बुद्धले आफ्नो आध्यात्मिक जागरण सम्बन्धी प्रवचन त्यति बेलादेखि गर्न थाले जब उनी अत्यन्त सुरक्षित तथा सुविधासम्पन्न राजमहलको पर्खालबाट बाहिर निस्किए । यस क्रममा उनले सबैभन्दा पहिले जीवनसँग सम्बन्धित मुख्य चार सवालहरूको समाना गरे । ती थिए (१) बुढो मानिस (२) बिमारी मानिस (३) मृत्यु भएको मानिस र (४) भिक्षुक । उनलाई आध्यात्मिक जागरण तथा अन्तज्र्ञान भयो, यो जीवन पीडाले भरिएको र क्षणभंगुर छ, त्यसैले हामीले हाम्रो जीवनलाई व्यवस्थित गर्न जीवनसँग सम्बन्धित अभ्यास तथा साधना गर्नुपर्छ । उनले अनेकौँ आध्यात्मिक मार्ग तथा प्रक्रियाहरूलाई प्रयोग गरे तर ती विधिहरू पर्याप्त मात्रामा प्रभावकारी नभएकाले अन्त्यमा उनी चेतनाबाट चेतनशील हुन तथा ज्ञान प्राप्त गर्न एउटा रुखमुनि तपस्या गर्न बसे ।
केही समयपछि वहाँ पूर्ण रुपमा जागरित भए, प्राप्त ज्ञानबाट विस्मित भएर यो निष्कर्षमा पुगे कि साँच्चै भन्ने हो भने जीवन पूर्ण छ, सर्वगुणसम्पन्न छ र यस कारण सबैखाले पीडाबाट छुटकारा पाउन सकिन्छ । उनको अन्तज्र्ञानबाट पीडा, क्षणभंगुरता र आत्मनिर्भरताको सवालमा एउटा देदीप्यमान आत्मशाक्तिको प्रकाशमा परिणत भयो । हामी हाम्रो जीवन सुखी, शान्ति, सदासयता र विवेकमा बाँच्न सक्छौँ । कस्तो गहन तथा विचित्रको आत्मजागरण ! अब तीन महिनाभित्र, म यो पृथ्वीमा एउटा खास व्यक्ति भएर बाँचेको सात दशक पूरा हुँदैछ । प्रत्येक दिन म अलि बढी सचेत भएर बिमारीको, बुढ्यौलीको र मृत्युको अवश्यंभावी भूमिकामा मनन गर्दैछु । म मेरो वंश तथा विरासतको बारेमा सोच्छु । मैले पहिले नै के गरिसकेको छु ? के यो पर्याप्त छ ? मैले यो जीवनमा अरु के के गर्न जरुरी छ ? म कहिले गरौंला ? मसँग कति समय छ ? मलाई थाहा छ, म कुनै पनि बेला कुनै पनि क्षण मर्न सक्छु । योकुरा मेरो जीवनभरि भइरहेको छ । तर अहिलेचाहिँ यो अझ बढी वास्तविक, उपस्थित, अत्यावश्यक र निरन्तर देखिन्छ ।
प्रत्येक दिन पीडा, क्षणभंगुरता र आत्मनिर्भरताको सवालमा सचेत तथा जागरुक हुन कटिबद्ध छु । म सबैप्राणीहरूलाई पीडाबाट छुट्कारा तथा आफूलाई पनि पीडाबाट राहत दिलाउन प्रतिबद्ध छु । म आफू सहानुभूतिपूर्ण र समानुभूतिपूर्ण जीवन जीउनका लागि कटिबद्ध छु । म मेरो समयको संकट, चुनौती तथा अवसरहरूका बारेमा अरुलाई जगाउन शिक्षण, प्रशिक्षण, लेखन, परामर्श, सहजीकरणको प्रयोग तथा