जनमतका दृष्टिले नेपालको सबैभन्दा ठुलो राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी—लेनिनवादी) जसलाई छोटकरीमा नेकपा एमाले भनेर चिनिन्छ । यो दल अहिले महाकाली किनारमा रहेको झुलाघाटदेखि पाँचथर जिल्लाको चिवाभञ्ज्याङ (च्याङ्थापु) सम्मको यात्रामा छ । एमालेले यसलाई ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ भनेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय सङ्कल्पलाई आफ्नो लक्ष बनाएको एमालेले यस सङ्कल्प यात्रालाई नेपालको मध्यपहाडी भूभागका जनतालाई जोड्ने सघन अभियानका रूपमा लिएको देखिन्छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भनिएको यो अभियान मङ्सिर १४, २०८० बाट सुरू भयो र पुस २, २०८० मा काठमाडौँमा सम्पन्न भएको घोषणा गरिने छ । सुदूरपश्चिमको वैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ (च्याङथापु) सम्मको यो यात्रा १८७९ किलोमिटरको हुनेछ । यस यात्रमा पार्टीका मूलतः केन्दीय पदाधिकारीहरूको सहभागिता रहेको छ । सम्बन्धित प्रदेश, सम्बन्धित जिल्लाका केन्द्रीय स्तरका नेता, जनसङ्गठनका नेता, सङ्घीय सांसद, प्रदेश सभा सदस्यहरू, स्थानीय सरकारका पदाधिकारी तथा सदस्यहरूलाई सम्बन्धित ठाउँहरूमा जुट्ने र स्थानीयहरूसँग नेतृत्वको भेटघाट गराइदिने काममा सङ्लग्न गराउने गरिएको छ ।
पार्टीका केही नेताहरूले यस क्षेत्रका फरक फरक ठाउँ र समयमा भ्रमण गरेको भए पनि पार्टीका अधिवेशनहरूमा सहभागी हुने या आमसभालाई सम्बोधन गर्ने काम मात्र हुन्थ्यो । पार्टी प्रतिवेदन र स्मारिकाहरू एवं केही इतिहासका पानाहरू पढेर यी ठाउँहरूका बारेमा जानकारी लिइएको हुन्थ्यो । तर यस पटक त्यस्तो नभएर स्थलगत रूपमा स्वयं पुगेर त्यहाँ बोलिने भाषा, अवलम्बन गरिएका धर्म, विकास गरिएका संस्कृति, त्यहाँको प्रकृति र त्यहाँको प्राकृतिक विविधता र विशेषता, सामाजिक शैक्षिक तथा भौतिक विकासको अवस्था बुझ्ने, स्थानीयहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गर्ने काम भइरहेको देखिन्छ । एउटा परिपक्व र जिम्मेवार राजनीतिक शक्तिले यसो गर्नु अत्यन्त महत्वपूर्ण पक्ष हो । भ्रमण दलमा सङ्लग्न पार्टीको उच्च तहको सिङ्गो नेतृत्वले यस क्षेत्रका वास्तविकता बोध गर्नुको महत्व बेग्लै हुन्छ ।
यो यात्रा चुनाव प्रचार होइन, यी ठाउँहरूबारे बुझ्ने प्रयास हो । आफ्नो पार्टीको पक्षमा र अरू राजनीतिक दलहरूका विरुद्धको घरदैलो अभियान होइन । यस यात्रामा गरिएका भेटघाट र लिइँदै गरेका जानकारी आफ्नै पार्टी क्याडरहरूबाट बेलाबखत लिइने गोप्य रिपोर्ट होइन । कोही दलीय सङ्कीर्णता र पूर्वाग्रहबाट वशीभूत भएर झ्यालढोका थुनेर घरमै बस्छन् भने उनीहरूको आफ्नो कुरा हो । नत्र एमाले नेतृत्व पङ्क्तिसँग जिज्ञासा राख्न, सुझाव पस्कन र एमालेको विचार सुन्न कसैलाई रोक वा प्रतिबन्ध रहेको छैन, खुला खुलस्त यात्रा भइरहेको छ ।
नेपाली समाज सुन्दर र आत्मीय समाज हो । राजनीतिक दृष्टिकोण, धार्मिक विश्वास, वैचारिक आस्था, दलीय सङ्लग्नता आआफ्ना हुन सक्दछन् । विकासबारे धारणा पनि भिन्न हुन सक्दछ । तर, एउटा राजनीतिक शक्तिले मुलुकको समृद्धिका लागि सङ्कल्प गरिरहँदा, तिनै विषयमा जनसमक्ष पुगिरहँदा, अरुका कुरा सुनिरहँदा र आफ्ना कुरा भनिरहँदा समाजलाई केही हानिनोक्सानी हुँदैन, यसले लोकतन्त्रलाई बलियो बनाउन नै मद्दत गर्दछ । यसरी हिँड्दा कुनै धर्म, संस्कृति, परम्परा, मूल्यमान्यताका विरुद्ध भड्काउने प्रयास भए विरोध गरिनु पर्दछ । यस यात्रमा त्यस्तो अनर्थ लाग्ने भावना, योजना, विचार, क्रियाकलाप केही देखिँदैन । नेताहरू राम्रो बास खोज्न र छुट्टै परिकार खोज्न अभियान यात्राको बाटो छोडेर अन्यत्रै गएको अवस्था पनि देखिँदैन । रूटमा नै पर्ने होटल, कार्यकर्ता—समर्थकका घर, होमस्टेमा बास बसेको र स्थानीय खानामा नै रमाएको देखिन्छ ।
