुन्छ । तर, अवस्था भने जहाँको तहीँ — भाषा, साहित्य, महाकाव्यका सिद्धान्त र भानुले पाएका दुःखका बयान् । कतिपयले दौरा—सुरुवाल र नेपाली बिर्के टोपी लगाएर र भानुभक्तले लेखेका रामायणका श्लोकहरू उच्चारण गरेर मनायो, सकियो । कसैले भानुभक्तप्रति भक्तिभाव प्रकट गर्दै जय जयकार गरे, कतिपय समालोचकहरूले छिद्रान्वेषण गरे, खिसीट्युरी गरे । कतिपय बुद्धिजीवीले अप्रासङ्गिक टिप्पणी समेत गरे । स्कुलका विद्यार्थीहरूले आप्mना रचना वाचन गरे पनि भनभिज्ञता र अलमलमै गरे । युवा उमेरका धेरैले उहिलेका कुरा खुइले भन्ने कुरा गरे ।
नेपाली समाजको यसअघिको पहाडे पुस्ताका धेरैले भानुभक्तको रामायण पढेका छन्, यहाँसम्म कि अक्षर नै नचिनेकाहरूले पनि रामायणका श्लोक गुनगुनाउने गरेको सुनिन्थ्यो । अन्य भाषाका रामायण त खस भाषा नबोल्ने नेपालीहरूले पनि नपढ्ने कुरा भएन । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरे । नेपाली लेखपढ गर्न सक्नेले रामायण पढ्न सक्ने भए, पञ्चम वेद जान्ने भए । वेद, पुराण पढ्न नपाएर र नसकेर जीवन निरर्थक भएको ठान्ने अवस्थाबाट नेपाली समाजलाई मुक्त पार्ने काम भानुभक्तले गरे । रामायण पढ्ने, बुझ्ने र व्यवहारमा लागू गर्ने सन्दर्भ हेर्दा त ‘अर्थ नपाई गोविन्द गाई, कपाल दुखेको ओखती नाइटोमा लाई’ भनेझैँ नै देखिन्छ । रामायण पढ्न त जानियो, कथा त पढियो, जीवनोपरान्त मोक्षको कामना गर्ने मात्रका लागि त यो नै ठूलो विषय भयो, ज्ञानका लागि पढ्नेहरूले त यसमा जीवन खोज्न जान्नुप¥यो र जीवनोपयोगी विषय फेला पानुपऱ्यो । भानुभक्तले त आप्mनो जिम्मेवारी पूरा गरे, उनी प्रशंसा र धन्यवादका पात्र हुन्, तर हामीले आफ्नै भाषामा प्राप्त गरेको रामायणको सदुपयोग केमा कसरी गर्ने गरेका छौँ ? प्रश्न यहाँनेर छ ।
नेपाली समाजका लागि भानुभक्तको मुख्य योगदान रामायणको भावानुवाद हो । यसै कारणले उनी आदिकवि घोषित भएका हुन् । विभिन्न ठाउँमा उनका शालिक ठड्याइनुको कारण पनि रामायण नै हो । रामायण अनुवाद — लेखनको उत्प्रेरणा एक जना घाँसी थिए भन्ने मानिन्छ । यस सम्बन्धमा चर्चित श्लोक छ,
‘भरजन्म घाँसतिर ध्यान् दिइ धन् कमायो,
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको, तर बुद्धि कस्तो ?
मो भानुभक्त धनी भै किन आज यस्तो ?
मेरा इनार न त सत्तल पाटी क्यै छन्,
जे धन् र चीजहरू छन् घरभित्र नै छन् ।
त्यस घाँसीले कसरी आज दिएछ अर्ती,
धिक्कार हो मकन बस्नु नराखी कीर्ति ।’
यिनै पङ्क्तिबाट भानुभक्तको मूल्याङ्कनको उपक्रम सुरू गरिन्छ । के यो रामायणको कथाको अङ्ग हो र ? तर, धेरैजसो आधुनिक विश्लेषकहरू यसैमा बढी अलिझरहेको देखिन्छ । मूल कुरो त उनले आप्mनो कीर्ति विस्तार गर्न—नाम कमाउन रामायण लेखेका हुन् भन्ने बुभ्mनका लागि यी पङ्क्ति सहयोगी छन् । पहाडमा ईनार हुने कि नहुने, सत्तल पाटी थिए कि थिएनन्, साँच्चै नै त्यतिबेलाको तनहुँमा घाँस बेचेर पैसा कमाइन्थ्यो कि थिएन भन्ने विषयलाई रामायणको उपलब्धिसँग जोडेर हेर्नु उपयुक्त होइन । अर्ति भनेको जहाँबाट पनि लिन सकिन्छ । भानुभक्तले ती विषय बनारस पढ्दाको सम्झना गरेका हुन सक्दछन् । बनारसमा घाँसीटोला भन्ने क्षेत्र नै छ, त्यहीँ कुनै घाँसीसँग उनको सम्वाद भयो होला र उनी त्यसबाट प्रभावित भए होलान् । त्यसैले यस्ता विषयको बढी चर्चाले मूल विषय ओझेल पर्नेतर्फ पनि ध्यान दिन आवश्यक देखिन्छ ।
के सिक्ने
भानुभक्तले नेपाली भाषामा रामायण लेखेर हामीलाई दिएको हो । संस्कृत भाषा नबुझ्नेहरूका लागि रामायण बुझ्ने अवसर प्राप्त भएको हो । तर, हामी आफ्नै भाषामा रामायण बुझेकाहरू के गर्दैछौँ ? हतार हतार राम, सीता र लक्ष्मणको प्रतीक तिलक लगाउँछ, कसैले कुनै तिलक वा चिन्ह धारण नगरेका पनि होलान्, रामायणका दुई चार श्लोक पढ्छ, तातै जिब्रो पोल्ने दुई चार गास अन्न निल्छ, छिमेकीको घोडा, साइकल, मोटर साइकल, कार माग्छ र सोझै अदालत जान्छ र आप्mनै पिता वा सहोदर दाजुको नाममा अंश मुद्दा हाल्छ । यस्तो अवस्थालाई रामायण पढेको, बुझेको भन्न मिल्छ ?
