काठमाडौँ - सर्वोच्च अदालतमा आजदेखि प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा सुनुवाइ सुरु हुँदैछ । सरकारले पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका धीरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।
बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको भन्दै पोखरेलले रिट दायर गरेका थिए ।
वरिष्ठता क्रम मिचेर सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा परेको मुद्दामा आज पूर्ण सुनुवाइ हुने भएको हो । सो रिटमा सर्वोच्च अदालतले यसअघि नै अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।
मन्त्रिपरिषद् बैठकले १८ वैशाखमा पहिलो र दोस्रो वरीयतामा रहेका एआईजीलाई छाडेर तेस्रो वरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले यसअघि वैशाख २२ गते लिखित जवाफ माग गर्दै अन्तरिम जारी गर्न अस्वीकार गरेको थियो । सोही इजलासले मुद्दाको अन्तिम सुनुवाइ मंगलबार (जेठ १७ गतेबाट) गर्ने आदेशसमेत सुनाएको थियो ।
तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने अदालतको आदेशमा उल्लेख थियो । सोही अनुसार आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो ।