मन्दिरमा रहेको समस्याको समाधान चर्चमा खोजेर पाइन्छ र ? पाइँदैन । नेपालमा रहेको सामाजिक समस्या समाधान गर्न अमेरिका, चीन, जापान, युरोपीय समाजको अध्ययन गरेर हुँदैन । अध्ययन गर्नु, जान्नु बुझ्नुको अर्थ होला, तर समाधान हुँदैन । जरामा समस्या छ भने टुप्पा काटछाँट गरेर हुँदैन । समस्या जहाँ छ, समाधान त्यहीँ खोजिनु पर्दछ । भनिन्छ नि— समस्या एक्लै आउँदैन, समाधान सहित आउँछ । नेपाली समाजमा जातीय विभेद छ । जातजाति धेरै हुनु राम्रो हो, जातीय विभेद हुनु राम्रो होइन । हाम्रो समाज जातिपातिमा आधारित समाज हो । हाम्रो संविधानमा नै हामीले यो कुरा स्वीकारेका छौँ र संविधानमा नै ‘बहुजातीय’ लेखिएको छ । तर के यसको तात्पर्य जातीय विभेद उचित भनिएको हो त ? होइन । यसको अर्थ हो, यहाँ धेरै जातजातिका मानिसहरू छौँ । हाम्रो संविधानमा स्वीकार गरिएको तथ्य हो यो । यसो हुनुमा हामी गौरवान्वित छौँ । छातीमा हात राखेर गाउँछौँ, ‘.......बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल.......जय जय नेपाल !’ यस्तो गाइरहँदा यस देशका सबै जाति, धर्म, संस्कृति, भूगोलका मानिसहरूमा उच्च मनोविज्ञान प्रस्फुटित भइरहेको हुन्छ । यो गाइरहँदा हामी आफै जातीय, भाषिक, साँस्कृति, भौगोलिक आदि विशालतामा समेटिइरहेको पाउँदछौँ । तर, यही मनोविज्ञान हाम्रो व्यवहारमा पाइँदैन । यसरी विभक्त मनोविज्ञानले हामी समृद्धिको गन्तव्यमा पुग्न सकिन्न ।
तर, जब हामी राष्ट्रगान गाएर छुट्दछौँ, तब हामी आफूलाई त्यो विशालताको एउटा अंश भएको विषय बिर्सन्छौँ र को ठूलो ? को सानो ? कुन संस्कृति ठूलो ? कुन धर्म ठूलो भन्नेतिर लाग्दछौँ, जब कि हामीलाई विशाल बनाएको कुनै एउटा धर्म, जाति, संस्कृति र भूगोलले त होइन । हामी जुनसुकै जाति, धर्म, संस्कृतिका अनुयायी भए पनि यतिबेला नेपाल रहेको भूगोलका धर्म, जाति, संस्कृति नै हाम्रा संस्कृति हुन् । यहाँका धर्म यहीँको प्रकृतिसापेक्ष छ । यहाँ संस्कृति यहाँको समाजसापेक्ष हुनुपर्छ । यहाँको सभ्यता यहीँको चेतनाको सापेक्ष हुन्छ । यी सबैले प्रकृतिको अनिवार्यता, मानवजीवनको सहजता, निरन्तर परिष्कारको अन्तर्वस्तु वहन गर्नु पर्दछ । सुरुमा हाम्रा पुर्खाले यसै गरेका हुन् ।
सामाजिक अवस्था जस्तोसुकै रहेको होस्, सबैले एकै प्रकारको काम गर्दा जनशक्तिको दुरुपयोग हुन्थ्यो । काम बाँडेर गर्दा काममा विविध आउँथ्यो, परिमाण र परिणाम दुबैमा वृद्धि हुनसक्थ्यो । त्यसैले कामका क्षेत्र बढाउँदै, कार्यविभाजन गर्दै धेरै क्षेत्रको विकासमा आपूmलाई विस्तार गरे । खोज—अनुसन्धान—ज्ञानको क्षेत्र, समूह÷समुदाय र उपलब्धिहरूको सुरक्षाको क्षेत्र, उत्पादन र वितरणको क्षेत्र, शिल्पकलाको क्षेत्र, सेवाको क्षेत्र गरी पाँच प्रकारका क्षेत्र विभाजन गरे । यी सबै विभाजनलाई सानो—ठूलो भनिएन । सबैलाई व्यवसायको दर्जा दिइयो ।