रामायणका अनुसार तत्कालीन चक्रवर्ती सम्राट दशरथका तीनवटी श्रीमती थिए— कौशल्या, सुमित्रा र कैकेयी । यिनीहरू एकअर्काका सौता थिए । कौशल्याका छोरा रामलाई वनवासको प्रस्ताव गर्ने कैकेयीसँग उनको झगडा परेको देखिँदैन । बरु, सुमित्राका छोरा लक्ष्मणसमेत सौताने आमाका छोरा रामसँगै वनवास गए । त्यति मात्र होइन, रामको वनवाससँगै राज्य प्राप्त गरेका कैकेयीका छोरा भरतले राज्यको राजा हुन पाउँदा पनि खुसी भएनन् र रामको चरण पादुका (खराउ—काठको चप्पल) लाई राजगद्दीमा राखेर आपूm रामको दासको रूपमा रहेर शासन चलाए । रामायण पढेका, रामकथा वाचन गर्दै हिँड्ने, रामकै भजन गाउँदै हिँड्ने, रामराज्यको वकालत गर्दै हिँड्ने, रामायणका श्लोक भट्याउँदै हिँड्ने अहिलेका रामभक्तहरू कति त्यागी छन् ? कत्तिको मेलमिलामा रहन सकेका छन् ? नेपाली भाषामा रामायण पढेका यी नेपालीहरू यसबाट कत्तिको लाभान्वित छन् र समाजलाई कस्तो सन्देश दिइरहेका छन् ? रामायणबारे समीक्षा छर्दै हिँड्ने, राम र उनको परिवारलाई सामन्ती शोषक भनेर राजनीति रङ्गाउँदै हिँड्ने समाजवादी, जनवादी, क्रान्तिकारी, राजाको शासन ल्याउन राजनीति गरिरहेका राजावादी राजनीतिज्ञहरू र उनीहरूका पछुवा जमातले रामायणको कथा नेपालीमा पढेर केही ज्ञान बढाएका र सदुपयोग गरेका छन् ? यी प्रश्न पनि सँगै उठ्ने गर्दछन् ।
एकल महिला सम्मान
रामायण र अन्य ग्रन्थहरूमा दशरथको वंशावली पढ्दा उनी निकै प्रभावशाली थिए भन्ने बुझिन्छ । अनेकौँ राज्यका राजाहरूसँग उनको मैत्री सम्बन्ध रहेको अनेकौँ राज्यहरू उनका सहयोगी रहेको देखिन्छ । उनका तीन वटै ससुराली पनि गतिलै थिए भन्ने बुझिन्छ । स्वयं सीताको माइत, राम र लक्ष्मणको ससुराली पनि लोकप्रिय र शक्तिशाली रहेको वर्णन पाइन्छ । यसरी हेर्दा उनले वनवासका नाममा त्यति धेरै दुःख नगरेर तिनै सम्बन्धहरूलाई उपयोग गरेको भए पनि असम्भव थिएन । तर, कथाले के भन्यो ? कथाले भन्यो उनीहरूले यीमध्ये कसैको पनि सहयोग लिएनन् । राजा दशरथका परिचित—अपरिचित वनवासीहरूसँग उनीहरूको भेटघाट भयो । कुनै कारणले एक्ल्याइएकी शबरीको खोजी गरेर उनको जुठो बयर खाएर आतिथ्य लिए । यसको तात्पर्य अछुत मानिएकी एकल महिलालाई उनले महत्व दिए, सम्मान गरे ।
महिला अधिकार
स्वर्ग र देवताका राजा इन्द्रले चन्द्रमाको सहयोगमा झुक्याएर यौन सम्पर्क गरी ‘बिटुल्याइएकी’ ढुंगासरह मिल्काइएकी ऋषि गौतमकी पत्नी अहिल्यालाई भेटेर उनको उद्धार गरेको विषय कथामा पढ्न पाइन्छ । यति मात्र होइन, नाम मात्र लिनाले पनि पाप नाश हुने पवित्र पञ्चकन्यामा अहिल्याको नाम लेखाए । अन्यत्र लेखिएको छ, ‘अहिल्या द्रौपदी तारा, कुन्ति, मन्दोदरी तथा । पञ्चकन्या स्मरेन्नित्यं सर्वपातक नाशनम्’ अर्थात् अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी पाँच कनयाको नित्य