आज १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो । यस अवसरमा पूर्व सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनु भएको छ । आज जारी गर्नुभएको शुभकामना सन्देश यस प्रकार रहेको छ :
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रथम मानव पाइला टेकिएको ७० वर्ष पुगेको छ । नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथा आरोहण गरेको दिनको स्मृतिमा वि.सं. २०६४ देखि जेठ १५ (२९ मे) लाई ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’को रूपमा मनाउने परम्परा स्थापित भएको छ ।
संसारकै सबभन्दा अग्लो शिखर सगरमाथाको पहिलो आरोहण एक ऐतिहासिक घटना थियो, जसले नेपाललाई ‘सगरमाथाको देश’को रूपमा विश्वभर ख्याती र पहिचान दिलायो । त्यसयता पर्वतारोहणमा रुचि राख्ने संसारभरिका साहसी पर्यटकहरूका लागि सगरमाथा सपनाको गन्तव्य बनेको छ भने यसबाट हाम्रो देशको पर्यटन उद्योगको प्रवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुगेको छ ।
यस अवसरमा, सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाको स्मरण गर्दै हालसालै सगरमाथा आरोहण गरी विभिन्न ढङ्गले कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, हरिबहादुर बुढा मगर लगायत सम्पूर्ण सगरमाथा आरोहीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यसैगरी, विभिन्न समयमा सगरमाथा आरोहणको क्रममा अमूल्य जीवन गुमाउने आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट
गर्दछु । साथै, आरोहीहरूको जीवनको सुरक्षा एवं हिमालको स्वच्छता र सरसफाईको लागि आवश्यक व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यान आकर्षण गराउँछु ।
पर्वतारोहणमा प्रविधिको बढ्दो उपयोगका कारण सगरमाथा आरोहण पनि सुरुवाती साहसिक पर्यटनका तुलनामा लोकप्रिय हुँदै गएको छ । विश्वभरिबाट आरोहीहरूको सङ्ख्या समेत बढ्दै जाँदा सगरमाथामा मानवीय दवाब थपिंदै गएको हामी अनुभव गर्न सक्दछौं । यस्तो अवस्थामा विश्वको सर्वोच्च शिखर आरोहणको महत्व, शान र गौरव कायम रहनेगरी आरोहण पुनर्व्यवस्थापनका लागि पर्वतारोही, सम्बन्धित विषयका विज्ञहरू समेतको सहकार्यमा नेपाल सरकारबाट सहजीकरण हुन आवश्यक भएको तर्फसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।
विश्वको तेस्रो ध्रुव मानिने हाम्रो हिमाली क्षेत्रमा आज जलवायु परिवर्तनको प्रत्यक्ष असर देखा परिरहेको छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिउँ पग्लिने क्रम बढ्न गई हिमालहरू ‘काला पत्थर’मा परिणत हुँदै गरेको, हिमताल विस्फोटको जोखिम बढेको, वर्षातको प्रवृत्तिमा परिवर्तन भई अनावृष्टि, अतिवृष्टिका साथै बाढी र पहिरो लगायतका प्राकृतिक विपद्को हामीले सामना गर्नुपरिरहेको छ ।
प्रकृतिप्रदत्त अमूल्य सम्पदाको रूपमा रहेको सगरमाथासँगै हाम्रा हिमालहरूको स्वच्छता कायम राखी प्रकृति र वातावरण संरक्षणमा विश्व समुदायसँग मिलेर काम गर्न यस दिवसले हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु ।