—घनश्याम कोइराला
कुनै पनि व्यवस्था नामले राम्रो वा नराम्रो हुने होइन, उसका गुणले हो । सिद्धान्तमा प्राण भर्ने मानिसले हो । त्यसैले, लोकतन्त्र मानिसको व्यवहार र क्षमताले राम्रो वा नराम्रो बनाउँछ । यस्तै व्यवहार र क्षमता हेरेर जनताले आफ्ना शासक छान्दछन् । निर्वाचित भएका मानिस÷नेताहरू सत्ता उन्मादले जनउत्तरदायित्वबाट स्खलित हुन सक्ने सम्भावना रहन सक्ने हुनाले निर्वाचित नेताको कार्यकाल आवधिक हुन्छ । लोकतन्त्रमा दलीय पद्धति हुने भएकोले त्यस्ता नेतालाई दलहरूले जिम्मेवार र सक्षम बनाइरहन्छन् । यस्ता मान्यतालाई हामीले अपनाइरहेका छौँ ।
हामी अहिले लोकतान्त्रिक व्यवस्था उपभोग गरिरहेका छौँ । के हामी नेपाली जनता लोकतन्त्रको उपभोक्ता मात्र हौँ त ? होइनौँ । हामी जनता लोकतन्त्र स्थापनाका सहभागी योद्धा हौँ । लोकतन्त्र जनताको बलिदानी सङ्घर्षहरुबाट प्राप्त भएको राजनीतिक उपलब्धि हो । यसै पनि लोकतन्त्र भनेको जनताद्वारा, जनताका लागि, जनताको राज्यलाई लोकतन्त्र मानिन्छ । यसरी हेर्दा ‘लोक’ अर्थात् सबैको, सबै जनताको शासन हो भन्ने स्पष्ट हुन्छ । यो सैद्धान्तिक मान्यता हो । यो मान्यताको आधारमा यसलाई असल मानिएको हो । हामी सैद्धान्तिक वहस—विवाद बढी रुचाउँछौँ । त्यसैले, हामी व्यवहारिक हिसाबले कमजोर हुन्छौँ । सिद्धान्त अनुसार व्यवहार भए, नभएकोमा हामी बेखर रहन्छौँ । सिद्धान्त ठीक छ भनेर स्वीकार गरेपछि सिद्धान्त अनुसारको व्यवहार छ कि छैन भनेर खोजी गर्ने हो, खबरदारी गर्ने हो । प्रायः हामी अर्कै सिद्धान्तमा रहेर अर्कै व्यवहार खोज्दछौँ र दुःख पाउँछौं र पाइरहेका छौँ ।
आगोको ध्यान गरेर, जाप गरेर तातो हुँदैन । गुलियो वस्तुको सम्झना गरेर गुलियो वा तीतो, पिरो, टर्रोको ध्यान गरेर, जाप गरेर ती स्वाद आउने होइन । काँडा सम्झने बित्तिकै उसले घोच्दैन । पानी सम्झने बित्तिकै तिर्खा मेटिँदैन । खाना सम्झेर पेट भरिन्न । गन्तव्य घोकेर त्यहाँ पुगिँदैन । लोकतन्त्र पनि भाषण गरेर, भाषण सुनेर र चुनावमा सहभागि भएर मात्र बलियो हुँदैन । व्यवस्थाको मर्म आत्मसात गनुपर्ने हुन्छ ।
खोक्रा शब्दले होइन, व्यवहारले कुनै पनि वस्तु सही वा गलत हुन्छ । व्यवस्था र नेतृत्वमा पनि यही कुरा लागू हुन्छ । हाम्रो देशमा बहुदलीय व्यवस्था स्थापित हुनुअघि पञ्चायती व्यवस्था थियो । त्यसमा राजाले प्रत्यक्ष शासन गर्दथे । त्यस व्यवस्थाको विरुद्धमा राजनीतिक दलहरूको नेतृत्वमा जनताको सहभागितामा भएका क्रान्ति, आन्दोलनबाट राजाको शासन र पञ्चायती व्यवस्था हटेको हो ।
राजा र पञ्चायत हटेको राजा र पञ्चायत शब्द नराम्रा भएर होइन । रजाइँ गतिलो नभएर हो । राजा शब्द नै अगतिलो हुन्थ्यो भने अहिले पनि मानिसहरू ‘ज्वाइँ राजा, भाञ्जा राजा’ आदि किन भन्थे र ?
