images
images

ऊँट खेल उद्यानमा पसेर पनि काँडा नै खोज्दछ !

मानिस सुख, शान्ति र समृद्धि चाहन्छ । सुख, शान्ति रसमृद्धिख प्राप्त गर्नु नै मानिसको सफलता हो । यस्तो अवस्थाका लागि बाहिरी अवरोध छन् भने संघर्ष गर्नु पर्ने हुन सक्दछ । बाहिरी अवरोध भनेको आफूले मात्र गरेर संभव नै नहुने विषयहरू हुन्छन् । तर, अधिकांशतः मानिसहरूको सफलताको विषय बाहिरी विषय हुँदैनन् । कदाचित बाहिरी विषय भइहाले पनि त्यसलाई एक्लो संघर्षले जितिदैन । आफ्नो एक्लैको काबुभन्दा बाहिरको, अरु धेरै मानिसहरूलाई समेत संगठित गरेर लडिने लडाइँ संघर्ष हो । 

 

यस्तो हो भने मानिसका क्रियाकलाप संघर्ष हुन सक्दछन् । यदि, अवस्था यस्तो होइन भने संघर्ष होइन—सकारात्मक सोच राखौँ, आफूमा रहेको क्षमताको पहिचान गरौँ, आफूनिकट रहेका अवसर र स्रोत—साधनको लेखाजोखा गरौँ, उपयुक्त योजना बनाऔँ र काममा जुटिहालौँ ।  कमजोरी र अस्तव्यस्तता जहाँ पनि हुन सक्दछ । यसको लेखा—जोखा र खोजीनीतिले हाम्रो मन—मस्तिष्कलाई त्यतैतिर मोडिदिन्छ । जटिलताहरूलाई हाम्रासामु पसारिदिन्छ । जसले हाम्रासामु विद्यमान अवसर र संभावनाहरूलाई ढपक्क ढाकिदिन सक्दछ । भनिन्छ, ‘क्रमेलको केलिबने प्रविश्य निरीक्षते कण्टकजालमेव ।’ अर्थात्, ऊँट खेल मैदान,  उपवनमा पसेर पनि काँडाघारी नै खोज्दछ ।  मानिस संसारको सर्वसचेत प्राणी हो । त्यसैले यसले असजिलो र जटिलताहरू खेज्दै र पसार्दै हिँड्ने होइन । बरु— सजिलो, संभावना र अवसरको खोजी गरी जीवनलाई सुख र शान्ति प्राप्तितिर डोऱ्याउनु पर्दछ ।   ‘हरेक अन्यायका बिरुद्ध बिद्रोह गर्नु पर्दछ ।’ बिद्रोह गर्नु भनेको ऊर्जा खर्चनु हो । कुनै पनि खर्चले उपलब्धिको अपेक्षा गरेको हुन्छ । 

 

यो बिद्रोह भन्ने ठाउँमा न्यायपूर्ण समाज निर्माण गर्न प्रतिबद्ध हुनुपर्छ भन्दा राम्रो हुँदैन र ? अन्धकारलाई ठेगान लगाउँछु भन्ने ठाउँमा उज्यालो पार्ने कुरा उल्लेख गर्न सकिदैन र ? ठीकै छ, तर अन्याय कस्तो खालको छ ? बिद्रोह भनेको कसैका बिरुद्ध उभिनु वा कुनै खास व्यवस्थाको अवज्ञा हो । आफूलाई अन्याय भएको लागिरहेको विषय नियम—कानुन बनेका छन् कि छैनन् ? यदि, नियम—कानुन बनेका छैनन् वा नियम—कानुन नै अन्यायी प्रकृतिका छन् भने कुनै एक्लो मानिसको बिद्रोहले होइन, संगठित प्रयत्नले मात्र सफलता हासिल गर्न सकिन्छ । उपयुक्त नियम—कानुन बनेको तर, कार्यान्वयन नभएको विषय हो भने लक्षित मानिसहरूमा सचेतना बढाई सम्बन्धित सरोकारवालासँग उपयुक्त समन्वय तथा उपयुक्त बुझाइ विकास गर्नु आवश्यक हुन्छ । 

