images
images

सामाजिक तथा आर्थिक विकासका लागि महिला सशक्तीकरण

विश्वको आधा आकाश महिलाले ढाकेको छ । यदि विश्वलाई आवासग्रह—ष्खिबदभि एबिलभत बनाउने हो भने महिलाको विद्यमान अवस्थामा सुधार ल्याउनु नै पर्छ । समग्र विकासका लागि महिला र पुरुषको विकास एकनासले हुनुपर्छ । पुरुषहरू मात्र प्रगतिपथमा अघि बढ्दैमा समाजमा रूपान्तरण आउँदैन् । नेपालमा आधा आकाश ओगटेको महिलाको स्थिति चित्त बुझ्दो देखिँदैन । पुरुषको तुलनामा महिलाहरू शिक्षित छैनन् अर्थात महिला शिक्षामा पर्याप्त ध्यान पुगेको छैन । 
हाम्रो धर्मलाई हेर्ने हो भने शक्तिस्वरूपिणी देवी महिला हुन् । देवीको पूूजाउपासना महिलाले मात्र नभई पुरुषले पनि गर्छन् । एकातिर देवीलाई शक्तिका रूपमा पूज्दछन् भने तिनैले आफ्ना घरमा महिलालाई हेयभावले हेर्छन् र दोस्रो दर्जाको व्यवहार गर्दछन् । 
अहिले पनि नेपनली समाजमा पुरुषको तुलनामा महिलाहरू शिक्षित छैनन् । आर्थिक अवसरहरू पुरुषहरूले बढी ओगटेको पाइन्छ । बिहान—बेलुकी खाना पकाएर भान्छामा महिलाहरू बस्छन् तर होटलको खाना पकाउने सेफ पुरुष हुन्छन् । नर्स पेसामा महिलाहरू हुन्छन् भने डाक्टरमा पुरुषहरू बढी भेटिन्छन् । हाल डाक्टरमा धेरै महिलाहरू र नर्समा धेरै पुरुषहरू भएको स्थिति छैन । जीवनको सुरुआतदेखि नै छोरा सन्तानलाई राम्रो शिक्षादीक्षा, लालन—पालन र पोषण दिइन्छ तर बहुसङ्यक छोरी सन्तानले त्यस्तो अवसर पाउँदैनन् । परिणामस्वरूप पुरुषहरू डाक्टर इन्जिनियर हुन्छन् र उनीहरूले माथिल्लो पदमा कब्जा गर्छन् । हाम्रो समाजमा रहिआएका महिलासँग सम्बन्धित कुरीति र विभेदकारी परम्परालाई हटाउनुको साटो त्यसलाई नै पछ्याइरहेका छौँ ।  
किशोरी अवस्थामा हुने रजस्वलालाई भगवानको श्राप भन्ने गरिन्छ । त्यस्तो प्राकृतिक कुरालाई नकारात्मक ढङ्गले व्याख्या गरिएको छ । रजस्वला नै नहुने हो भने यो सृष्टि कसरी चल्छ ? महिला रजस्वला हुँदा कमजोरी हुन्छन् । जिउमा सन्चो हुँदैन् । त्यस्तो बेलामा झोलिलो खाने कुरा खानुपर्छ । आराममा रहनुपर्छ । त्यस्तो गराउनुको साटो घृणाको दृिष्टले हेरिन्छ । उनीहरूलाई आवश्यक सेनिटरीप्याडको व्यवस्था गरिदिनु पर्छ । आमाबुबाले उतिबेलाको परिस्थितिमा बनाएका नियमहरूलाई पछयाउनुको सट्टा उनीहरूले बनाएका अन्धविश्वासको साङ्लो तोड्नुपर्छ, अनि मात्र हुन्छ साँचो रूपान्तरण । जीवनको भोगाइमा छोरा र छोरी भनी पक्षपात गर्न हुन्न । छोरीमा गरिएको लगानीलाई पनि सुरक्षित सम्झनु पर्छ, किन कि छोरी पनि आफनो जुन छोरा बराबर सन्तान हो । 