अहिले केही विरोधाभास सुनिन्छ, एकातिर वेदादि रचना वाहियात र काल्पनिक हुन् भन्ने र अर्कोतिर जातीय विभेदका लागि वेदादि रचनाहरूलाई नै दोषारोपण गर्ने । यदि वेदादि नै विभेदका जरा हुन् भने त्यही बुझेर छलफल गरौँ र विभेदमुक्त समाज बनाउन लागौँ । यसको लागि वेदलाई तिरष्कार गर्न भएन । यसलाई हामी सबैको साझा निधिको रूपमा स्वीकार गरौँ । पहिले जात बनाएर कार्यविभाजन भएको होइन, आवश्यकताको आधारमा काम विभाजन गरिएको हो भन्ने यथेष्ट प्रमाण फेला पर्दछन् । केही उदाहरण यस प्रकार छन् —
यस्यामन्नं व्रीहियवौ यस्या इमाः पञ्चकृष्टयः ।
भूम्यै पर्जन्यपत्न्यै नमोऽस्तुवर्षमेदसे ।। अर्थात्, जसमा धान, गहुँ, जौ आदि अन्न प्रशस्त हुन्छ, जहाँ पाँच किसिमका (विद्वान्, वीर, व्यापारी, शिल्पी र सेवक) मानिस आनन्दले रहन्छन्, जुन भूमिमा निश्चित समयमा झरी परेर अन्न फल्छ, जसलाई झरीले पोसेको छ, त्यस मातृभूमिलाई हाम्रो नमस्कार छ । (अथर्ववेद) आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामाराष्ट्रे राजन्यः शूर इषव्योतिव्याधी महारथो जायतां दोग्ध्री धेनुर्वोढानड्वानाशुः सप्तिः पुरन्ध्रिर्योषा जिष्णू रथेष्ठाः सभेयो युवास्य जायमानस्य वीरो जायतां निकामे निकामे नः पर्जन्यो वर्षतु फलवत्यो न ओषधयः पच्यन्तां योगक्षेमो नः कल्पन्ताम् ।अर्थात्, हे ब्रह्मन् ! यस राष्ट्रभरि ब्रह्मतेजले सम्पन्न ब्राह्मण तथा पराक्रमी, तीर हान्न सिपालु, आँटिला, शत्रु मार्ने, महारथी क्षत्रिय होऊन् । दुहुने गाई, भारी बोक्ने
गोरु, वेगवान् घोडा, ज्ञानीगुनी स्त्रीहरू असल स्वभावका होऊन् । रथीहरू विजयी, समाजका मानिस सज्जन र युवा वीर होऊन् । हामीलाई खाँचो परेका बेला पानी परोस् । हाम्रो राष्ट्रका बोटबिरुवा र बालीमा फल राम्ररी लागेको होस् र हामी सधैँ सकुशल सुरक्षित रहन पाऔँ । (यजुर्वेद) यसले पनि स्पष्ट पारेको छ ।
अर्को विरोधाभासको कारण हो, जाति र वर्ण बिचको भेद थाहा नहुनु । वेद—पुराणहरूमा ठाउँ ठाउँमा ब्रह्माको सृष्किा अपरिवर्तनीय चार जातको प्रसंग आउँछ । सामाजिक वर्णभेद कामका आधारमा गरिएको व्यवस्था हो । यसलाई कहीँ ब्राह्मण, क्ष्त्रि, वैश्य, शूद्र भनिएको छ भने माथि नै उल्लेख गरिसकिएको छ कि पेसा—व्यवसायका क्षेत्र पाँच थिए । यी चार या पाँच जति भए पनि सामाजिक वर्णभेद वा वर्णविभाजन हो । सृष्टिका अपरिवर्तनीय जात त चारवटा नै छन्— अण्डज, उद्भिज, स्वेदज र जरायुज हुन् । यही चार ‘जात’लाई टपक्क टिपेर ब्राह्मण, क्षेत्रि, वैश्य, शूद्रका रूपमा प्रचार गरियो । यति मात्र होइन, श्रेणी बनाएर सधैका लागि ‘जन्मजात’ तल्लो—माथिल्लो, उँचो—नीचो बनाइयो ।
