संसार आफ्नै रूपमा गतिशील छ । हावा, घाम, पानी, माटो, ताप सबै कसैप्रति भेद नगरीकन आफ्नै रूपमा रहेका देखिन्छन् तापनि निरन्तर परिवर्तन भइरहेका छन् । परिवर्तन नभएको कुरा केही पनि छैन । कुनै पक्षमा आएको परिवर्तनलाई हामी सहजै देख्छौँ, कुनैमा आएको परिवर्तनलाई अनुभव मात्रै गर्दछौँ र कुनैको परिवर्तनका विषयमा थाहा पाउँदैनौँ । हामीले देखेको होस् वा नहोस्, अनुभव गरेको होस् वा नहोस् तर सत्य त्यही हो, सबै कुरामा परिवर्तन भइरहेको छ । परिवर्तनकै कारण आज जन्मेको बालक भोलि दुई दिनको हुन्छ । जन्मेको समयभन्दा पछि बालकमा आइरहेको परिवर्तन आँखाले देखिँदैन तर पनि जन्मभन्दा अघिको अवस्था उसमा रहँदैन, प्राकृतिक रूपले नै उसका थुप्रै कुरामा परिवर्तन आइसकेको हुन्छ । बालकमा कतिपय परिवर्तन मानिसका सहयोगले आउँछन् भने कतिपय परिवर्तन प्राकृतिक रूपमा आएका हुन्छन् ।
सबै कुराको परिवर्तनका लागि प्राकृतिक गतिले काम गरेको जसरी नै मानिसले पनि कतिपय कुरामा परिवर्तन ल्याउनका लागि सहयोग गर्दछ । व्यक्तिविशेषको व्यावहारिक परिवर्तनका लागि प्रकृतिले काम गरेको हुन्छ भने कतिपय कुरामा अरु मानिसका सहयोगले काम गरेको हुन्छ । मानिसले थाहा पाउने केही विषय, वस्तु, घटना आदिमा आउने परिवर्तनलाई चासो लिन्छ । उसै गरी मानिसको नवजात शिशुको परिवर्तनलाई पनि नियाल्छ, चासो एवं चिन्ता राख्छ र परिवर्तनको अपेक्षा गर्दछ । यसलाई चाणक्यले आयुः कर्मञ्च वित्तञ्च विद्या निधनमेव च पञ्चैतानि हि सृज्यन्ते गर्भस्थस्यैव देहिनः भनेका छन् । आयु, कर्म, धन, विद्या र मृत्यु प्रत्येक प्राणीलाई गर्भमै निश्चित गरिएको हुन्छ भन्ने कुरा कति विज्ञानसम्मत र प्रामाणिक छ भन्ने आफैँ स्पष्ट छ । जन्मेपछि सास फेर्ने, रुने, खाने आदि अनेकौँ प्रकारका परिवर्तनको अपेक्षा अन्य मानिसले गरेका हुन्छन् । त्यो परिवर्तन मानिसहरुबाट ज्ञात हुन्छ । किनभने आफ्नो जीवनमा, परिवारमा, समाजमा र विश्वमानव समुदायमा एक नयाँ सदस्यको स्वागत गर्न तत्पर भएका मानिसहरुलाई प्राथमिक रूपमा सास फेरेको छ कि छैन, रोयो कि रोएको छैन, खान्छ कि खाँदैन आदि अनेकौँ परिवर्तनको चासो हुन्छ ।
समय, पर्यावरण, मानवीय उपस्थिति एवं भौतिक साधनको सघनता, सामाजिक व्यवहार, प्राकृतिक परिवेश आदि परिवर्तन गराउने अदृश्य तथा दृश्य अनेकौँ कारक तत्व हुन्छन् । यस कुरालाई साहित्यशास्त्र चन्द्रालोकमा कवि जयदेवले प्रतिभैव श्रुताभ्यास सहित कवितां प्रति । हेतुर्मृदम्बु सम्बद्ध बीजमाला लतामिव भन्ने श्लोकद्वारा बिरुवाले हुर्किनका