प्रवर्धन गर्न प्रतिबद्ध छु । यसैगरी समानुभूतिपूर्ण सभ्यता निर्माणको संभावना र नवप्रवर्तन, सिर्जनशील, सहजकारी र एकीकृत नेतृत्वका लागि रणनीति तथा प्रक्रियाहरूको प्रयोग र प्रवर्धन गर्न कटिबद्ध छु । के यो पर्याप्त छ ? के म अझ बढी गर्न सक्छु ? के म अरु बढी प्रेम गर्न सक्छु ? के म अझ बढी दिन सक्छु ? कि यति गर्यो सिद्धियो ? र मैले सक्ने जति मैले गरे । अनि मेरो उत्तरदायित्व सकियो । काम सम्पन्न भयो । अझै पनि सिद्धिएको छैन, यो क्रम जारी छ । मानवता, जीवन, हाम्रो पृथ्वी, ब्रम्हाण्ड सबै अनन्त कालदेखि चल्दैआएका छन् र अनन्त कालसम्म चलिरहने छन् । म सदाका लागि यसको एउटा अभिन्न अंग हुँ, भविष्यलाई पछ्याउँदै, परिवर्तन हुँदै, जाग्दै, केही कुरा प्रदान गर्दै चलिरहने एउटा अनन्त यात्राको यात्री हुँ ।
बुढो हुँदै जानु भयावह हुन्छ
दोस्रो विश्वयुद्ध समाप्त हुँदै थियो । अर्को एउटा बच्चाले बाँदर वर्णको सिंह राशिमा जन्म लियो । बच्चा गोरो छाला भएको अंग्रेजको बच्चा थियो त्यसैले आँखा खैरा र खैरो कपाल थियो । उसले प्रोटेस्टेन्ट सम्प्रदायको सदस्यको रूपमा एउटा मध्यम वर्गीय परिवारमा मध्यपश्चिम अमेरिकामा जन्म लिएकोथियो, यो पहिलो दशकको सुरुआत थियो । सुन्नुभयो, म सत्तरी वर्षको हुन चाहन्नँ । यो त अत्यधिक बुढोको लक्षण हो । म त्यो बुढो होइन । म आफूलाई पर्याप्त जवान महसुस गर्छु । म काममा व्यस्त छु, यात्रा गरिरहेछु, सामाजिक कार्यमा भाग लिइरहेको छु । म स्वस्थ, मस्त, खुसी र जनसम्पर्कमा अगाडि छु । म कसरी यति बुढो हुन सक्छु ? अथवा के सत्तरी वर्षको हुनु बुढो हुनु हो ? अथवा अस्सी वर्ष पुगेपछि मात्र बुढो भइन्छ ? अनि नब्बे वर्षमा नि ? कि बुढो हुन एक सय वर्ष नै पुग्नुपर्छ ? अनि ११० वर्ष चाहिँ ? अथवा १५० वर्ष, अझै १६० वर्ष ? बुढो भनेको के हो ? र यसले कसरी कहीँ कसैलाई फरक पार्छ ?
जतिबेला म सत्तरी वर्षको थिएँ, मैले नैरोवी र केन्याका गरिब तथा सुकुमबासीहरूको जमिनमा पहुँच सम्बन्धी यु.एन.ह्याबिटेटको ग्लोबल कार्यक्रममा संस्थागत विकास परामर्शसम्बन्धी र न्यूयोर्क युनिर्भसिटीका लागि ग्रयाजुएट कोर्स (नेतृत्व तथा अन्तर्राष्ट्रिय क्याम्पिएन) संचालन गरेँ । यसै गरी ओक्लोहामासिटी युनिभर्सिटीमा आयोजना गरिएको सिर्जनशील शान्ति निर्माण प्रक्रिया सेमिनारमा मुख्य प्रस्तोताको रूपमा कार्यपत्र प्रस्तुत गरेँ । आरुबा युनिभर्सिटीमा शिक्षण तथा शिक्षा प्रशासनका कर्मचारीहरूका लागि सहकार्यमूलक नेतृत्व सम्बन्धी कार्यशाला सञ्चालन गरेँ । सिउल कोरियामा सम्पन्न यु.