अधिकांश मानिसहरू ‘ठुला’ मानिसहरूका बारेमा सोच्ने गर्दछन् । यिनीहरूमध्ये केही मानिसहरू आफू पनि ‘ठुलो’ मानिस बन्न पाए हुन्थ्यो भन्ने पनि सोच्दछन् । अनि, केही मानिस ‘ठुलो’ हुनका लागि ‘भाग्यमानी’ भएर जन्मनु पर्छ भन्ने सोचेर काम चलाउँछन् भने केही चाहिँ जन्मदा सबै उस्तै हुने, तर आफैले केही गरेर ‘भाग्यमानी’ बन्न सकिने विचार राख्दछन् । कसैकसैले चाहिँ कोही मानिस ‘ठलो’ बन्न ‘वातावरण’ आवश्यक हुने पनि भन्दछन् । ‘भाग्य’को कुरा परै राखौँ । किन भने भाग्य भनेको ‘भाग लगाउन योग्य’ भनिएको हो । जस्ता कि, पैतृक सम्पत्ती । पौरख गर्ने विषय पैतृक सम्पत्तीमा अंश पाउने जस्तो हुँदैन ।
‘वातावरण’को कुरा गरौँ । के एउटै पारिवारिक र भौतिक ‘वातावरण’मा जन्मेका सबै मानिस उत्तिकै ‘ठुला’ र ‘नाम चलेका’ छन् त ? अवश्य छैनन् । ‘ठुला’ भएका, भनिएका, मानिएका, देखिएकाहरू पनि सबैले एउटै काम गरेका छैनन् । ‘ठुला’हरूमध्ये कोही विद्वान, नेता, दार्शनिक, वैज्ञानिक, योगी, कलाकार, खेलाडी आदि फरकफरक छन् । सबै उत्तिकै कोही छैनन् । एकै घरका, एउटै आमाबाका सन्तान पनि उस्तै र उत्तिकै ‘ठुला’ छैनन् । यस्ता अनेकौँ उदाहरणहरू हाम्रासामु छन् ।
हाम्रो समाजमा सामान्य र साना कुरा सोच्दै नसोच्ने, सामान्य र साना कुरा बोल्दै नबोल्नेहरूलाई ‘ठुलो’ मान्ने वा मान्न पर्ने प्रचलन रहेको छ । तर, वास्तविकता भने यसको ठीक विपरित छ । किन कि, विशिष्टभन्दा सामान्य नै महत्वपूर्ण हुन्छ । सामान्य सर्वत्र विद्यमान छ भने विशिष्ट कहिलेकाहीँ र कताकति मात्र देखिन्छ । के कुरा साँचो हो भने सर्वत्र विद्यमान जति महत्वपूर्ण हुन्छ, कहिलेकाहीँ र कताकति मात्र देखिने त्यति महत्वपूर्ण होइन ।
विशिष्टको आधार सामान्य नै हो, सामान्यको आधार कहिल्यै पनि विशिष्ट हुन सक्दैन । त्यसैले, भन्न सकिन्छ कि वास्तवमा सामान्य नै विशिष्ट हो । किन कि कुनै पनि कुराको अधार महत्वपूर्ण हुने गर्दछ । जस्तो, घर बनाउन जग महत्वपूर्ण हुन्छ, शिक्षामा अक्षर महत्वपूर्ण हुन्छ, ठुलो रुख हुनको लागि बिउ महत्वपूर्ण हुन्छ, नदी बन्न पानीको थोपा महत्वपूर्ण हुन्छ, आदि आदि । कुनै पनि विद्वान, नेता, दार्शनिक, वैज्ञानिक, योगी, कलाकार, खेलाडी आदि जन्मजात भएका हुँदैनन् । जन्म र वातावरणले मात्र कोही पनि ठुलो हुन सक्दैन । केही गुण जन्मदा देखि नै आएको होला, केही वातावरणले दियो होला, तर ठुलो हुनका लागि त आफैले केही गर्नै पर्ने हुन्छ ।
‘केही गर्ने’ भनेको के हो त ? ‘केही गर्नु’ अघि मानिसका मनमा प्रश्नहरू जन्मनु पर्दछ । यी प्रश्न जस्ता लाग्ने भावहरू वास्तवमा मानिसका जिज्ञासा हुन्छन् । मूलतः यही जिज्ञासाले नै मानिसको ‘केही बन्ने’ दिशा र गति निर्धारण गर्दछ । यो जिज्ञासाको दायराको अनुपातमा नै मानिसको सफलताको दायरा सुनिश्चित हुने गर्दछ । हामी सधैँ केही न केही गरिरहेका र सफल पनि भइरहेका हुन्छौँ । तर, हामी ठुलो मानिस बन्न सकिरहेका हुँदैनौँ । किन ? किन कि हाम्रो सोचाइको दायराले नै हाम्रो कामको दिशा, गन्तव्य र गति निर्धारण गर्दछ ।
