समृद्धिलाई केवल आर्थिक रूपमा मात्र नहेरी व्यक्तिको समग्र विकासका सन्दर्भमा हेरिनु पर्दछ । अझ कतिपयले त ‘विश्व खुसी सूचकाङ्ग’ मा राम्रो मानिने देशनै समृद्ध देश हुन् भन्ने गरेको पाइन्छ । ‘वल्र्ड हयाप्पिनेस रिपोर्ट– २०१८ अनुसार नेपाल १०१ औं स्थानमा छ । १५६ देशमा गरिएको यस अध्ययन अनुसार भारत हामी भन्दा निकै पछि १३३ औं स्थानमा छ (वल्र्ड हयाप्पिनेस रिपोर्ट, २०१८) । खुसीका निम्ति सबैले नमूनाका रूपमा लिने भूटान पनि नेपाल भन्दा चार स्थान माथि अर्थात् ९७ मा छ ।
बैङ्गको खातामा भएको पैसाले मात्र जीवनमा खुसी नआउन सक्छ । किनकि, पैसाले घर किन्न सकिएला, परिवार किन्न सकिंदैन, राम्रो ओछ्यान किन्न सकिएला तर निद्रा किन्न सकिदैन । सामान्य विकासभन्दा माथिको अवस्था हो समृध्दि, जहाँ मानिसहरू आÇना आधारभूत आवश्यकता सहजै परिपूर्ति गरी जीवनको मूल्य र आदर्श बुझी समाजको विकासमा अग्रसर हुन्छन् । समृद्ध समाजमा मानिसहरू खुसीयालीपूर्ण जीवन निर्वाह गर्छन् ।
कुनै पनि देश विकसित हुँदैमा समग्र जनता समृद्ध हुन्छन् नै भन्ने छैन । अमेरिका, बेलायत जस्ता धनी देशहरूमा पनि माग्नेहरूको संख्या अत्यधिक हुने गर्छ । ती देशहरूका जनताहरूमा पनि नैराश्यता व्याप्त हुने गर्छ । पेरु, ग्वाटेमाला जस्ता गरीब देशहरूका १ लाख जनतामा सरदर एकजनाले मात्र वर्षेनी आत्महत्या गर्छन् भने फ्रान्स, जापान जस्ता धनी देशहरूमा १ लाख जनतामा सरदर २५ जनाले वर्षेनी आत्महत्या गर्ने गर्छन । सन् १९८५ मा विपन्न अवस्थामा रहेको दक्षिण कोरियामा त्यसबेला १ लाखमा करिब ९ जनाले आत्महत्या गर्थे भने हाल यो संख्या बढेर ३० पुगेको छ (हरारी, २०१७) । विकास समतामूलक हुनुपर्छ, हरेक जनताले गौरव गर्न लायकको हुनुपर्छ । विकासलाई आमनागरिकको समृद्धि–तर्फ परिलक्षित गर्नुपर्दछ, अन्यथा विकासले भ्रम र गरिबी सिर्जना गर्न सक्छ । असन्तुलित विकासका कारण नागरिकहरू झन् असुरक्षित महसुस गर्न सक्छन् ।
कसरी हाँस्ने ?
सयौँ वर्षको इतिहास र सात दशक लामो प्रजातान्त्रिक अभ्यासपछि पनि नेपालको समग्र अवस्था अझै कमजोर नै छ । हाम्रै अवस्था रहेका वा हामीसँगै विकास अभियान थालेका धेरै राष्ट्रहरू हामीभन्दा धेरै अघि पुगिसकेका छन् । विभिन्न सूचकहरूले हाम्रो अवस्था निकै कमजोर बताएका छन् । यस्तो अवस्थामा नारायण गोपालको गीत ‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ !’ सान्दर्भिक छ । संयुक्त राष्ट्रसंघले विकासका सन्दर्भमा ‘तिम्रो अवस्था केही सुधार भयो है’ भन्दा ‘हामी अझै कमजोर नै छौँ, त्यसो नभन्देऊ’ भन्ने अवस्था हाम्रो छ ।
