images
images

स्वर्गद्वारी: शुद्ध स्वदेशी धार्मिकस्थल !

स्वर्गद्वारी अर्थात् स्वर्गजाने द्वार ! हाम्रो संस्कृतिमा स्वर्ग भनेको मृत्युपछि प्राप्त हुने परिकल्पित सुखसयल र सुखको ठाउँ हो । शब्दका हिसाबले ‘स्व’ भनेको उज्यालो हो र ‘स्व’ भनेको आफू वा आफ्नो हो । ‘ग’को एक्लै संभवतः कुनै अर्थ लाग्दैन, अरुसँग मिसिँदा मात्र अर्थ लाग्दछ, जस्तै : स्वर्ग, खग, पन्नग, निम्नग आदि । यसरी हेर्दा ‘ग’ भनेको जाने, हिँड्ने भन्ने अर्थ लाग्ने अक्षर हो । खग भनेको आकाशमा जाने, हिँड्ने वा उड्ने चरा-पक्षी हो । पन्नग भने विनाखुट्टा-घस्रिएर हिँड्ने(सर्प) भनिएको हो । निम्नग भनेको तलतिरै जाने अर्थात् स्त्रीलिङ्गमा निम्नगा भनेको नदी हो । यसरी अथ्र्याउँदा स्वर्ग भनेको उज्यालो तर्फको हिँडाइ, यात्रा वा गन्तव्य हो । यस्तो रहस्यमय र रोचक अर्थ दिने स्थानको द्वार-ढोका नाम भएको ठाउँमा पुग्ने इच्छा रहनु स्वाभाविकै हो । 
हामी पहिलो पटक स्वर्गद्वारी जाँदैथियौँ । पहिलो यात्रा भएको हुनाले गन्तव्य प्रतिको कौतुहल त हुने नै भयो, त्यसभन्दा बढी त्यहाँ पुग्ने बाटोबारे हामी बढी जिज्ञासु थियौँ । बुटवलबाट बिहान ६.४५ बजे छुटेको मिनीबस सरासर जाने हो भने अपरान्ह १ बजेसम्म भिङ्ग्री पुग्नुपर्ने हो । भिङ्ग्रीबाट मात्र १४ किलोमिटर पहाडी उकालो बाटो बढीमा १ घन्टामा पुगिने अनुमान थियो ।  तर, यात्रा त यात्रा नै हो, भनेजस्तो कहाँ हुन्छ र ?  
हामी दाङको भालुबाङबाट बड्डाँडा, सिमलचौर, जस्पुर-चकचके, भिङ्ग्री आदि छिचोल्दै   अघि बढ्दै थियौँ । करिब १ बजेतिर हामी सिमलचौर पुगियो । चट्टान फोरे बाटो बनाउने काम चलिरहेको त्यो सिमलचौर भन्ने ठाउँमा पुगेर बस रोकियो । त्यो बाटो ११ बजेदेखि ५ बजेसम्म बन्द गरिँदोरहेछ । ५ बजेसम्म पर्खनुभन्दा करिब एक किलो मिटर बाटो हिँडेरै छिचोल्दा छिटो हुने हिसाब गरेर हामी हिँडेर नै त्यो बाटो छिचोल्यौँ । बाटोमा भेटिएकाहरू र प्रायः सबैजसो सहयात्रीहरू स्वर्गद्वाराबारे सकारात्मक देखिन्थे । 
हामीलाई त्यहाँ पुग्ने बाटो, यातायात सुविधा, त्यहाँ पुगेपछका सुविधाबारे बडो आत्मीयतापूर्वक बताउँथे । अझ यसो भनौँ, त्यहाँ जान प्रेरित गर्दथे । हामीले हाम्रो बसका सहयात्रीहरूसँग मन्दिर खुल्ने र बन्द हुने समयय, दिन(बार-तिथि)बारे सोधका थियौँ । केही गरी राति ढिलो पुगियो भने गास बासको समस्या हुन्छ कि भन्ने पनि जानकारी लिइरहेका थियौँ । नजानेकाले हाम्रै प्रश्नमा सही थाप्थे भने जानेकाहरूले सम्झाउँथे, ‘केही समस्या हुँदैन । मन्दिर-धर्मशालामा जतिसुकै समयमा पुगे पनि गास र बासको समस्या हुँदैन । साह्रै राति भयो र पुग्नै सकिएन भने भिङ्ग्रीमा बास बस्न सकिन्छ, त्यहाँ होटलहरू छन् ।’ यस्तो सुनेपछि हामी ढुक्क भएका थियौँ । 