लागि जसरी माटो, पानीसँगै बिउको आवश्यकता परेझैँ प्रतिभा, श्रुति र अभ्यास मानिसको जीवन निर्माणका लागि आवश्यक हुन्छन् भनेका छन् । आधुनिक शिक्षा शास्त्रले पनि मानिसको शिक्षाका आधारका रूपमा यिनै कुरालाई केही भिन्न शब्दमा बताएका छन् । यसरी भएको परिवर्तनबाट नै मानिसको सोचाइ र दृष्टिकोणको विकास हुन्छ । जग यसरी बसे पनि मानिसको परिवेश र प्रेरक तत्वमा आउने परिवर्तनले समयअनुसार सोचाइ र दृष्टिकोणलाई परिवर्तन गराउँछ । ठाउँ, समय र परिवेश फरक परेपछि पनि सोचमा र दृष्टिकोणमा फरक पर्दछ ।मानिसले सामाजिक परिवेश जस्तो पाउँछ, उसै अनुसारले आफ्नो स्वभावको र दृष्टिकोणको विकास गर्दछ भन्ने कुराको चर्चा माथि गरियो । सामान्यतया जन्मको समयदेखि नै सहयोगी परिवेश पाएको मानिसको स्वभाव सहयोगी नै हुन्छ । स्नेह, प्रेम, ममता पाएका मानिसको स्वभाव उसै प्रकारले विकास हुन्छ । ठगी, धोका र तिरस्कार पाएको मानिस उसै अनुसारको स्वभाव भएको हुन्छ । तर स्वभाव निर्माणका लागि प्रयास गरिएको छ भन्ने कुरलाई हेक्का नराखीकन बालकप्रति गरिएको माया वा स्नेह कतिपय अवस्थामा नकारात्मक प्रभाव पार्ने हुन्छ । त्यसै कारण मनभित्र माया भए पनि व्यवहार निर्माणका लागि बाहिर पुल्पुल्याउने गरी व्यवहार गर्नु हुँदैन । लालयेत् पञ्चवर्षाणि दशवर्षाणि ताडयेत् । प्राप्यते षोडशे वर्षे पुत्रं मित्रवदाचरेत् अर्थात् पाँच वर्षसम्म स्नेहको व्यवहार, दस वर्षसम्म शिक्षाका लागि कठोरता र सोह्र वर्ष वा त्यसभन्दा माथि आफूसरहको व्यवहार गर्नु भन्ने चाणक्यको भनाइ मानिसको स्वभाव निर्माणका लागि अत्यन्त गम्भीरतापूर्वक विचार गर्न योग्य देखिन्छ । ममताको व्यवहारले भएन भने अलिकति कठोर व्यवहार गरेर भए पनि असल शिक्षामा, असल काममा वा असल बानी निर्माण गर्नमा प्रेरित गराउनुपर्छ भन्ने व्यवहारसिद्ध छ । किनभने शिक्षा दिनुपर्दा सधैँ सबै ठाउँमा सबैलाई एकै प्रकारको व्यवहार र शैली उपयोगी नहुन सक्छ । त्यसको अनुकूलता हेरी सफलता प्राप्तिका लागि बाध्यात्मक वा प्रेरणात्मक उपायमध्येको कुन सजिलो हुन्छ, त्यही उपाय अपनाउनुपर्छ ।
सिकारुले बुझ्नका लागि भाषा प्रयोग गर्दा सजिलो हुन्छ कि व्यवहार गरेर देखाउनुपर्छ त्यसमा पनि विचार पु¥याउनै पर्दछ । किनभने सिप वा शिक्षाका प्रभावले दृष्टिकोण र सोचमा परिवर्तन आउनका लागि महत्वपूर्ण भूमिका खेल्दछ । दृष्टिकोण र सोचको विकास गर्ने क्रममा समय, ठाउँ र समाजका चिन्तनले भूमिका खेलिरहेको हुन्छ । यसको उदाहरणका रूपमा हवाइजहाजका आविष्कारक राइट दाजुभाइ, जीवविज्ञानका