 

कुनै अवस्थालाई फेर्नुपर्ने छ भने बिद्रोह गर्नुपर्ने पक्ष अवश्य रहन्छ । तर, बिद्रोहको निशाना एउटा हुन्छ भने त्यसका लागि समन्वय र संगठित गर्नुपर्ने पक्ष बढी र फराकिलो हुन्छ । जुन पक्ष बढी, फराकिलो र निर्णायक हुन्छ त्यसलाई समन्वय गर्ने विषय प्रमुख पक्ष हो । अनि, कसरी बिद्रोहको स्वर ठूलो पारेर विषयलाई भयावह बनाउने ? त्यसैले बिद्रोह होइन, प्रतिबद्ध होऔँ, समन्वय गरौँ, संगठित होऔँ ।

 

‘यो काम चुनौतीपूर्ण छ ।’ साँच्चै चुनौतीपूर्ण, अत्यन्तै असजिलो छ भने तपाइँ त्यही काम किन गर्दै हुनुहुन्छ ? त्यो काम गर्न बाध्य पारिनु भएको हो ? तपाइँले यो काम नगरे के हुन्छ ? नगरी नहुने छ, यो काम गरेबापत तपाइँलाई ठूलै लाभ हातलाग्नेवाला छ भने तपाइँ यो काम चुनौतीका कारणले होइन, त्यसबापत प्राप्त हुने लाभका लागि गर्दै हुनुहुन्छ भने भन्नुस् न—‘यस कामका पछाडि मेरो ठूलो उपलब्धिले पर्खेर बसेको छ ।’  राजनीतिमा प्रयोग गरिने अनाकर्षक चुनौती, बाधा, संघर्ष, बिद्रोह, आधीतुफान, विध्वंश, सफायाआदि जस्ताशब्दावलीका ठाउँमा जीवन, समृद्धि, सहभागिता, सहकार्य, समन्वय, सिर्जना, समभाव, समन्यायआदि शब्दावली सम्प्रेषण र सोही अनुसारको ब्यबहार देख्न पाए अलि आकर्षण बढ्थ्यो कि ?  एउटा विद्यार्थीले चुनौतीका लागि होइन र चुनौती ठानेर होइन, उज्यालो भविष्यका लागि र त्यही नै देखेर पढ्नु पर्छ, न कि कठोर चुनौतीहरूका लागि ।  चुनोती होइन, अवसर र संभावना देख्नुस्, उज्यालो भविष्य देख्नुस् र अघि बढनुस् । चुनौती बहन गर्ने या त्यसलाई बोकेर हिँड्ने भरिया नबन्नुस्, चुनौतीका लागि तपाइँ चुनौती बनिदिनुस् । हरेक चुनौतीहरूलाई अवसरको रुपमा स्वीकार गर्नुस् र अघि बढ्नुस् ।

 

‘मेरासामु बाधा—ब्यवधानहरूको चाङ् लागेको छ’ होइन, ‘मैले पूरा गर्नुपर्ने  जिम्मेवारीहरू धेरै छन् ।’ ‘सबैभन्दा पहिले समस्याहरूको पहिचान गर्नु पर्दछ’ होइन, हाम्रासामु रहेका संभावनाहरू पहिल्याउनुपर्छ ।  ‘सहिदको रगतले स्वतन्त्र र अटल’ किन ? ‘सहिदका पौरखले स्वतन्त्र र अटल’ भन्दा उपयुक्त हुन्छ । ‘आर्थिक समृद्धि : संभावना र चुनौतीहरू’ होइन, ‘आर्थिक समृद्धि : संभावना र अवसरहरू ।’ ‘नेपालको आर्थतन्त्रका समस्याहरू’ होइन, ‘नेपालको आर्थतन्त्रका संभावनाहरू ।’
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)