काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । आज (शुक्रबार) अपरान्ह गृहमन्त्री र कानुनमन्त्री ओली निवास बालकोट पुगेका हुन् ।
गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीका अनुसार नागरिकता विधेयकबारे छलफल गर्न दुई मन्त्री ओली भेट्न गएका हुन् । सरकारको नागरिकता विधेयक अघि बढाउने तयारी छ । त्यसका लागि दलीय सहमति जुटाउन सरकारका मन्त्रीले प्रमुख विपक्षी दललाई विश्वासमा लिने प्रयासमा लागेको बुझिएको छ ।
पछिल्लो समय गृहमन्त्री खाँणलगायतका मन्त्रीहरुले नागरिकता विधेयकबारे छलफल तीव्र बनाएका छन् । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस भएको छ ।