काठमाडौँ, जेष्ठ ३२ ( अनलाईन बहस)
आज एक कार्यक्रम बीच हरि–विष्णु राष्ट्रिय ट्रष्टको विधिवत स्थापना गरियो । आफ्ना बुबा–आमाको सम्मान स्वरुप प्राडा तत्वप्रसाद तिम्सिना तथा सरला तिम्सिना द्वारा स्थापित उक्त ट्रष्टले हरेक वर्ष समस्यामा परेका केही बाल बालिकाहरुको आवाशीय शिक्षा, पोशाक, अध्ययन सामग्री आदिमा सहयोग गर्ने कुरा बताइयो । यस्ता कार्यहरु अघि बढाउन पाँच वर्ष भित्र रु. एक करोड राशी पुऱ्याउने लक्ष्यका साथ ट्रष्टले हरेक वर्ष रु. १२ लाख सम्म खर्च गर्ने र ट्रष्टको निक्षेप तथा सहयोग राशीलाई क्रमिकरुपमा बढाउंदै सहयोगका कार्यहरुलाई समेत विस्तार गर्नेे बताएको छ ।
भद्रपुर, झापालाई आफ्नो मूलथलो बनाउँदै आउनुभएका ९१ वर्षीय श्री हरि प्रसाद तिम्सिना स्थानीय क्षेत्रमा समाजसेवीका रुपमा चिनिनु हुन्छ । उहाँको संयोजनमा विगतमा धेरै विपन्न समुदायहरुले राहत लिन सकेको कुरा अवगत गराइयो । समाजिक न्याय, समानता आदि क्षेत्रमा उहाँले खेलेको भूमिका अतुलनीय रहेको कुरा बताउंदै ट्रष्टका अध्यक्ष समाजसेवी शारदा प्रसाद धितालले यस किसिमका पुनित कामहरु गर्न सबैले चासो राख्दै हाम्रो समाजमा सकारात्मक सोच तथा विकासको लहर चल्न सक्ने कुरा बताउनु भयो । यो ट्रष्टलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न एक तीन सदश्यीय समितिको स्थापना गरिएको र भविश्यमा यस्को संस्थागत विकासका निम्ति उपयुक्त संस्थाको सहकार्यमा ट्रष्टका कामलाई अघि बढाइने बताइयो ।
हरि–विष्णु राष्ट्रिय ट्रष्टको पहिलो सहयोग मार्फत पाँच जना विपन्न बालबालिकालाई आवाशीय रुपमा स्नातकसम्मको अध्ययनका निम्ति छनौट गरी सहयोग गर्ने कार्यक्रमको थालनी समेत गरिएको कुरा बताइयो । ट्रष्टको मुख्य कार्यालय कोटेश्वर, काठमाडौँमा रहने र यस्का कामहरु नेपाल लगायत अन्य विपन्न देशहरुमा समेत बिस्तार गर्न सकिने प्रावधान रहेको कुरा उक्त अवसरमा बताइयो ।