चाणक्य सूत्रमा लेखिएको छ, अर्थस्य मूलं राज्यम् अर्थात् अर्थको मूल राज्य हो । अन्य धेरै पूर्वीय र पाश्चात्य विद्वानहरूले पनि अर्थ र राजनीतिको सम्बन्धबारे लेखेका छन् । राजनीति भनेको राज्य सञ्चालन गर्ने—राजकाज गर्ने, सरकार चलाउने भएको हुनाले पनि राज्यसम्बन्धी विषय भएको स्पष्ट रूपमा बुझ्न सकिन्छ । पछिल्लो समय हामीले राजनीतिक अर्थशास्त्र भन्ने पनि सुन्दैआएका छौँ । राजनीति र राज्यलाई अर्थसँग जोड्ने सजिलो सूत्र चाणक्यसूत्रमा पाइनुले पूर्वीय दर्शन, सिद्धान्त र मान्यता यस्तो विषयमा अगाडि रहेको पुष्टि हुन्छ । यहाँ उल्लेख गरिएको त एउटा सूत्र मात्र हो, चाणक्य सूत्रमा राजनीति, राज्य र अर्थका विषयमा धेरै कुरा अध्ययन गर्न, जान्न बुझ्न पाइन्छ । हाल चलनचल्तीका समाजवादी, पुँजीवादी, उदारवादी, नवउदारवादी, बजारमुखी, राज्यनियन्त्रित आदि आर्थिक सिद्धान्त तथा नीति अपनाउने वा अपनाइरहेकाहरूले पनि चाणक्यसूत्र पढ्दा राम्रै हुनेछ । पश्चिमका धेरै अर्थशास्त्रीका विषय मात्र पढेकाहरूले एक पटक चाणक्यसूत्र पनि पढून् भन्ने आग्रह समेत हो ।
राज्यले न्याय र नीति व्यवस्थाविना धन सङ्ग्रह गर्न सम्भव छैन । राज्यमा अनेकौँ नीतिहरू हुन्छन् । व्यापार र नीतिहरूले नै उद्योगहरूले महत्व पाउँछन् र त्यसबाट व्यापारी मात्र होइन, मजदुर आदि अन्य वर्गले पनि जीविकोपार्जनका लागि धन सङग्रह गर्दछन् । जुन राज्यमा अव्यवस्था फैलिन्छ, त्यहाँका प्रजा(जनता—नागरिक)मा दरिद्रता र अनिकाल हुन्छ । त्यसैले राज्यको आधार धन हो भनिएको छ ।
अर्थको स्रोत राज्य हो र राज्यको स्रोत अर्थ हो । यस वाक्यले देखाउन खोजेका कुरा यिनै दुईवटा हुन् । यस प्रसङ्गमा अर्थ भन्ने शब्दले धन बोध गराएको छ । धन सबैका जीवनको आधार हो । धनको सम्बन्ध मानिससँग जति नजिकको छ र राज्यको पनि उति नै नजिक सम्बन्ध रहेको छ । राज्य र धन एक—अर्कामा पूरक हुन्छन् । व्यक्ति राज्यको एकाई हो भने राज्य व्यक्तिहरूको सङ्गठित रूप हो । त्यसैले व्यक्तिलाई जीवन निर्वाह गर्न पनि राज्य र धन नै चाहिन्छ भने राज्यले गतिशील हुनका लागि पनि धनकै आवश्यकता पर्दछ । धन मानिसको शक्ति पनि हो र कमजोरी पनि हो । अरु प्राणीका तुलनामा मानिसलाई प्रकृतिले शारीरिक शक्तिमा कमजोर राखेको छ, त्यस क्षतिलाई मानिसले बुद्धिले प्रयोग गरेको छ । मानिसको बौद्धिक विकासमा पनि राज्य र धनको भूमिका उल्लेखनीय छ । राज्य सञ्चालनमा बौद्धिक क्षमताका साथसाथै धनको पनि उत्तिकै आवश्यकता पर्दछ र जीवन