images
images

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित

काठमाडौं, १६ असोज(रासस) : एसियाली क्रिकेट अन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

 

भारतले प्रस्तुत गरेको २०३ रनको विशाल लक्ष पछ्याएको नेपालले ९ विकेट गुमाएर एक सय ७९ रन मात्र बनाउन सकेको थियो । यद्यपि  भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य थियो । 

  

 नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । यसैगरी कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कुशल मल्लले २९, कप्तान रोहित पौडेलले ३, सन्दीप जोराले २९, सोमपाल कामीले ७, गुल्सन झाले ६, करन केसीले अविजित १८ तथा सन्दीप लामिछानेले ५ रन बनाए । भारतका खेलाडीहरु रवी बिस्नोई र अभेष खानले समान ३–३ विकेट लिएका थिए । अर्सदीप सिंहले २ तथा साई किशोरले १ विकेट लिए ।

    

यसअघि टस जितेर भारतले पहिले ब्याटिङ गरेको थियो । भारतका लागि यशस्वी जयसवालले एक सय रन बनाए । उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । साथै ऋतुराज गायक्वाडले २५, शिभम दुबेले २५ तथा रिन्कु सिंहले आक्रामक ३७ रन बनाएका थिए । नेपाली बलर दीपेन्द्रसिंह ऐरीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान एकएक विकेट लिएका थिए ।

 

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिर भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।