एन. पब्लिक सर्भिस ग्लोबल फोरमले दिगो विकास सम्बन्धमा सञ्चालन गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेँ । समानुभूतिपूर्ण सभ्यताको सम्बन्धमा ८७ वटा ब्लगहरू प्रकाशित गरेँ र फेसबुक, ट्वीटर, लिङ्क्डइनमा सहभागी भएँ । के यो धेरै हो ? थोरै हो ? कि पर्याप्त अथवा ठिकै हो ? तर म किन सत्तरी वर्षको हुन चाहन्नँ ? तर म भएँ ! म सत्तरी वर्ष यो पृथ्वीमा बाँचेँ । मैले बाँच्ने काम सम्पन्न गरेँ । म जीवन्त छु र अझै प्रयासरत छु । मैले अझै पनि काम गर्नु छ, मैले म हुनुको अर्थ जान्नु छ, थाहा भनेको के हो थाहा पाउनु छ । म मरेको छैन । म अझै जीवित छु र यही पृथ्वीमा नै छु ।
कसैले पनि मलाई हात खुट्टा बाँधेरे, कोचेर कोठामा थुनेर राख्न सक्दैन । म आवाज बुलन्द गर्न सक्छु । म मेरो क्षमता अनुसार जुनसुकै भूमिकामा प्रस्तुत हुन सक्छु । म जे पनि बन्न सक्छु, अहिले, यहीँ, यति नै बेला हुन सक्छु, बन्न सक्छु । म मायाँ गर्न सक्छु । म तिमीलाई मायाँ गर्न भन्न सक्छु । आहा ! म जित्न सक्छु, विजयी हुन सक्छु । यो पृथ्वीमा सजीव भएर बाँचेको म । कस्तो गौरव, क्या उपहार, कस्तो रोमाञ्चकारी यात्रा, कस्तो यात्रा, क्या सिकाइ ! क्या गज्जब ! म आफैसँग प्रभावित छु, म सत्तरी वर्ष भएकोमा गौरवान्वित छु । मेरा दुवै हजुरबुबाहरू ५० वर्षको हाराहारीमा बित्नुभयो । मेरा दुई प्यारा नातिनातिनाहरूको ७० वर्षको हजुरबुबा छ । ठिक छ, तिनीहरू मलाई हजुरबुबा भनेर बोलाउँछन् । मलाई एकदमै खुसी लाग्छ, राम्रो लाग्छ, जब तिनीहरूले मलाई हेरेर उनीहरूसँग खेल्न अनुरोध गर्दछन् र मलाई सुताइदिनुहोस् भनी कर गर्छन् । म आफू हजुरबुबा भएको मन पराउँछु, खुसी छु । कस्तो गज्जबको हजुरबुबा–नातिनातिनीको व्यवहार ! मलाई लाग्छ म फेरि एकचोटि केटाकेटी हुन पाए हुन्थ्यो ? उनीहरू सँगसँगै हुर्किन पाए कति मजा हुन्थ्यो होला ! म फेरि एकपटक मेरो छोराछोरीहरूको अभिभावक बन्न सक्थेँ ।