निर्वाहमा पनि धनको एवं राज्यको आवश्यकता पर्दछ । धन र राज्य मानिसका साधन हुन् भने जीवनको उन्नति मानिसको साध्य हो । राज्यको गठन जीवनहरूको समग्रताबाट भएको हो । व्यक्तिको जीवन अस्थायी हुन्छ तर तिनै अनेकौँ अस्थायी जीवनहरूबाट स्थायी राज्यको स्थायी सङ्गठन निर्माण भएको हुन्छ । मानवीय जीवनको शृङ्खलालाई अक्षुण्ण राख्ने उद्देश्यले नै राज्यको गठन र धनको प्रचलन भएको हो । आजको मानिस भोलि रहँदैन, तर यहाँ भएका सबै मानिस एकै पटकमा मासिएर अर्को पुस्ता पनि आउँदैन । एक्ला—एक्लै मानिसहरू जन्मन्छन् र प्राकृतिक प्रवाहका रूपमा समाजमा आफूलाई सामेल गरी जीवन निर्वाह गर्दै जीवनको यात्रा पूरा गर्दछन् । यस क्रममा आजका मानिसले आफूभन्दा अलिकति अघिल्लो पुस्तालाई पनि देख्छ र अलिकति पछिल्लो पुस्तालाई पनि भेट्छ । यही सिलसिलाले मानव प्रवाह गतिशील छ र यसकै नाम समाज हो । संसारभरिका समग्र मानिसको एक समूहको एक भौगोलिक बसाइको नाम राज्य हो । त्यहाँ आफ्नो नियम—कानुन, शासन व्यवस्था, इतिहास, भूगोल, भाषा, भेष, संस्कृति, चालचलन आदि सबै कुराको मर्यादा निर्धारण गरिएको हुन्छ । ती कुनै पनि विषयको एउटै सीमामा संसारभरिका सम्पूर्ण मानिसहरू नै आबद्ध हुन सम्भव हुँदैन । त्यसैले मानवीय एकतालाई बलियो पार्न राज्यका रूपमा प्रत्येक समूहको बलियो व्यवस्था भएको बनाइएको हो । आआफ्ना समूहको सुखसुविधा आआफ्नै समूहले गर्ने, आआफ्ना भूगोलको सुरक्षा आआफूले गर्ने व्यवस्था हो ।
त्यस्तो अवस्थामा आफ्नो समूह र आफ्नो भू—क्षेत्रलाई सुव्यस्थित गराउनका लागि धनले महत्वपूर्ण भूमिका खेल्छ । आफ्ना समूहमा नभएको वस्तु अर्काका समूहबाट पाउनका लागि धनलाई सजिलोसँग अघि सार्न सकिन्छ । एकै समूहका विभिन्न व्यक्तिका बिचमा पनि अभाव परेको वस्तु वा सेवा धनले पूरा गराउने व्यवस्था गरिएको हो । यसरी थोरथोरै जनसङ्ख्या र ससानो ठाउँ भएमा व्यवस्था गर्न सजिलो हुन्छ भन्ने भावनाले राज्यको व्यवस्था गरिएको हो । राज्यको सञ्चालन धनबाट गरिएको हुन्छ । धनले राज्य समृद्ध रह्यो भने त्यहाँका मानिस सुखी र खुसी हुन्छन् । अनि मानिसहरू सुखी र खुसी रहे भने राज्यलाई समुन्नत र समृद्ध बनाउँछन् । त्यसैले राज्य र मानिसका बिचको शृङ्खला जोड्नमा धनको भूमिका ठूलो रहेको हुन्छ । धनले समृद्ध भएपछि राज्य बलियो हुन्छ र राज्य गतिलो भयो भने मानिसले धन कमाउँछन् । त्यसैले मानिस र राज्यका बिचको कडी धन हो । त्यसको विपरीत विपन्नता पनि त्यस्तै हुन्छ ।
