हर्षोल्लासबिहीन यो दशैं !
आर्थिक मन्दी ! भ्रष्टाचारका आहाल !
हाल-चाल सारा बेहाल !
उता इजरायलबाट दु:खद खबर !
यता संत्रासै संत्रासमा घर-परिबार !
प्यालेस्टाइनमा हताहत !
इजराइलमा हताहत !
केकोलागि यो युद्ध ?
एक अज्ञात हैकम-पिपासु युद्ध !
एक उन्मुक्त देशको खोजीमा युद्ध !
जहाँ देश हराएका मान्छे बस्छन् ,
जहाँ नागरिकता गुमाएका अनागरिक बस्छन्
यस्तो लाग्छ,उनकालागि गुमाउनु बाँकी केही हुन्न ,
“ पाउनु “ भनेकै देश हो , एउटा निश्चित् भूगोल हो ,
एउटा जातिय पहिचान हो
एउटा स्वतन्त्र नागरिकको अनुभूति हो ।
तर .......
उनीहरू अहिले बिबशतापूर्ण युद्धमा होमिएका छन्
उनीहरू हाम्रा मीत्र हुन् ,
बिश्वबन्धुत्वको नाताले —
कोही पनि हाम्रा पराई छैनन् !
युद्ध हाम्रो अभिष्ट होइन
हत्या-हिंसा , बिनास हामी
कोही कसैको लक्ष होइन ।
कति मारिए युद्धभूमिमा
कति छन् अझपनि बेपत्ता त्यहाँ -
घाइते कति छन् , कति बंकरमा
अझ कति बस्छन् भयभीत रुपमा
यस्तो पिडामय क्षणमा आयो -
हाम्रो बिजया दशमी आयो ।
शुभकामनाका सन्देश छैनन्
बेदनाका क्यै उपहार हुन्नन्!
यत्र-तत्र औ सर्बत्र नै -
भ्रष्टतन्त्र औ लुटतन्त्र छ
यस्तो बेला कसरी म पठाऊँ ,
साथी तिमीलाई शुभसन्देश ?
छैन आशा , उत्साह-उमंग
सबतिर देख्छु मनै भरंग
फगत् आबरण सिंगार्न सकिन
अन्तर मनको ब्यथा जलन यो -
पठाउने तिमीलाई आँट भएन !
यो दशैंमा त दशामात्र भो ,
उपहार दिने ख्वै केही छैन
देशभरिको कल्मश फारी
अत्याचारमा आगो लगाई
अघि-अघि बढ्ने लक्ष लिएर -
उठ्न सके तिमी शक्तिशाली
बनेर राष्ट्रिय झण्डा उचाली ।