विश्व आर्थिक मञ्च (वल्ड इकोनोमिक फोरम)को सहयोगमा तयार पारिएको एक प्रतिवेदन अनुसार इन्भारोन्मेन्ट पर्फमेन्स इन्डेक्स –सन् २०१८ (वातावरणीय कार्य सम्पादन सूचक) ले अध्ययनमा संलग्न १८० देशमध्ये नेपालको अवस्था १७६ रहेको बताइयो, जुन अत्यन्तै लज्जास्पद हो । विश्व बैङ्कले निकाल्ने प्रतिवेदन लजिस्टिक पर्फमेन्स इन्डेक्स अनुसार सन् २०१८ मा १६० देशमध्ये नेपाल ११४ मा परेको छ । यस्तै, ट्रान्सपेरेन्सी इन्टरनेशनलले निकालेको करप्सन पर्सेप्सन इन्डेक्स २०१८ अनुसार नेपाल १७५ देशमध्ये १२२ मा पर्न गयो । वल्र्ड इकोनोमिक फोरमले निकालेको ग्लोबल ह्यूमन क्यापिटल इन्डेक्स –२०१७ अनुसार १३० देशमध्ये नेपालको अवस्था ९८ मा रह्यो । वल्र्ड इकोनोमिक फोरमले नै निकालेको ‘ग्लोबल कम्पिटिटिभ रिपोर्ट २०१८ अनुसार १३७ देशमध्ये नेपाल ८८ मा दर्जा भयो । यसैगरी १२६ देशलाई आधारमानी निकालिएको ग्लोबल इन्नोभेसन इन्डेक्स २०१८ मा नेपाल १०८ स्थानमा रहृयो । रिपोर्टस विथाउट बोडर्सले निकालेको ‘वल्र्ड प्रेस फ्रिड्म इन्डेक्स २०१८ मा १८० देशमध्ये नेपालको अवस्था १०६ मा रहृयो । ‘इन्डेक्स अफ इकोनोमिक फोरम २०१६ अनुसार १७८ देशमध्ये १५२, इज अफ डुइङ्क बिजिनेस – २०१९ अनुसार १९० मा ११० र अत्यन्त कम प्रतिव्यक्ति गार्हस्थ उत्पादनको २०१६ को प्रतिवेदन अनुसार १८७ राष्ट्रमा नेपाल १६९ मा पर्न गयो । विभिन्न सूचाङ्गहरू मध्ये बढी प्रचलित ‘हृयुमन डेभ्लपमेन्ट इन्डेक्स –२०१७ अनुसार १८९ राष्ट्रहरूमध्ये नेपाल १४९ मा परेको छ । यस्तो अवस्थामा सचेत व्यक्तिहरूलाई हाँसो नआउन सक्छ, ऊ खुसी नहुन सक्छ ।
यस्तो अवस्थामा आउने हाँसो काल्पनिक वा व्यङ्कात्मक हुन सक्छ । हाँसोको सम्बन्ध पनि हाम्रो मस्तिष्कमा हुन्छ, हाम्रो मन खुसी भए मस्तिष्कले हामीलाई हाँस्ने अनुमति दिन्छ
। अन्यथा हामी निराश हुन सक्छौं । यी अधिकांश सूचकहरूको प्राप्ति राज्यको इमान्दारिता तथा प्रतिबद्धतामा भरपर्छ । सबैलाई समान व्यवहार गर्ने, प्रेशलाई स्वतन्त्र तथा जिम्मेवार बनाउने, भ्रष्टाचारमा सून्य सहनशीलता कायम राख्ने, आयोजनाहरू छिटो छरितो ढङ्कले अघि बढाउने, कम्पनी दर्तामा सहजता ल्याउने आदि कार्यबाट हाम्रो छविमा सुधार हुन्छ । यी यस्ता कार्यहरू हुन् जसको कार्यान्वयनमा अतिरिक्त खर्च लाग्दैन । यसको निम्ति राज्यको प्रतिबध्दता र कार्य सम्पादनमा अनुशासन नै पर्याप्त छ ।
हाँसो वा खुसीबारे गरिएका अनुसन्धानहरूले मानिस खुसी हुन धेरै कुराहरू मिल्नुपर्ने बताउँछन । आफू आफ्नो जीवनप्रति कति सन्तुष्ट भइएको छ, त्यसैका आधारमा खुसीपनको निर्धारण हुन्छ । खुसीपनले समग्र शरीरमा नै सकारात्मक ऊर्जा उत्पादन गर्छ । मनोविद्हरू भन्छन्, हामी आÇनो खुसीपनलाई आफैं नियन्त्रण गर्न सक्छौं । ध्यान, सकारात्मक सोच, योग आदिका माध्यमबाट जीवनलाई थप खुसी बनाउन सकिन्छ भन्ने राय पनि उनीहरूको छ । सन् १७२२ मा बेलायतका जोसेफ प्रिस्ट्लेले पत्ता लगाएको नाइट्रस अक्साइडले मान्छेलाई कृत्रिम रूपमा हसाउँछ । त्यसैले यसलाई ‘लाफिङ्क ग्यास’ पनि भनिन्छ । सुरुमा एनेस्थेसियाको रूपमा प्रयोग गरिएको यो ग्यासको मात्रा शरीरमा बढी भए मानिसको मृत्युसम्म हुन सक्छ । यसको नियन्त्रित प्रयोगबाट मानिसको मन हलका हुने, हँसाउने र दुःख कम हुने गर्छ र शरीरमा बढी हुँदा अक्सिजनको मात्रा कम गराउँछ । नाइट्रस अक्साइडले मस्तिष्कमा डोपामाइनको उत्सर्जनलाई बढाउँछ, जसको मुख्य काम मानिसलाई खुसी पार्नु हो ।