मानिसको चासो सम्पन्नतामा छ, त्यसैले विपन्नताको चर्चा आवश्यक छैन । मानिसको आवश्यकतामा आएका परिवर्तनले स्वभावमा परिवर्तन ल्यायो । न्यायोचित रूपमा वितरण हुनुपर्ने ठाउँमा अर्काको भाग खोस्ने बानी बस्न लाग्यो अर्थात् शोषण हुन थाल्यो । एकातिर माथि उल्लेख भएको वाक्य, ‘अर्थस्य मूलं राज्यम् अर्थात् अर्थको मूल राज्य हो’ जस्ता नैतिक र नियमका कुराहरू अघि सारिए अर्कातिर स्वच्छन्दता उसरी नै बढ्यो ।
आज संसारका धेरै राज्यहरूमा अशान्ति र दुःखद अवस्थाहरू छन् । यसको मूल कारण नै राज्य र राजनीति हो । राज्य र राजनीतिलाई धनका लोभले धमिल्याएपछि न मानिसका जीवनको लक्ष्य पूरा हुन्छ न त राज्यको नै । राजनीतिको लक्ष्य सुरक्षित रहनु र उन्नतिमा लाग्नु हो । त्यसो गर्दा अर्काको हानि नहोस् र अर्को पनि आफू जस्तै हो भन्ने विवेक राख्नुपर्ने हुन्छ । अरु प्राणीको जस्तो मानिसको जीवन एक्लै बाँच्न सक्ने गरी स्वतन्त्र छैन । उसले राज्य, धन, समाज सबैसँग न्यायोचित व्यवहार गर्नुपर्छ र पाउनु पनि पर्छ । राजनीतिको मूल मर्म त्यही हो ।
सत्ताको राजनीति जहिले पनि सत्ता खोस्ने र सत्ता जोगाउने अनि सत्तामा पुगेर आफ्नो स्वार्थमा राज्यको धन दुरूपयोग गर्ने हुनु हुँदैन । त्यसो गर्दा मानव मात्रका लागि अनिवार्य र पवित्र विषय राजनीतिप्रति मानिसको भावना विकृत हुन्छ । सत्ता खोस्ने र जोगाउनेहरूले सत्ताकै खेल मात्रै खेल्दा धन, राजनीति र जीवन सबै अस्तव्यस्त हुन्छ र आज कैयौँ देशमा भएकै छ । त्यसलाई नै राजनीतिका नाममा खेलिएको फोहोरी खेल भन्नुपर्छ । हाम्रो देश नेपालमा पनि यस्तै भइरहेको देखिन्छ । त्यस्ता खेलले आज संसारमा जनता झुक्किएका छन् र राजनीतिको मर्म पनि हराएको छ । नेताका व्यवहारले राज र नीति दुईलाई छुट्याउनु हुँदैन । त्यसरी छुट्याएर राज जति नेताका भागमा अनि नीति वा ऐन—कानुनले जनतालाई बाँध्ने प्रयास गर्दा धन, राज्य र जीवन सबैमा दुःखद अवस्था आउँछ । अहिलेको राजनीति कता कता त्यस्तो हुँदै गएको देखिँदै पनि छ ।
राजनीति स्वच्छ हुँदा राज्य स्वच्छ हुन्छ । राजनीति बलियो र सुध्रिएको हुँदा राज्य पनि बलियो र सुध्रिएको हुन्छ । बलियो र सुध्रिएको राजनीतिले समाजलाई समृद्ध र समुन्नत बनाउन सक्दछ । समृद्ध र समुन्नत समाज नै खुसी र सुखी हुन्छ । त्यसैले राजनीतिलाई अर्थसँग जोड्नुपर्छ तर विकृत पार्नु हुँदैन ।
(लेखक चारै वेदसहित पूर्वीय वाङ्मयका दर्जनौँ पुस्तकका नेपाली रूपान्तरकर्ता, पूर्वीय वाङ्मयका ज्ञाता र उत्प्रेरक अभियन्ता हुनुहुन्छ ।)