images
images

इन्नोभेसन (नवीन आविष्कार) : के हो र कसरी ?

कुनै पनि नवीन विचारलाई उत्पादनमा परिणत गरी सेवाग्राहीहरूका निम्ति उपयोगी वस्तु, उपकरण, सेवा आदिको रूपमा विकसित गर्नु नै इन्नोभेसन (नवीन आविष्कार) गर्नु हो । प्रक्रिया वा उपकरणको रूपमा सिर्जना गरेको नयाँ विचार तथा परिकल्पना र तिनको कार्यन्वयन नै नवीन आविष्कार वा इन्नोभसन हो । समय सापेक्ष तथा नवीन विचारहरूको सिर्जना र प्रयोग तथा नयाँ उत्पादन र सेवा मार्फत संस्था वा समाजमा नयाँ मूल्य र मान्यताको सिर्जना गर्नु नै इन्नोभेसन हो । इन्नोभेसन सम्बन्धी विभिन्न परिभाषा तथा विचारका आधारमा इन्नोभेसनले निम्न कुराहरूलाई इंङ्कित गर्दछ । 
१)नयाँ विचार र यसको कार्यान्वयन 
२)वास्तविक चुनौतीको सामना गर्ने उपाय 
३)संस्थामा नयाँ मूल्य र मान्यता प्रदान गर्ने 
४)सेवाग्राहीको निम्ति नयाँ मूल्य मान्यता सिर्जना गर्ने 
५)फरक दृष्टिकोण र सोचाई 
६)अग्रगामी विचार 
७)नयाँ बजारको सिर्जना आदि । 

 

समग्रमा नयाँ विचारको कार्यान्वयन मार्फत चुनौतीको सामना गर्दै संस्था र सेवाग्राहीका निम्ति नयाँ मूल्य र मान्यताको विकास गर्नु नै इन्नोभेसन हो । हामी सबै कुनै न कुनै हिसाबले नवीन खोजकर्ता हौँ । हामीमा भएको मस्तिष्कले हामीलाई इन्नोभेसनको दिशामा निरन्तर अघि बढाइरहेको हुन्छ । इन्टरनेटको आविष्कारले इन्नोभेसनको सोचलाई धेरै बढाएको छ । ठुल्ठुला खोजलाई मात्रै इन्नोभेसन मानिदैन, यो अत्यन्तै सानो क्षेत्र वा वस्तुमा समेत हुनसक्छ ।  हाम्रोजस्तो गरिबीले अत्यन्त ग्रस्त समाजको रूपान्तरणमा इन्नोभेसनको विशेष महत्व हुन्छ । अन्यत्र गरिएका खोजभन्दा त्यसै ठाउँमा, त्यहीँका जनतालाई सोचेर गरिएका इन्नोभेसन बढी उपयोगी हुन्छन् । पुराना र काम नलाग्ने प्रविधि तथा वस्तुको आयातले मात्र विकास हुन सक्दैन । शिक्षा, स्वास्थ्य, पूर्वाधार आदि सबै क्षेत्रमा नयाँ सोचको आवश्यकता छ । यी नवीन खोजहरूको विकास तथा विस्तार सँगसँगै समाजको रूपान्तरण पनि हुँदै जान्छ ।  इन्नोभेसन हाम्रो प्राथमिकताको विषय बनेको छैन । यसका निम्ति हाम्रो समाज अझै तयार हुन सकेको छैन । इन्नोभेसन भनेको बिलकुल नभएको भन्दा भएकै वस्तुमा नयाँपन दिई आविष्कार गरिने प्रक्रिया हो । यसो गर्दा नयाँ चिन्तन सहित अरुले नदेखेका कुरालाई देखिने गरी नयाँ रूप दिनुपर्छ । यो सामान्य लागे पनि अरुले नगरेकोले यो नवीन हुन सक्छ । इन्नोभेसनका लागि विज्ञान तथा प्रविधिमा दिग्गज नै हुनुपर्छ भन्ने छैन, यो त हरेक विषयमा गरिने नवीन खोज हो, चुनौतीसँग सामना गर्ने क्षमता हो । 

 

हामी सबैले हाम्रो सुरुको भूमिकालाई अहिलेसम्म पछ्याइरहेका छैनौँ, फरक फरक क्षेत्रमा आफूलाई अनुकूल गर्दै अगाडि बढिरहेका हुन्छौँ । हिजोकै दिन जस्तो भोलिको आशा गरिरहेका हुँदैनौँ । मस्तिष्कमा सैयौँ विचारहरू लिएर हिडेंका हुन्छौँ र काम नलाग्ने विचारहरू फ्याँक्दै यसैका आधारमा विचारलाई पनि परिष्कृत गर्दै अघि बढिरहेका हुन्छौँ । इन्नोभेसन एउटा संस्कृति हो, बानी हो ।  यसबारे व्यापकरूपमा चेतना अभिवृद्धि गरी इन्नोभेसनको संस्कृति विकास गर्नु आवश्यक छ । तालिम, सभा, सम्मेलन गरी यसतर्फ ठुलो जनमानस तयार गर्न सकिन्छ । इन्नोभेसन हामी आपनै घरबाट सुरू गर्न सक्छौँ ।  इन्नोभेसन सम्बन्धी हाम्रो आफ्नै इतिहास छ । परम्परागत रूपमा गरिएका इन्नोभेसनका कार्यले हाम्रो विगतलाई आकार दिएको थिए । यस्ता इन्नोभेसनहरू हाम्रा कला, संस्कृति, स्वास्थ्य, शिक्षा आदिमा भएका थिए । हाम्रा पुराना स्मारक, उपकरण, श्लोक आदिमा इन्नोभेसनका प्रशस्त उपमाहरू झल्किएको पाइन्छ । 

