काठमाडौँ - सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एकपल्ट प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । नेपाल पर्वतारोहण संघले आशीर्वाद दिएको प्रसङ्ग उठाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डल फेरि एकचोटी प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको सुनाए ।
नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको दावी गर्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताए । अध्यक्ष प्रचण्डले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी गरे ।
राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि प्रचण्डले दावी गरे । ‘आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन,’ दाहालले भने ।
वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उनले बताएका छन् । उनले भने, ‘तपाईंहरुको आशीर्वाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाए सम्पूणर् रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ । किनकी मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति । यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु ।’