हामीले आइज्याक न्यूटन (Isaac Newton)ले को नाम सुनेका छौँ । इङ्गल्याण्ड (बेलायत) मा २५ डिसेम्बर, १६४२ मा जन्मेका यी व्यक्ति कहलिएका वैज्ञानिक हुन् । विश्वविद्यालय/विद्यालयका पाठ्य पुस्तकहरूमा यिनको विषयमा पढाइन्छ । तर, उनका विषयमा किन पढिन्छ र किन पढाइन्छ भन्ने विषयमा न सबै विद्यार्थीलाई थाहा छ न सबै शिक्षकहरूलाई । उनको बारेमा पढेर जानिने बाहिरी विषय उनी को हुन् ? कहाँ जन्मेका हुन् ? उनले के गरे ? भनेर जान्नु नै हो । उनको बारेमा पढेर जान्नुपर्ने भित्री विषय पनि छन् । त्यो हो, मानिसको ज्ञानको आधार र स्रोत प्रश्न र जिज्ञासा नै हो, जसले मानिसलाई ठुलो मानिस बनाइदिन्छ । हामीले जस्तो जिज्ञासा राख्छौँ, आफूलाई त्यसैको उत्कर्षमा पुऱ्याउन सक्छौँ । भनिन्छ—‘सोचले खोज, खोजले व्यवहार, ब्यवहारले परिणाम, परिणामले प्रभाव र प्रभावले परिवर्तन ल्याउँछ ।’
संसारले उनलाई ठुलो मान्ने र धेरैले चिन्ने केले बनायो भन्ने विषयमा एउटा सानो घटना उल्लेख गरिन्छ । उनी बगैँचामा गएका रहेकाछन् । त्यहाँ उनी स्याउको बोटमुनि बसेको बेलामा एउटा स्याउ खसेछ । उनको मनमा प्रबल जिज्ञासा उब्जेछ—‘स्याउ भुइँमा किन खस्यो ?’ उनी यही जिज्ञासाको समाधानमा जुटे र पृथ्वीको गुरुत्वाकर्षण शक्तिका कारण कुनै पनि वस्तु तलतिरै खस्ने निष्कर्ष पत्तो लगाए । यसका साथै, उनले पृथ्वीको गुरुत्वाकर्षण मापन गर्ने सिद्धान्तसमेत प्रतिपादन गरे । यो काम उनले ई.सन् १६८७ मा सम्पन्न गरे । आइज्याक न्यूटन (Isaac Newton)ले यही सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिकका रुपमा परिचित छन् ।
उनीभन्दा पहिले पनि बगैँचा थियो । मानिस बगैँचामा जान्थे । पहिले पनि स्याउ त्यसरी नै भुइँमा नै खस्थ्यो । पाकेका सबै फल संसारका सबै बगैँचामा यसरी नै भुइँमा नै खस्थे । तर, मानिसहरूमा यसको कुनै जिज्ञासा जागेन । किन कि यो मानिसहरूका लागि सामान्य विषय थियो । किन कि आम मानिसहरू सामान्यमा कमै ध्यान दिन्छन्, जबकि सामान्य नै विशिष्टताको आधार हो । सबै विशिष्टहरू सामान्यबाट नै हुर्केका हुन्छन्, तर कुनै पनि सामान्य विशिष्टबाट जन्मदैनन् । यही सामान्य जिज्ञासाले नै आइज्याक न्यूटन (Isaac Newton) ले लाई सर आइज्याक न्यूटन (Sir Isaac Newton) ले का नाममा संसारभरि प्रसिद्ध बनायो । आफैभित्र उब्जेको सामान्य प्रश्नले सामान्य न्यूटनलाई विशिष्ट बनायो ।
हामीले सर आइज्याक न्यूटन (Sir Isaac Newton) ले बाट सिक्न सक्छौँ : कुनै पनि काम वा प्रश्न या जिज्ञासा महत्वहीन हुँदैनन् । सबै काम, सबै प्रश्न, सबै जिज्ञासा महत्वपूर्ण हुन्छन् । महत्व दिने या नदिने त्यो मानिसको दृष्टिकोणको विषय हो । नभएका कुरा, अर्काले गरेको ठुला कुराभन्दा आफ्नै वरिपरिका सामान्य र आफूले गर्न सक्ने कामले नै मानिसलाई ठुलो र महत्वपूर्ण सफलता दिलाउन सक्छ, ‘ठुलो’ मानिस बनाउन सक्छ ।
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)