यसरी हाम्रा पुर्खाले कामका काम बाँडेर उनीहरूलाई काम अनुसार पद—पहिचान दिए । तल्लो—माथिल्लो नभनीकन आफूहरूभित्रैबाट कार्यविभाजन भएको स्पष्ट छ । पछि पछि टाठा—बाठाहरूले कुन काम सानो, कुन काम ठूलो बनाएर यो वर्णविभाजनलाई स्थायी बनाए, यसको जिम्मा हाम्रा ऋषिपुर्खाहरूलाई दिनु उचित हुँदैन । जब जब धर्म—संस्कृतिमा राजनीति घुस्छ, मिसिन्छ, तब तब यसले शक्तिको सेवा गर्दछ । त्यसैले हामीले राज्यलाई धर्मनिरपेक्ष बनाउन परेको हो । जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्री, वैश्य, शूद्र वा म्लेच्छ हुँदैन । मानिसका गुण र कर्मद्वारा जातिको भेद छुट्याउन सकिन्छ । सबै प्राणी ब्रह्माबाटै उत्पन्न भएका हुन् भन्दैमा सबैलाई ब्राह्मण भन्न सकिन्छ र ? (शुक्रनीति) यिनै अनकौँ अध्ययनका आधारमा हुनुपर्छ, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभयो — ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’
वेद, पुराण, अन्य शास्त्रहरू महत्वपूर्ण हुन्, हाम्रा धर्म, संस्कृति, मूल्य—मान्यता, परम्परा, पुर्खाका खोजहरू झनै महत्वपूर्ण छन् । तथापि, अहिले हामीलाई शासन गर्ने, निर्देशित गर्ने, व्यवस्थापन गर्ने त मुलुकको संविधान र प्रचलित कानुनहरूको माध्यमबाट राज्यले नै हो । हामीले हाम्रा अधिकार उपभोग गर्न र दायित्व पूरा गर्ने अवसरहरूको खोजी यहीँ नै गर्नुपर्दछ । साहित्य, शास्त्र र संविधानमा लेखिएका सकारात्मक विषयको कार्यान्वयनका लागि पनि तत्परता र सकारात्मक सामाजिक मनोविज्ञान आवश्यक हुन्छ । अझ, सम्बन्धित समुदायमा थप आत्मोकर्षको चेतनाको विकास आवश्यक हुन्छ । जातीय विभेदको परम्पराले भ्रमलाई पनि सत्य जत्तिकै स्थापित गरेको छ । यहाँसम्म कि प्रकृतिका चराचर र जनजीवनको हित तथा कल्याणका लागि साधक ऋषि पुर्खाहरूद्वारा रचना एवं सञ्चय गरिएका वेदका कालजयी वचन तथा पुराणका प्रेरणादायी आख्यानहरूको समेत अनर्थ र दुरुपयोग गरिएको छ । अब बेला आइसकेको छ, हामीले मुलुकको संवैधानिक व्यवस्था, ऐन—कानुनका आधारमा आफूलाई सच्चा नागरिकका रूपमा उभ्याउनुपर्दछ ।
समाजमा जातीय विभेद रहनु, आपसमा छुवाछुतको व्यवहार गर्नु मुलुकको कानुनसम्मत त छैन नै, यो समाज विकासको समेत बाधकको रूपमा रहेको छ । यहाँसम्म कि यस्तो प्रचलन धर्मसम्मत पनि छैन । यसको दीर्घकालीन समाधान अवसरहरूमा दिइने आरक्षण मात्र होइन । वास्तविकतामा आधारित आमसामाजिक मनोविज्ञान र आत्मोत्कर्षको चेतनाको विकासको माध्यमबाट मात्र यसको दीर्घकालीन समाधान सम्भव छ ।
अब विभेदको अवस्थाका चित्रावलीको (Albam) प्रदर्शन गरेर होइन, आवश्यक ठाने वेद—शास्त्रका पाना पल्टाएर अघि बढ्न आवश्यक छ । यसका लागि सहभोज आदि सामाजिक सम्मिलनका भाषण तथा केही झिनो सहभागिताले होइन, व्यापक जनचेतना विस्तारको माध्यमबाट दीर्घकालीन समाधान खोज्न स्थानीय तहहरूमा ‘जाति उत्कर्ष’ कार्यक्रम सञ्चालन गर्नुपर्दछ । समाजका दलित अगुवाहरू, जनप्रतिनिधिहरू, शिक्षकहरू, विद्यालयका किशोर—किशोरीहरूका बिचमा ‘जाति उत्कर्ष’ कार्यक्रमहरू गर्न आवश्यक छ । हामी काम र जिम्मेवारीका सन्दर्भमा विभाजित रहेर पनि शत्रुका विरुद्ध एकजुट हुन आवश्यक छ ।