राजा शब्दको व्युत्पत्ति गर्दा रञ्जयतीति राजा अर्थात् जसले खुसी दिन्छ, त्यो राजा हो भनिएको छ । त्यस्तै, राजते प्रकाशते सुशोभित÷शोभायमान हुन्छ त्यो राजा भनिएको छ । जब राजाबाट खुसी र शोभा दिन नसक्ने, मानिसका मनमा दुःख र समाजमा कुरुपता दिने ठहर्याइयो, राजाको शासनको अन्त्यसँगै राजा पनि गए, राजा अब पूर्व राजा भए ।
शाब्दिक हिसाबले पञ्चायत भनेको पनि नराम्रो होइन । ‘पञ्च’ भनेको पाँच अर्थात् पाँचै प्रकारका पेसाजीवीहरू (योजनाकार विद्वानहरू, पराक्रमी योद्धाहरू, उत्पादन र वितरण कार्य गर्नेहरू, शिल्पी—कलाकारहरू, सेवा व्यवसायीहरू) सम्म सबैलाई समेटिएको ‘आयत’ भनेको फैलिएको भनिएको हो । यसरी हेर्दा पञ्चायती व्यवस्था समाजका सबै प्रकारका मानिसहरूलाई समेटिएको व्यवस्था हो । सिद्धान्त र मान्यता त असल नै देखियो, तर के राजा र पञ्चायतीहरू त्यस्तै सद्गुणी र सैद्धान्तिक रहे ? रहेनन् । अनि, उनीहरू पनि रहेनन्, अर्थात् गुण सिद्धिएपछि शक्ति सिद्धिन्छ । सैद्धान्तिक मान्यताबाट स्खलित भएपछि नेतृत्वकर्ता शक्ति (पार्टी) सँगै नेतृत्वकारी सिद्धान्त पनि बाँकी रहँदैन । अहिले नेपालको राजनीतिमा देखिँदै गरेको सिद्धान्तहीन अभ्यासका कारण व्यवस्थाप्रति नै जनतामा वितृष्णा बढ्दै गएको छ ।
शास्त्रीय मान्यता अनुसार राजालाई विष्णुका अवतार मानिन्छ । श्रीमद्भगवद्गीतामा कृष्णले स्वयं भनेका छन् ‘नराणां च नराधीपः’ अर्थात् मानिसहरूमा म राजा हुँ । तर, मानिसहरूले नरुचाएपछि कुनै शासन टिक्दैन । यो पञ्चायत र राजामा मात्र लागू हुने विषय होइन ।
राजाको पञ्चायत व्यवस्था उन्मुलन भएपछि दलको सिद्धान्तका आधारमा निर्वाचित नेताको नेतृत्वमा चल्ने व्यवस्था छ । नेता शब्दको व्युत्पत्ति हुन्छ— नयतीति लैजान्छ, लिएर जान्छ,
लिएर हिँड्छ जो वा जसले उही नेता हो । शास्त्रकै कुरा गर्ने हो भने नेता पनि विष्णुकै रूप मानिएका छन् । विष्णुसहस्रनामा विष्णुको नामको रूपमा नेता शब्द आएको छ । न्यायो नेता समीरण.....!
लोकतन्त्रमा दलको सिद्धान्त र नेताको चरित्र साह्रै महत्वपूर्ण हुन्छ । लोकतन्त्रमा राज्यले जनतालाई सबै कुरा दिने होइन, जनतालाई सशक्त र सक्षम बनाउने हो । जनता सशक्त हुँदा जनताले लोकतन्त्र महसुस गर्दछन् । जनताले महसुस गर्न सक्दा मात्र लोकतन्त्र बलियो भएको हुन्छ ।
बेला भइनसकेर होला, लोकतन्त्र परिपक्व नभएर होला अहिले लोकतन्त्र राज्यमा सीमित छ । गाउँ, समाजका मानिसहरूमा लोकतन्त्र राजनीतिक रूपमा मात्र आएको देखिन्छ । चुनावमा बेस्सरी लोकतन्त्र आएको देखिन्छ । लोकतन्त्रको सर्वोपरि व्याख्या नै त्यसरी भएको छ । ‘चुनाव नै लोकतन्त्र हो, लोकतन्त्र भनेकै चुनाव हो !’ पार्टीहरूको समर्थन र विरोध लोकतन्त्रको खास परिभाषामा समेटिएको देखिन्छ त्यतिबेला ।
बहुदलीय व्यवस्था भएको लोकतन्त्रमा लोकतन्त्रका वाहक राजनीतिक दलहरू हुन् । राजनीतिक नेता हुन् । अझ नेतृत्वबाट लोकतन्त्रको आस बढी गरिन्छ । परम्परागत नेतृत्व क्षमतामा प्रभावको विषय बढी हुन्छ भने आधुनिक लोकतान्त्रिक नेतृत्व क्षमतामा कर्म, कला र भावनाको बढ्ता महत्व हुन्छ ।