तर, सिमलचौरमा फोर्दै गरेको चट्टाने बाटो छिचोलेर अघि बढ्ने क्रममा एक जना युवकले फरक कुरा गरे । हामीलाई फरक कुरा, त्यो पनि धर्म-संस्कृति र धार्मिक-सांस्कृतिक स्थलहरूबारे फरक र नकारात्मक कुरा सुन्ने बानी परेकै छ, सुन्न सकिन्छ । त्यस्ता कुरा गर्नेहरू धार्मिक-सांस्कृतिक विषयबारे आधारभूत ज्ञान पटक्कै नभएका, यससम्बन्धमा भएका कमजोरीहरूलाई धर्म, धार्मिकता भनेर बोकी हिँदडेका आधुनिक जड र अन्धविश्वासीहरू हुन्छन् । 
ती युवक पढेलेखेका, देश घुमेका, समाजका टाठाबाठा जस्ता देखिन्थे । उनले भनेको कुरा यस्तो थियो, ‘म स्वर्गद्वारी त जाँदैजान्न, मलाई त्यसप्रति विश्वास छैन । एउटा घटनापछि मलाई अरु मन्दिरहरूप्रति पनि विश्वास लाग्न छोड्यो ।’ हामीलाई कौतुहल भयो । ती युवाको स्वर्गद्वारी र अरु मन्दिरप्रति विश्वास किन मरेको होला भन्ने जिज्ञासा जाग्यो र हामीले ‘तपाइँलाई किन यस्तो भयो त भाइ ?’ उनले भने, ‘शनिबारको दिन थियो, मैले नयाँ मोटर साइकल स्वर्गद्वारी मन्दिरमा पूजा गर्न लिएर गएको त शनिबार मन्दिर बन्द हुने रहेछ । पूजै गरिदिएनन् ।’ हामीले थप जिज्ञासा राख्यौँ, अनि ? उनले भने, ‘अनि त्यो मोटर साइकल देवी मन्दिरमा लगेर पूजा गरियो । मेरा भाञ्जा (या, भाइ ?) दुर्घटनामा परे । स्वर्गद्वारीलाई सोचेको पूजा अन्त गर्न पनि नहुने रहेछ ।’ यसो भनेर उनले आफू पूरा आधुनिक भएको, अन्धविश्वासमुक्त भएको दाबी प्रस्तुत गरे । हामी मनमनै हाँस्यौँ । उनको अन्धविश्वासमुक्तिको कथामा हाँस्नुसिवाय अरु के नै गर्न सकिन्थ्यो र ?
अन्धविश्वासका कारण आस्था भत्किन्छ । पौराणिक कथाहरूमा तपस्या गरेर वरदान पाएका कथा पढ्न पाइन्छ । त्यो तपस्या के हो ? कसरी गरिएको होला ? भन्ने पढे सुनेकै भरमा हरेक तपस्थलमा पुगेर सानोतिनो भाकल गर्ने अनि सबै कुरा वरदानका रूपमा सजिलै पाइन्छ भन्ने मनसाय नै अन्धविश्वास हो । शुभ स्थलहरूमा जाँदा मनमा शुभ भाव र शुभकामनाहरू लिनु स्वाभाविकै भए पनि केही दाम चढाउने र मनले सोचेको, आँटेको, ताकेको, चिताएको सबै कुरा पाइन्छ भन्ने ठान्नु अझ त्यसैलाई तपस्या ठानी वरदानको आस गर्नु अन्धविश्वास हो । तपसाधना भनेको भाकल होइन, भाकल त कामना हो । सफलताका लागि आफूले आफ्नै लागि गरिने मनोकामना हो । यस्तो भाकल ‘म यो गरेरै छोड्छु’ भनेर आफ्नै विश्वाससँग गरिने वाचा-कबोल हो । त्यो विश्वासको पात्र र स्थान देवीदेवता, सिद्ध, महात्मा, मन्दिर आदि धार्मिक स्थल हुन सक्दछ । भाकल गरेर पूरा नभएको विषयलाई तपस्या गरेर पाएको उपलब्धिसँग जोड्नु अन्धविश्वास हो । धेरैजसो मानिसहरू यस्तै अन्धविश्वासको सिकार भएर आस्थाका स्थलहरूप्रति नकारात्मक बनेका छन् । वास्तविकता नबुझीकन बनाइने विश्वास नै अन्धविश्वास हो । स्वर्गद्वारी र अन्य धार्मिक स्थलहरू प्राप्तिका लागि कामना गर्ने, प्राप्तिपछि खुसीको उद्घोष गर्ने ठाउँ हुन सक्दछन्, वरदान पाइने स्थल होइनन् । यहाँ त साधना र संयमको अभ्यासद्वारा आन्तरिक-आध्यात्मिक शान्ति प्राप्त गर्ने हो । धार्मिक स्थलहरूलाई सफलताको खुसीमा दान दिने, असफलता र दुःखमा बह बिसाउने, सफलताका लागि अन्तर्हृदयदेखि सकारात्मक प्रतिबद्ध हुने स्थानका रूपमा लिन सकिन्छ ।