स्मरण गर्नाले सबै पापहरू नाश हुन्छन् । अहिल्या, तारा र मन्दोदरी रामायणमा उल्लेख गरिएका पात्र हुन् । अहिल्याबारे माथि नै चर्चा भइसकेको छ । तारा बाली र सुग्रीवकी पत्नी थिइन् भने मन्दोदरी रावणकी पत्नी हुन् । रामायणका विषयमा बहस गर्दा यी विषय प्रायः ओझलमै पर्ने गर्दछन् । किन ? किन भने यसमा रामायणको दोष होइन, जातिभेद र लिङ्गभेद गरी सामाजिक शोषण, उत्पीडन कायम राखेर फाइदा लिनेहरूको बोलबालामा आघात पुग्छ ।
अवस्था अनुसार शक्ति निर्माण
सीताको अपहरणपछि रावणसँग युद्ध गर्नका लागि पनि दशरथको प्रभाव, स्वयं अयोध्याको राज्यशक्ति, मावलीहरूको शक्ति, जनकपुरको शक्तिको सहयोग लिन सकिने हुन्थ्यो, तर रामले त्यसो गरेनन् बरु निषाद, जटायु सहयोग लिए । साथै, वनका बालि, सुग्रीव, जाम्बवान, हनुमान, अङ्गद आदिलाई सशक्तिकरण गरी लङ्का हान्ने शक्ति निर्माण गरे । अन्य शक्तिसँग मिलेर नभई आफ्ना दुस्मनसँग लड्न आफूभन्दा कमजोर शक्तिहरूलाई संगठित गरे ।
आराध्यको आलोचना
सीताको अग्निपरीक्षा, सीता परित्याग आदि विषयको जानकारीका लागि पनि रामायणकै भूमिका हो नि ! रामका कमजोरी बखान्ने स्रोत समेत भएको रामायण र यसका प्रस्तोताप्रति सकारात्मक रहौँ । ‘साहित्य समाजको दर्पण हो’ भनेर मान्नेहरूले रामायण पनि साहित्य हो, त्यति बेलाको समाजको दर्पण हो भनेर बुझ्न मिल्दैन र ?
पुस्तान्तरणको सन्दर्भ
ऐना हेर्दा कानमाथिका दुई—रौँ सेता देखिएपछि नेतृत्व हस्तान्तरण गर्ने महासामन्ती चक्रवर्ती महाराजा र आजको गणतन्त्रका जननिर्वाचित नेतृत्वबिच तुलना गर्न पनि रामायण पढ्न र बुझ्न आवश्यक छ । इतिहास, पुराण, कथा, महाकाव्यका पात्रहरूका बारेमा बुझ्दा त्यति बेलाको समाज र चेतनाको सापेक्षतामा बुझ्नु र उचित शिक्षा लिनु पर्दछ । कुनै पनि पूर्ववर्ती अवस्थाको कमजोरी उधिनेर—बखानेर वर्तमान र भविष्य उजेलिँदैन । आदिकवि भानुभक्त र रामायणका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।
निष्कर्ष :
रामायण महाकाव्य हो । महाकाव्य कवितामा लेखिएको अनेकौँ उपकथाहरूको सँगालो हो । यस विषयमा यो भन्दा बढी चर्चा नगरौँ । रामायणको यत्रो विशाल कथासँग दुई सय नौ वर्ष मात्र अघिका भानुभक्तको निजी दृष्टिकोण, बुझाइ र व्यवहारसँग जोडेर बुझ्ने प्रयास गरियो भने सही बुझाइ हुन सक्दैन । भानुभक्तको कीर्ति भानुको जीवनीमा होइन, रामायण लेखनमा हो । उनको योगदान रामायण हो । रामायणबाट शिक्षा लिन आफ्नो भाषामा रामायण उपलब्ध गराउने भानुप्रति श्रद्धा व्यक्त गर्नैपर्छ । तर, हामीले भानुभक्तबाट लिने शिक्षा भनेको समाजलाई काम लाग्ने केही न केही गर्नुपर्छ भन्ने हो । वास्तवमा हामीले लिने शिक्षा नेपालीमा पढ्न पाइएको रामायणबाट हो । रामायणबाट आजका लागि लिन सकिने शिक्षाको खोजी गरौँ । लिनुपर्ने लिऔँ, छोड्न पर्ने छोडौँ ।