कुनै दिन अचानक यो शरीरले आफ्नो नैसर्गिक क्रियाकलाप गर्न बन्द गर्दिन्छ । म यस सत्यलाई स्वीकार गर्न सिक्दैछु । अहिले यो निकै चामत्कारिक छ कि म जिउँदै छु, बाँचिराखेको छु, सचेत छु, चिन्तनशील छु, बोधगम्य छु र सबैसँग सम्बन्धित छु । यसका लागि म धन्य धन्य तथा कृतज्ञ छु । म खुसी छु र म आश्चर्यचकित पनि छु । म चकित, विस्मित, आकर्षित र मोहित छु । वास्तवमा मैले जहिले पनि आफूलाई एउटा सजीव, जीवन्त र सचेत प्राणीको रूपमा लिएको छु । यस्तो कि मेरा सहकर्मीहरू तथा लेखक जोए जिङ्सले आफ्नो पुस्तकमा लेखेका छन्, ‘म सदाका लागि सम्भव भएसम्म प्रभावशाली तथा उपयोगी भएर बाँच्ने चाहना राख्छु । जब कि मलाई थाहा छ यो ब्रम्हाण्ड म जन्मनुभन्दा १३ अर्ब सत्तरी करोड वर्ष पहिलेदेखि चलिआएकोछ र म मरिसकेपछि पनि अरु करोडौँ वर्षसम्म अनवरत रूपमा चलिरहने छ । कस्तो रहस्य ! यस्तो अस्थिर तथा धिपधप गरिरहेको यो क्षणमा सबै कुरालाई ध्यानमा राखेर विवेकशील तथा चेतनशील हुनुपर्ने ।’
म मेरो चाउरी परेको र सेतो कपालप्रति गौरव गर्छु । यो त्यो हो, जो ७० वर्ष बाँच्छ ऊ यस्तै देखिन्छ, ठिक छ । आफ्नो मन नखुम्च्याउनुहोस् । यसैले त म जे खान्छु, खाने कुराप्रति सचेत हुन्छु । म नियमित रूपमा व्यायाम गर्छु । पर्याप्त आराम गर्छु । हिँडिरहन्छु । प्रयोग गर्छु या हराउँछु । सक्रिय हुन्छु । संलग्न हुन्छु । सम्पर्कमा बस्छु । प्रत्येक दिन केही न केही सिकिरहन्छु । वृद्धि गरिरहन्छु । सोधिरहन्छु । किन ? अचम्मित हुन । तिमीमाथि र म आफूमाथि पनि मुस्कुराइरहन्छु र हाँसिरहन्छु, कृतज्ञ भइरहन्छु, जोखिम उठाइरहन्छु, मायाँ गरिरहन्छु, महसुस तथा अनुभव गरिरहन्छु । मलाई पहेँलो, सुन्तले र रातोरंग मनपर्छ । मलाई फ्रेन्च हर्नको आवाज मनपर्छ । मलाई गुजुमुज्जुपरेको आकास गंगाको तारापुञ्जको आकार मनपर्छ ।
मलाई अन्तरिक्षबाट खिचेको पृथ्वीको चित्र मनपर्छ । मलाई सबै किसिमका फूल मनपर्छ । मलाई सबैखाले भवन र मानिसका अनुहारहरू, सबै खाले रंग र आकार प्रकारहरू, मानिसको शरीर, सबैखाले नाम, आकार प्रकार र सूर्य, बादल अनि अरु अरु धेरैधेरै आदि इत्यादि कुराहरू मनपर्छ । म खान, सुत्न, उठ्न, बंगालको मसालेदार चिया पिउन, दही, लस्सी र बिहानको स्वादिलो नास्ता, मेरी प्यारी पत्नीलाई ‘शुभ प्रभातम्’ भन्न, इमेल चेक गर्न, समानुभूतिपूर्ण सभ्यताको उदयका बारेमा सपना देख्न मन पराउँछु । म यस्तो खुसी मन पराउँछु, जसले क्षण प्रतिक्षण अघि बढ्नका लागि मार्ग प्रसस्त गरोस्, जुन बाटोबाट हिँडेर खुसियालीपूर्ण जीवन प्राप्त गर्न सकियोस् ।
कसरी हामी नाचिरहन सक्छौँ ?
