काठमाडौँ । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा किशोर महतोको पाँच विकेट प्रेरित नेपालले सोमबार तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट जिम्बाब्वे ‘ए’ माथि जित हात पारेको छ । । जितसँगै नेपालले तीन खेलको एक दिवसीय श्रृंखला २-१ ले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निणर्य गरेका थिए । त्यसपछि ब्याटिङ थालेको जिम्बाब्वे ‘ए’ ले निर्धारित ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको हो । २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
पहिलो खेलमा तीन विकेटले पराजित भएको थियो भने दोस्रो खेल नेपालले ९ विकेटले जितेको थियो । त्यसअघि सम्पन्न तीन खेलको ट्वान्टी-२० शृंखला १-१ को बराबरीमा टुंगिएको थियो । २१४ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका ओपनर कुशलले ६१ बलमा सात चौका र चार छक्कासहित ८४ रन बनाएका थिए । उनले पहिलो विकेटका लागि आसिफ शेखसँग ७३ रनको साझेदारी गरेका थिए । आसिफ २९ रन बनाएर आउट भए । लगत्तै नेपालका सुनील धमला र कुशल भुर्तेल पनि आउट भएका थिए ।
सुनिलले ६ रन जोडे । कुशल ८४ रन बनाएर आउट भए लगत्तै रोहितकुमार पौडेल पनि शून्यमा पवेलियन फर्किए । त्यसपपछि दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारीले नेपालको इनिङ्स सम्हाले । दीपेन्द्रसिंह ६० र विनोद भण्डारी २८ रनमा अविजित रहे ।
दीपेन्द्रसिंहले ४३ बलमा ४ चौका र तीन छक्का प्रहार गरे भने विनोदले २६ बलमा तीन चौका प्रहार गरे । दीपेन्द्रसिंह र विनोदले पाँचौं विकेटका लागि ८४ रनको अविजित साझेदारी गरे । जिम्बाब्वे ‘ए’ का ब्रान्डन मभुताले तीन विकेट लिए भने ब्राड इभान्सले एक विकेट लिए ।
त्यसअघि जिम्बाब्वे ‘ए’ का लागि मरुमनीले ३१ बलमा सात चौका र दुई छक्कासहित ५० रन बनाए । कुडजाई मौनजीले ३९ रन बनाए । रोय कियाले ३६ रन बनाउँदा सेफस हुवाओले १६ रन जोडे । कप्तान टोनी मुनयोन्गाले २४ रन जोडे । लुक जोङवेले १९ रन बनाउँदा ओपनर इनोसेन्ट काइयाले १२ रन बनाए । नेपालका किशोर महतो एक्लैले ५ विकेट लिए । किशोरले सात ओभरमा एक मेडनसहित ४३ रन दिएर पाँच विकेट लिएका हुन् । उनीबाहेक सोमपाल कामीले दुई विकेट लिँदा करण कसी र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।