सबै कुरा भुलेर हाँस्दा माथि उधृत नारायण गोपालको गीत जस्तो हुन्छ । यहाँ ‘शोकलाई शक्तिमा बदलौँ’ भन्ने भनाइ बढी नै सान्दर्भिक होला । विश्वव्यापी सन्दर्भमा हाम्रो अवस्था निकै कमजोर भए तापनि सचेत व्यक्ति वा संस्थाका निम्ति यो एउटा अवसर पनि हो । यस्तै अवस्था भएकोले केही राम्रा काम गरे त्यसको प्रतिफल तुरुन्तै देखिन थाल्नेछ र यी विश्वस्तरीय सूचकाङ्गमा हाम्रो स्तर पनि माथि उक्लन थाल्नेछ । यो क्रम बढ्दै गएपछि पीँधमा रहेको अहिलेको अवस्था माथि उक्लिन थाल्नेछ । क्रमिकरूपमा हामी पनि एउटा समृद्ध मुलुकका नागरिकका रूपमा आफ्नो पहिचान दिन थाल्ने छौं । हराएको हाम्रो हाँसो बिस्तारै फर्किन सक्छ ।
संविधान सभाको तर्जुमापछि सन् २०१७ को अन्त्यमा भएको संघीय संसदको निर्वाचनमा ‘हाँस्न पाइने वा नपाइने’ भन्ने चुनावी मुद्दा नै बन्यो । यो छलफल अहिलेसम्म पनि जारी नै छ । समग्रमा राजनीति गर्नेहरू सबैजना हाँसुन् भन्ने नै चाहान्छन्, तर जनतालाई हाँस्न नदिने बाधाहरूलाई परास्त गर्ने तर्फ भने उनीहरूको ध्यान कमै जाने गर्छ । देशलाई समृद्ध बनाउन सक्ने हो भने पक्कै पनि सबै जनताको मुहारमा हाँसो आंउनेछ । यसले हाम्रो खुसीपनको स्तरलाई पनि माथि उठाउँछ ।
निष्कर्ष
हाम्रो देशले त्यति महत्व नदिए पनि विश्वव्यापी रूपमा समृद्धि र विज्ञान तथा प्रविधि एक अर्काका परिपूरक रहँदै आएका छन् । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा मार्फत देशलाई अघि बढाउने अठोट लिएको छ । जनताको चाहना समृद्धि हो, तर विज्ञान–प्रविधि तथा इन्नोभेसनको प्राथमिकता बिना यो सम्भव छैन ।
हामीलाई समृद्ध बन्न नदिने कारकहरू हामीभित्र नै छन् । गर्न चाहनेलाई रोक्ने कार्यमा हाम्रो नोकरशाही खप्पिस छ । निर्णय प्रक्रिया र बजेट निर्धारण गर्ने समूहको सोच अन्यत्रै छ । अधिकांश यस्तो समूह आफ्नै भलाई र समृद्धिको निम्ति नै बढी चिन्तित रहन्छ । यो क्रम विगत कैयन् दशकदेखि चलिआएको छ । यसलाई नतोडेसम्म समग्र जनताको समृद्धिको सपना समेत पूरा हुन सक्दैन ।
विश्वव्यापीकरणको उच्चतम अवस्थामा पुगिरहेको अहिलेको सन्दर्भमा अन्य देशहरू तथा त्यहाँ भएका काम तथा उपलब्धिहरूबाट सिक्दै हाम्रो आफ्नो अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । समृद्धिको मुख्य उद्देश्य नागरिकको अनुहारमा हाँसो ल्याउनु हो, हाँसो छाउनु हो । कुनै पनि देश कति समृद्ध छ भन्ने कुरा त्यस देशका जनता कति खुसी छन् भन्नेबाट पुष्टि हुन्छ । विभिन्न सूचकहरूमा सुधार ल्याई यो हाँसो प्राप्त गर्न सकिन्छ । राज्य प्रतिबद्ध भए यो अत्यन्तै सहज ढङ्कबाट प्राप्त गर्न सकिन्छ । जन उत्तरदायी सरकारको निम्ति यो एउटा सरल र प्रभावकारी उपाय पनि हो ।
(लेखक पीएचडी सेन्टरका प्राज्ञिक सल्लाहकार तथा आइसीए नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)