बुढो हुँदै जानु रमाइलो हुन्छ । यो भनाई मैलेमाथि अभिव्यक्त गरेको ‘बुढ्यौली भयावह हुन्छ’ सँग मेल नखान सक्छ, जुन मैले म सत्तरी वर्ष पुगेको बारेमा व्यक्त गरेको थिएँ । तर यो यसो होइन । दुवै सही छन् । हिजोआज म अभूतपूर्व रूपमा सचेत भएको छु कि अलिअलि गरेर टुक्रा टुक्रामा परिणत हुँदैछु । अवश्य हो, म बुढ्यौलीको प्रतिरोध जिम गएर, उपयोगी तथा पौष्टिक खानेकुराहरू खाएर, आवश्यक तत्वहरू प्राप्त गर्न सकिने खाद्यपदार्थ प्रयोग गरेर, योग, ध्यान गरेर, पर्याप्त सुतेर, पढेर, पढाएर, लेखेर र आफन्तहरूसँग घुलमिल भएर गर्दैछु । तर पनि यो अपरिहार्य देखिन्छ, किनभने मृत्युलाई आजसम्म कसैले जितेको छैन । आज मेरो अनुहार ओइलाएकोछ । मेरो क्यान्सरका लक्षणरूपी दागहरूको वायोस्पी गरियो । दुई वर्ष अगाडि मेरो सर्जरी भएको थियो । चाँडै नै मैले मेरो कान तथा श्रवण शक्तिका लागि डाक्टरसँग परामर्श गरी परीक्षण गर्नु छ र यसरी नै मेरो जीवन चलिरहेको छ ।
मेरा दुई जना अभिन्न मित्रहरू, पति र पत्नी दुवै जना बिमारी छन् र एक जनाको रोग निको हुनेवाला छैन । निकै संकटपूर्ण स्थिति छ । के भन्ने ? के गर्ने ? कसरी सहयोग गर्ने ? एक जना अवसादमा छ भने अर्को मानसिक विचलन तथा द्विविधामा छ । दुवै जना चिन्तित छन् । म उनीहरूलाई समय समयमा भेट्दै आएकोछु र उनीहरूलाई सकेको सहयोग गर्दै आएको छु । म उनीहरूको अवस्था राम्ररी बुझ्छु । मैले मेरी पत्नीलाई बिहे गरेको ३५ वर्षपछि क्यान्सरको कारण गुमाएँ, उनी ६० वर्षकी मात्र थिइन् । हामी कसरी चिन्ता, पीडा तथा शारीरिक रूपमा जकडिएको उक्त बृद्ध अवस्थामा नृत्य गर्न सक्छौं ? हामी कसरी मृत्यु र बिमारीको पीडाले भरिएको अनुहारमा मुस्कान भर्न सक्छौँ, मुस्कुराइरहन सक्छौँ ? कसरी हामी अरुको र आफ्नो पीडाबाट छुट्कारा पाउन सक्छौँ र मन, वचन तथा कर्मले समानुभूतिपूर्ण सभ्यता निर्माण गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्न सक्छौं ? हामी हाम्रा नातिनातिना तथा युवा विद्यार्थीहरूसँग कसरी आनन्दित हुन सक्छौं ? हामी शिथिल तथा निराश नभई साहसका साथ निरन्तर रूपमा निरन्तरतालाई निरन्तरता दिँदै आनन्दित हुन सक्छौँ ? नयाँ संसारको साहसिक सपना रचना गरेर क्षण प्रतिक्षण यो क्षणभंगुर जीवनको आनन्द लिन सक्छौँ ? पारिलो घामको स्वादिलो न्यानोपनको आनन्द उठाउन सक्छौं ? कस्तो रापिलो, चिसो हावा । खुसी भएका नातिनातिनाहरूको हाँसो । मेरी मायालुसँग बाँडीचुँडी खाएको खाना । मेरा विद्यार्थीहरूको चुनौतिपूर्ण प्रश्नहरू । एकातिर पन्छाउँदैगर्दा ‘तर मैले त अनुभव नै गरिनँ, थाहा नै पाइनँ’ सहयोग, संसारको पहुँच तथा आदान—प्रदान, समानुभूतीकरण, ऊर्जायुक्त आवाज र मायाँलु आँखाको भाका । उत्साह अभिवृद्धि गर्न सहयोग आदिद्वारा निरन्तरतालाई निरन्तरता दिँदै हिम्मत नहारी, शिथिल तथा निराश नभई एकोहोरो लागिरहेर खुसी हुन सकिन्छ ।
हो, हामी सक्छौँ । हामी हाम्रो जीवनको अन्त्यसम्ममा प्रतिष्ठा र खुसी प्राप्त गर्न तीब्र इच्छाका साथ बाँच्न सक्छौँ र खुसीको कुरा हामी अझैसम्म मरेका छैनौँ । म अरु एक दिन बढी बाँच्न सक्थेँ या तीस वर्ष बढी बाँच्न सक्छु । जे होस्, यो असल तथा प्रेरणादायक छ । यसलाई चालु राखौँ, निरन्तरता दिऔँ ।