क्षेत्रमा प्रशस्त योगदान दिएका चाल्र्स डार्विन अथवा पृथ्वी सूर्यका वरिपरि घुम्छ भन्ने सिद्धान्तलाई प्रमाणित गर्ने ग्यालिलिओ ग्यालिली आदि वैज्ञानिक आविष्कारकलाई लिन सकिन्छ । त्यस बेला आफ्नो काम गर्दा समाजका मानिसहरुबाट उनीहरुले धेरै किसिमका असुविधा खेप्नुपरेको थियो भन्ने इतिहास पाइन्छ । आखिर सकारात्मक रूपले सोचेको हुँदा नै उनीहरुको दृष्टिकोण धेरै लामो समयपछि भए पनि प्रशंसनीय नै भयो । समाजमा विविध प्रकारले सोच्ने र विविध प्रकारको दृष्टिकोण भएका मानिसको प्रभाव परेका कारण उनीहरुको आविष्कारले प्रसिद्धि पाउन लामो समय लागेको हो । त्यसमा पनि सकारात्मक सोच भएका मानिसको सङ्ख्या कम हुनाले वास्तविकता बुझ्न संसारले ढिलो गरेको हो ।
सामान्यतया ज्ञान र सूचनाका बीच अन्तर हुन्छ । बाहिरबाट आफ्ना मनमा प्रवेश गर्ने सूचना हो भने आफ्ना मनमा उब्जिएर अर्काको चित्त बुझाउन सक्ने कुरा ज्ञान हो । त्यसो भए पनि ज्ञान र सूचनामा अत्यन्त गहिरो सम्बन्ध छ । ज्ञानले सूचना उत्पन्न गर्दछ र सूचनाले ज्ञानको वृद्धिमा सहयोग पु¥याउँछ । संसार ज्ञान र सूचनाको भण्डार हो भने समाज ज्ञानको उत्पादक र सूचनाको प्रचारक हो । सूचना लिने र ज्ञान आर्जन गर्ने क्षेत्रमा सामाजिक मानिसको प्रतिभा, प्रशिक्षण र सामाजिक परिवेशले प्रभाव पार्ने कुरो माथि नै उल्लेख भइसकेको छ । कुनै पनि वस्तुमा विविध पाटाहरु हुन्छन् । तिनीमध्ये सकारात्मक पक्षको अवलोकन गर्ने, सकारात्मक कोणबाट केलाउने बानी बसेको मानिसले त्यस वस्तुमा भएका नकारात्मक पक्षलाई पनि देख्छ । तर उसले नकारात्मक पक्षलाई महत्व नदिएर त्यसमा भएको सकारात्मक पक्षको अन्वेषण र विश्लेषण गर्छ । सकारात्मक वा नकारात्मक पक्षलाई हेर्ने स्वभाव जन्मजात गुणमा आधारित हुन्छ । त्यसैले शास्त्रमा क्रमेलको केलिवने प्रविष्य निरीक्षते कण्टकजालमेव भनिएको छ । यसको अर्थ बगैँचामा पसेको भए पनि ऊँटले काँडाका लहराहरु नै खोज्छ भन्ने हो । जब उसका मनले यो त रमाइलो गर्ने उपवन हो भन्ने बुझ्छ त्यस बेला उसलाई ज्ञान आउँछ र त्यहाँ काँडा भेट्दैन त्यसलाई सूचनाका रूपमा स्वीकार गर्न बाध्य हुनुपर्छ । संसारमा हरेक वस्तु एकअर्कासँग सम्बद्ध रहेका छन् । चिन्तन र सोचमा पनि यस्तो सम्बद्धता रहेको हुन्छ । कसैका मनमा कुनै भावना उठ्नका लागि उसले पहिले वस्तु, व्यक्ति वा घटनाका सम्मुख पुग्नुपर्छ । सृष्टिचक्रभित्र रहेका एक वस्तुले अर्का वस्तुको निर्माण, परिवर्तन र रूपान्तरणमा भूमिका खेलिरहेको हुन्छ । हामी यी तीन क्रियालाई नै