images
images

‘नेपाली उत्पादनले बजारको माग धान्न सकेको छैन’

काठमाडौं, पुस १ (रासस)
नेपाल हस्तकला महासङ्का अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामग्रीले बजारको माग धान्न नसकेको बताएका  छन । उनका अनुसार विश्व बजारमा नेपाली हस्तकलाको राम्रो माग रहेकाले यहाँ उत्पादित वार्षिक रु १२ अर्बका हस्तकलाका सामग्री निर्यात हुनाका साथै नेपाली बजारमासमेत यस्ता सामग्रीको माग बढ्दो छ ।

अध्यक्ष शाक्यले भने, “हातले बनाएका सामग्रीमध्ये  फेल्कबाट उत्पादित सामग्री मात्र वार्षिक रु पाँच अर्बभन्दा माथिको कारोबार हुने गरेको छ । त्यसैगरी पश्मिना, हातेकागज, काष्ठकलालगायत सामग्रीको व्यापार पनि बढी हुने गरेको छ ।”
हस्तकलाको सामान उत्पादनमा महिलाको सहभागिता ८० प्रतिशतभन्दा बढी छ । यस्ता समान बनाएरै परिवार चलाउँदै आएकी दाङकी राजकुमारी चौधरीले भने, “टोकरी, गमला, पूजादानी, चकटीलगायत सामान बनाउने गरेको छु । सुरुवाती चरणको व्यवसाय भए पनि व्यापार सन्तोषजनक हुनाका साथै घर खर्च पनि चलेको छ ।”

त्यस्तै कटनबाट उत्पादित सामग्रीको व्यापार गर्ने ललितपुरकी हसना महर्जनले भन, “नेपाली उत्पादन  बलियो  राम्रो र सस्तो पनि हुन्छ ।”
हस्तकलाका लागि आवश्यक कच्चापदार्थ भारत, चीन, स्वीडजरल्याण्ड, दुबईलगायत देशबाट आयात हुने गरेको छ । उत्पादित यस्ता सामानको माग स्वदेशभन्दा विदेशमा राम्रो रहेको अध्यक्ष शाक्यले बताउए ।

विदेशी पर्यटक घुम्न आउँदा हस्तकलाको सामान बढी खरिद गर्ने गरेको पाइन्छ । हालै सम्पन्न एक  हस्तकला व्यापार मेलामा सहभागी भएकी फिनल्यान्डकी पर्यटक रुट भाराले नेपालको सामान राम्रो र गुणस्तरीय भएका कारण आफूलाई धेरै मनपर्ने बताइन ।
सोही मेलमा पश्मिनाको सामान खरिद गरेकी फिनल्याण्डकी टेरी तेरिस्कोनटीले भन्छिन, “हातबाट बनाइएका सामग्री भरपर्दो, सुन्दर र मूल्य पनि सन्तोषजनक हुने भएकाले स्वदेश फर्किदा पनि  नेपाली सामान नै खरिद गरेर लैजान्छु ।”

हस्तकलाका सामान नेपालमै  कम उत्पादन हुने भएकाले मागअनुसार निर्यात गर्न नसकिएको अध्यक्ष शाक्यको भनाइ थियो । देशमा दक्षजनशक्ति कम हुँदा स्थानीयस्तरमा उत्पादित सामग्रीसमेत खेर गइरहेको बताउँदै उनले सरकाले तालिमको व्यवस्था गरे रोजगारका लागि विदेश धाउन नपर्ने र स्वदेशी उत्पादनले नै विदेशी मुद्रा भित्रिने उल्लेख गरे ।