एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता मध्य एसियास्थित सोभियत संघकालीन दुईवटा पूर्व गणराज्यहरूको भ्रमण गर्न लागेको रुसी सरकारी टेलिभिजनले आइतबार जनाएको छ । गत २४ फ्रेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आदेश दिइएपछिको यो पुटिनको पहिलो विदेश यात्रा हुने भएको छ ।
युक्रेन युद्धको कारण दुवै पक्षमा हजारौं व्यक्तिको ज्यान जानुका साथै लाखौं युक्रेनी जनता विस्थापित भइसकेका छन् । यसै युद्धलाई लिएर पश्चिमी जगतले रुसमाथि लगाएको नाकाबन्दीका कारण आर्थिक अवस्था गम्भीर हुन थालेकाले अन्य शक्ति राष्ट्रहरू जस्तै चीन, भारत र इरानसँग व्यापारिक सम्बन्ध सुदृढ गरिनुपर्ने पुटिनको भनाइ रहेको छ ।
रोस्सिया १ स्टेट टेलिभिजन स्टेसनका क्रेमलिन मामिलासम्बन्धी संवाददाता पाभेल जारुविनका अनुसार पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणपछि मस्कोमा इन्डोनसियाली राष्ट्रपति जोको विदोदोसँग भेटवार्ता गर्नेछन् । त्यसै गरी, दुसान्वेमा पुटिनको रुसका निकतटम समर्थक तथा पूर्र्व सोभियत गणराज्यमा लामो समयदेखि सत्तासिन ताजिक राष्ट्रपति इमोमाली राख्मोनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
आस्गावातमा पुटिनले अजरबैजान, कजाखस्तान, इरान र तुर्कमेनिस्तानका नेताहरूसँगै क्यास्पियन मुलुकको शिखर बैठकमा सहभागिता जनाउने जारुविनले बताएका छन् । यसअघि, पुटिनले फेब्रुअरीको सुरुमा चीनको भ्रमण गरी चिनियाँ राष्ट्रपति सि चिनफिङसँग ‘असीमित मित्रता’ सम्झौताको सुरुवात गरेका थिए ।