ब्रह्मा, विष्णु र शिवको रूपमा पूजा गर्दछौँ । कुनै घटना उत्पन्न हुन पात्रको आवश्कता पर्दछ, पात्र भएपछि घटना वा विचार उत्पन्न हुन्छन् र तिनको विकासक्रम पनि उत्पन्न भएपछि नै हुन्छ । घटना वा विचारले विभिन्न मोड लिँदै परिवर्तन हुन्छन् र पहिलेको रूपबाट पूरै भिन्न बन्दछन् । घटना वा विचार भौतिक पदार्थ होइनन्, त्यसैले देखिँदैनन् । त्यहाँ पात्रको गतिविधि मात्रै देखिन्छ तापनि एकसमान अवस्थामा रहन सक्दैनन् । पात्रका रूपमा रहने व्यक्ति वा वस्तु भौतिक हुनाले त्यो देखिन्छ । देखिएपछि उसका विषयमा सजिलै बुझ्न सकिन्छ । व्यक्ति वा पात्रको उत्पत्ति पनि अर्को पात्रकै कारणले हुन्छ । ऊ हुर्कन्छ, र अन्य विविध पात्र अर्थात् वस्तु वा व्यक्तिका सान्निध्यमा अर्काबाटै प्रेरित हुँदै क्रियाप्रतिक्रियामा संलग्न हुन्छ र रूपान्तरण हुन्छ । त्यसो हुँदा विषालु सर्प वा झगडिया मानिसको स्वभाव पनि प्रकृतिका लागि कुनै न कुनै रूपमा प्रयोजनीय हुन्छन् । प्रशंसनीय दृष्टिकोणले मात्रै त्यस प्रयोजनलाई बुझ्छ र सकारात्मक सोचले त्यसबाट हुने क्रियाप्रतिक्रिया एवं परिणाममा हितकारी पक्ष फेला पार्दछ ।
जोसँग हरेक वस्तु, स्थान, व्यक्ति, घटना, समय वा विचारको हितकारी पक्षलाई खोज्ने प्रवृत्ति हुन्छ, उसैको सोच सकारात्मक हो र उसैको दृष्टिकोण प्रशंसनीय हो । सबै मानिससँग थोरै वा धेरै सकारात्मक सोच र प्रशंसनीय दृष्टिकोण हुन्छ । यस पुस्तकको उद्देश्य नै तिनको विकास गर्नु हो । किनभने कसैले पनि सय रुपियाँको क्षतिबाट जोगिनका लागि पाँच सय रुपियाँ ज्याला तिरेर कामदार खटाउँदैन । घान गोडेको घाँस गाईले खाने खालको छ भने त्यसलाई नालामा फाल्दैन । तर त्यसो भन्दैमा लगानीभन्दा प्रतिफलको मूल्य कम छ या बढी भनेर नबुझीकन काम गर्नाले धेरैपटक हाम्रो हानि भएको हुन्छ ।
जोसुकैले उचित समय, ठाउँ र परिवेश विचार गरेर सकारात्मक सोच र प्रशंसनीय दृष्टिकोणको प्रयोग गर्ने बानी बसाएको हुँदैन । आफूभित्र यस प्रकारको बानी विकास गर्दा न्यूनतम लगानीमा अधिकतम लाभ हुन्छ । यद्यपि त्यो लाभ केवल रुपियाँपैसा नै हुन्छ भन्ने छैन । मानसिक शान्ति र सन्तुष्टि अनि अगाडि बढ्ने प्रेरणा यसका प्रमुख उपलब्धि हुन् । त्यसैले यस्तो उपलब्धि एकैचोटि हासिल हुँदैन । यसलाई प्राप्त गर्नका लागि पहिले प्रशिक्षित हुनुपर्दछ र त्यसपछि अभ्यास गर्दै जानुपर्दछ ।
(लेखक चारै वेदका नेपाली अनुवादक, धेरै पुराणहरूलगायत दर्जनौँ पुस्तकका अनुवादकर्ता, पूर्वीय वाङ्मयका विद्वान, चिन्तक तथा प्रेरक हुनुहुन्छ ।)