नेतृत्वकर्ताले २÷४ जना साथीहरूलाई मात्र महत्व दिने, साह्रै नजिकका मानिससँग मात्र सरसल्लाह गरेर अरुलाई पाखा लगाउनु वा लगाउन खोज्नु राम्रो मान्न सकिँदैन, तर के अरु नेताहरूले व्यापक जनता, पार्टी थाम्ने कार्यकर्ताको चिन्ता लागेर पार्टीभित्र न्याय जगाउने प्रणाली विकास गर्नकै लागि कसरत गरिरहेका छन् त ? अहँ, छैन । आपूmलाई सोधिएन, आपूmलाई श्रेय दिइएन, सफलताको श्रेय लिने टिममा आफ्नो नाम परेन वा यस्तै विषयमा खेतीपाती केन्द्रित गरिएको देखिन्छ । कार्यकर्ता व्यवस्थापन, जनताको बीचमा रहेर काम गर्ने कार्यकर्ताको गुनासो सुन्ने, पार्टीभित्र भत्किएको न्याय पुनःस्थापित गर्ने विषय कुनै नेताले उठाएको देखिँदैन । समाजमा लोकतन्त्र बलियो बनाउने गरी जनसशक्तिकरणका मुद्दा त उठेका छँदै छैनन् ।
नेताहरू हरेक चित्त नबुझेका विषयको बिस्कुन सुकाउँछन् । नेता भनेका त समन्वय गर्न, व्यवस्थापन गर्न सिपालु हुनुपर्ने होइन र ? नेताले शासन गर्ने, माग गर्ने, आलोचना गर्ने, विरोध गर्ने, गुनासो गर्ने, निन्दा गर्ने मात्र हो र ? जनताका कुरा कन ठूला नेताले उठाएका छन् र ? नेताका भेला—भजनमा जनता र राष्ट्रमाथि आइपरेका कुन समस्याको उठान भएको छ र ? नेताका आफ्नै समस्या समाधानका विषयमा सारा जनमत एकोहोरिन पर्ने के नै छ र ? चाहिँदा—नचाहिँदा खुराफातका लागि नाम चलेका पत्रिका टुप्पिदेखिको बल लगाएर लागिपरेकै छन् ।
लोकतन्त्रको दुर्दशा हेर्न टाढा जान या ठूलो अनुसन्धान गर्न पर्दैन । ट्याक्सी चढ्नुस्, ऊ मिटर गुड्न मान्दैन । ऊ तपाइँले भनेको गन्तव्यमा जान मान्दैन । तर, चालकका हिसाबले होस् वा व्यवसायीका हिसाबले, ऊ हाम्रै कुनै न कुनै पार्टीको संगठनमा संगठित छ । कृत्रिम बजारमा अभाव हुन्छ, त्यसो गर्ने व्यापारी कुने न कुनै पार्टी या नेताको निकट रहेको हुन्छ । सडकमा मानिस जताततै फोहोर गर्दै हिँड्छन्, धुम्रपान गर्दै या थुक्दै हिँड्छन्, अर्को कुनै सचेत र सज्जन मानिसले त्यो रोक्न सक्दैनन् । महिला हिंसा वा अन्य कुनै कसैको, बदमासीका विषयमा आममानिस बोल्न सक्ने अवस्था बनिसकेको छैन । कसैले कसैमाथि अन्याय गरिरहेको देख्दा पनि बोल्न र प्रतिवाद गर्न सकिने गरी लोकतन्त्र विकसित भइसकेको छैन । मानिसहरू अहिले फेसबुकमा लेख्न सक्ने भएका छन्, तर गलतको प्रतिवाद गर्ने गरी लोकतन्त्र ल्याउन पहल नै भएको छैन, वहस नै भएको छैन । मान्छे मरणासन्न छ या स्थिति अज्ञात छ, मन्त्री फोन उठाउँदैनन् । मन्त्रीले नभनी मातहतकाले टेर्दैनन् । यसरी लोकतन्त्र बलियो हुन्छ त ? यस्ता विषयमा सत्ताविरोधी (पार्टीभित्र) नेताहरू बोलेका छन् र ?
अहिले नेताहरूका विषयमा हुने गरेका क्रियाप्रतिक्रिया कस्ता छन् ? भ्रष्ट, कमाउनिष्ट, गुटबाज आदि । यस्तै विषयमा आक्रमण र बचाउका जेहाद छन् । नेताले आफ्ना ठाउँमा आफ्ना लागि लोकतन्त्र खोज्ने र त्यसका लागि हदैसम्मको रस्साकस्सी गरेका छन् । यी रस्साकस्सीका मुद्दामा जनता, कार्यकर्ता, सामाजिक न्याय, लोकतन्त्र विस्तार जस्ता विषय कतै देखिन्छ ?
पार्टीका स्थापना दिवस, नेताका जन्म दिन, स्मृति दिवसमा शुभकामनाका रंगीबिरंगी झण्डा, फोटा र शब्दगुच्छामा लोकतन्त्र देखिन्छ । व्यवस्थाको नाम र पार्टीको नामको सुन्दरताले मात्र लोकतन्त्र बलियो र सुन्दर हुँदैन । अब नाममा गुण भर्न लाग्नु आवश्यक छ ।