 

इन्नोभेसन कुन तह वा ठाउँबाट भन्ने कुराले महत्व राख्छ । व्यक्ति, परिवार हुँदै इन्नोभेसन हामी गाउँ÷नगर, जिल्ला, प्रदेश तथा देशको स्तरमा गर्न सक्छौँ । इन्नोभेसनको काम गर्दा विपन्न जनसमूहको उत्थान गर्ने उद्देश्यले गरिनुपर्छ । जनचेतना अभिवृद्धि गर्दै इन्नोभेसनप्रति सबैको पहुँच बढाउँदै यसका निम्ति उपयुक्त वातावरण विकास गर्नुपर्छ । यस क्षेत्रमा संलग्न युवा खोज कर्ताहरूलाई सहयोग, पुरस्कार आदिको व्यवस्था तथा यस दिशामा अनुकूल नीति नियम विकास गर्नु पनि त्यत्तिकै आवश्यक छ ।  विज्ञान, अनुसन्धान, इन्नोभेसन र सीपयुक्त मानव स्रोतको उपयुक्त संयोजनबाट देशले सामाजिक तथा आर्थिक समृद्धि हासिल गर्न सक्छ । यसको निम्ति सरकारले उपयुतm वातावरण सिर्जना गरी उद्योग क्षेत्रलाई आकर्षण गर्नु जरुरी छ । इन्नोभेसनबाट प्राप्त उपलब्धिहरूलाई बजारमा पुर्याउने काममा उद्योगहरूको विशेष भूमिका हुनेगर्छ । विज्ञान तथा प्रविधिका विविध विषयहरूमा स्तरीय जनशक्तिको विकास गर्दै इन्नोभेसनको अभियानलाई सफलीभूत पार्न सकिन्छ ।  विज्ञान तथा प्रविधिलाई आत्मनिर्भरताको अभियानसँग जोड्नुपर्छ । हाम्रो आफ्नै संभाव्यता तथा त्यसभित्र लुकेका विज्ञान तथा प्रविधिका कुराहरूलाई बाहिर निकाल्नु जरुरी छ । पुरानो ज्ञानलाई आधुनिकीकरण गर्नुपर्छ । इन्नोभेसनलाई उद्यमशीलतासँग जोडेर आममानिसका हितमा प्रयोग गर्दा रोजगारी सिर्जनामा टेवा पुग्छ । 

 

१२–१४ घण्टा खेतमा कुप्रिएर काम गर्ने एउटा किसानको लागि कस्तो प्रविधि चाहिएला ? उसको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी उनले कम समयमा कसरी बढी काम गर्न सक्छन् ? यस्ता समस्यालाई मध्यनजर गरेर वैज्ञानिक सोचको विकास गरौँ । वैज्ञानिक सोच भन्नाले सबै जनताहरू वैज्ञानिक प्रक्रियालाई बुझ्न सक्ने हुंँदै स्वतन्त्र रूपमा विचार विश्लेषण गर्दा तथ्यमा आधारित भई गर्ने तथा हरेक कुरालाई वैज्ञानिक ढङ्कबाट बुझ्न सक्ने हुनुपर्दछ । वैज्ञानिक प्रक्रिया भन्नाले कुनै पनि कुरालाई व्यवस्थित ढङ्कबाट अवलोकन गर्ने, नाप्ने र प्रयोग गर्दै नयाँ विचार वा सिद्धान्तको परीक्षण वा विकास गर्दै  अघि बढनु हो । 

 

अगष्ट, २०१८ मा भएको १८ औँ एसियाली खेलकुदमा नेपालले पाराग्लाइडिङमा रजत पदक पाप्त गर्यो । यस्तै पदक बीस वर्षअघि नेपालले तेक्वान्दो खेलमा जितेको थियो । यी दुवैमा के समानता छ भने यी दुवै खेलहरूले एसियाली खेलकुदमा पहिलो पल्ट प्रवेश पाएका थिए । नेपालमा यी दुवै खेलहरू विदेशबाट भित्रिएका थिए, अर्थात् विदेशीहरूले नेपालीलाई तालिम वा संलग्न हुने अवसर दिएका थिए । तेक्वान्दोले पुनः त्यत्रो पदक जितेन र पाराग्लाइडिङले भविश्यमा के गर्ला अहिले भन्न सकिन्न । वास्तवमा यी दुवै खेलहरू नेपालको सन्दर्भमा इन्नोभेसनसँग सम्बन्ध राख्छन् । अन्यत्रका खेलाडीहरूका सीपलाई नेपाली खेलाडीहरूले आत्मसात गरे वा आफ्नोपनमा ढाले । तर, तेक्वान्दोमा पुनः त्यसरी सोचिएन र हामी अरु देशका खेलाडीभन्दा पछि पर्न गयौँ । नवीन खोजभएका विषयमा नयाँपन दिन नसक्दा वा विस्तार हुन नसक्दा यिनको लोकप्रियता घट्छ । पाराग्लाइडिङ खेलकै खेलाडीहरूले सुरुमा धेरैको खप्की खानुपरेको थियो । साहसिक खेल भएकोले जो कोहीले पनि यो खेल्न सुरुमा आँट गर्दैनन् । सुरुमा सरकारी रवैया पनि प्रतिकूल नै थियो । 

 

कसैको सहयोग नभए तापनि खेलाडीहरूको उच्च मनोबलका कारण उनीहरू सफल भएका हुन् । यसलाई निरन्तरता नदिने हो भने यो पनि तेक्वान्दोझैं नहोला भन्न सकिन्न । खेलमा गरिएको यो इन्नोभेसनको राम्रो नमूना हो ।
(लेखक पीएचडी सेन्टरका प्राज्ञिक सल्लाहकार तथा आइसीए नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)