विवाहयोग्य भएका महिलाका बारेमा ‘केटी कस्ती छ ?’ भन्ने चलन छ । यसरी महिलाको रूपलाई महत्व दिइएको पाइन्छ । विवाहयोग्य पुरुषका सन्दर्भमा ‘केटाले कहाँ काम गर्छन्, के काम गर्छन् ?’ भनेर सोध्ने गरिन्छ । अब हामीले समाजमा यस्तो परिवर्तन ल्याउनु पर्दछ कि महिलाका सन्दर्भमा पनि ‘केटीले के काम गर्छिन्, कहाँ काम गर्छिन् ?’ भनेर सोधियोस् । छोरा र छोरीबिच भेदभाव गरिएन भने समुन्नत समाज निर्माण गर्न सक्छौं ।
अहिले पनि पश्चिम नेपालका धेरै महिलाहरूको अवस्था असुरक्षित छ । त्यहाँ महिलाहरू रजस्वला भएका बेलामा घरभित्र बस्न पाउँदैनन् । घरबाहिर बनाइएका छाउगोठमा बस्नुपर्छ । जहाँ सर्प र जङ्गली जनावरको समेत डर हुन्छ र बलात्कृत हुने डर पनि हुन्छ । पछिल्लो समय केही सुधार आएको भए पनि महिलाहरू महिनावारीका समयमा मर्यादित छैनन् । 
सुरक्षित मातृत्वको अधिकार, सम्पत्ति माथिको अधिकार, प्रजनन् स्वास्थ्य, शिक्षा, समान ज्याला तथा सामाजिक सुरक्षा आदि महिलाका अधिकार हुन् । लैङ्गिक असमानता र निर्णय गर्ने अधिकार नहुनाले दिगो विकास र गरिबी निवारण हुन सक्दैन् । वंशजमा आधारित नागरिकता, सम्पत्तिमा अधिकार जस्ता विवाद अझै विद्यमान छन् । स्वास्थ्य, परिवार, समाज र राष्ट्रको सामाजिक विकासको लागि महिलालाई सशक्त पार्न आवश्यक छ ।
महिलाले सुरक्षित, परिपूर्ण र उत्पादनशील जीवन बाँचेमा उनीहरूले पूर्ण सम्भाव्यता प्राप्त गर्न सक्छन् । महिलालाई सशक्तीकरण गर्यो भने आर्थिक वृद्धि, राजनीतिक स्थायित्व र सामाजिक रूपान्तरण हुन्छ । संसार भरमा बालिका र महिलाले अनेकौँ महत्वपूर्ण चुनौतीहरूसँग निरन्तर जुधिरहेका हुन्छन् तर शक्ति सम्बन्धी काम र निर्णय लिने कुराहरूमा पछाडि परिरहेका छन् । कतिपय ठाउँमा अहिले पनि महिलाहरूले समान कामका लागि समान ज्याला पाइरहेका छैनन् । आजको विकसित संसारमा बालिका र महिलाहरू पुरुषको तुलनामा कम मूल्यवान हुनु मानवसमाजकै लागि नसुहाउँदो अवस्था हो । विवाहसम्बन्धी कानुन बनिसकेको भए पनि गाउँघरमा अहिले पनि उनीहरू वयस्क हुनु अगाडि विवाह गरिदिने गरिन्छ । महिलाहरूको यस्तो अवस्था नेपालमा मात्र नभई अन्यत्र पनि रहेको देखिन्छ । प्रत्येक वर्ष संसारभरमा एक करोड बिस लाख बालिकाहरूको विवाह हुन्छ भन्ने रिपोर्ट पढ्न पाइन्छ । छोरीहरूलाई विद्यालय पठाउनुको सट्टा घरेलु काममा लगाउने प्रचलन अहिले पनि छ । 
शिक्षाद्वारा महिला सशक्तीकरण गर्न सकिन्छ । शिक्षित महिलाले अर्थपूर्ण काम गर्न सक्छन् र सामाजिक जीवन तथा मूलुकको अर्थतन्त्रमा समेत योगदान दिन सक्छन् । तसर्थ घरैदेखि महिला सशक्तीकरणमा ध्यान दिन आवश्यक छ । (लेखक आइसीए नेपालमा कार्यरत हुनुहुन्छ ।)