सामान्यतः कम्युनिष्टहरूलाई लाग्ने गरेको आरोप हो— उनीहरू धर्म मान्दैनन् । यसका लागि प्रायः मानिसहरू कुन्नि कुन प्रसङ्गमा कार्ल मार्क्सले भनेको भनिएको हरफ ‘धर्म अफिम हो’लाई मन्त्र बनाएर कम्युनिष्टहरूको खेदो खन्दछन् । कम्युनिष्टहरू भन्ने गर्दछन्, धर्म व्यक्तिको निजी मामिला हो । कुन धर्म मान्ने, कुन धर्म नमान्ने, मान्ने या नमान्ने सबै मामिलामा मानिस स्वतन्त्र हुन्छ र हुनुपर्दछ । तर असल कम्युनिष्टहरूले जनताका धार्मिक आस्था, सांस्कृतिक परम्परा, अवलम्बन गरिरहेको मूल्य—मान्यताको सम्मान गर्नुपर्दछ र तिनीहरूमाथि कहिल्यै हस्तक्षेप वा अतिक्रमण गर्नुहुँदैन । एमाले नेताहरूको यस यात्रामा त्यस्तो देखियो पनि । बाटोमा पर्ने देवीदेवताका चर्चित मन्दिरहरूमा पुगेको, दर्शन गरेको, आमजनताले जसरी मान्दै र गर्दैआएका छन्, त्यसै गरेर सम्मान गरेको देखियो । जसरी हरेक क्षेत्रको भिन्नभिन्न अनुशासन हुन्छ, त्यसै गरी धार्मिक स्थलहरूको पनि आफ्नै प्रकारको अनुशासन हुन्छ । ती ठाउँहरूमा जाँदा त्यहीँकै अनुशासन र मर्यादा अनुसार गर्नुपर्ने हुन्छ, जुन एमालेका नेताहरूबाट भएको छ ।
यस्तो सहज विषयलाई पनि भड्काउन मनपराउने कतिपयले खिसिटियुरी पनि गरेका छन्, सैद्धान्तिक प्रश्न पनि खडा गरेका छन् । केही प्रतिक्रियात्मक स्वभाव भएका मानिसहरूले यसो गर्नु स्वाभाविकै हो । एमालेका नेता कुनै प्रतिक्रियात्मक सोच भएका उरन्ठेउला मानिसहरूका डरले या दैवीशक्तिको डरले, ती देवीदेवताकै बलका भरले त्यहाँ गएका होइनन्, विश्वासप्रतिको सम्मानले उनीहरूलाई त्यहाँ लगेको हो । यदि एमाले नेताहरू त्यहाँ नगएको भए अहिले पाखा बसेर खिसिटियुरी गर्नेहरूले नै भन्ने थिए, ‘यी कम्युनिष्टहरू जनताका आस्थाको सम्मान गर्दैनन्, यसो त्यहाँ पसेर एक ट्याप टिको लगाएको भए के नै जान्थ्यो र असति, अफिमवाला सैतानहरू ।’
वास्तवमा यो यात्रालाई सङ्कल्प यात्रा भनिएको छ । सङ्कल्प पूरा गर्नका लागि गरिन्छ । सङ्कल्प पूरा गर्नका लागि जनसमर्थन, जनभावना, जनविश्वास अति नै आवश्यक हुन्छ । यसका लागि यो यात्राको यो भूमि चयन गरेर एमालेले राम्रो गरेको छ । यो मध्यपहाडी लोकमार्ग बैतडी, डडेल्धुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पूर्व रुकुम, बागलुङ, पर्वत, कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट जिल्ला हुँदै अघि बढ्छ । यसको मध्यबिन्दु नुवाकोट जिल्लाको पातीभञ्ज्याङ पर्दछ । यो मार्ग काठमाडौँसँग जोडिँदैन । काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथर जिल्लाको चुवाभञ्ज्याङ (च्याङथापु) पुग्दछ । यसरी यो लोकमार्गले मध्य पहाडका २४ वटा जिल्लाका करिब साढे दुई सय मानव बस्तीलाई प्रत्यक्ष रूपमा जोडेको छ । यसबाट मध्यपहाडी क्षेत्रका बसोबासी र आउजाउ गरिरहेका करोड हाराहारीका जनतालाई यातायात सुविधा पुऱ्याउँदैछ ।
यस लोकमार्गको नाम पुष्पलाल मध्यपहाडी लोकमार्ग राखिएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको यो पचहत्तरौँ वर्ष हो । यसका संस्थापक महासचिव पुष्पालालको नाममा नामकरण गरिएको यस लोकमार्गको यात्राले संस्थापक महासचिवप्रति सम्मानका साथै जनता र राष्ट्रप्रति पार्टीको दायित्वप्रति प्रतिबद्धताको सन्देश दिने नै छ । इतिहासको सम्मान र वर्तमानमा योगदान जिम्मेवार राजनीतिक दलहरूको दायित्व हो । अरुले के सोच्छन्, एमालेले यस्तो सोच्यो र अघि बढ्यो । नेकपा एमाले सत्तामा रहिसकेको र भविष्यमा पनि सत्तामा जाने राजनीतिक शक्ति हो । यस्तो राजनीतिक दलले यो लोकमार्ग भएर यी क्षेत्रको भ्रमण गर्नु अर्थपूर्ण र महत्वपूर्ण विषय हो भन्ने बुझिन्छ । नगई—नपुगी देखिँदैन, नदेखी बुझिँदैन । पूर्व—पश्चिम महेन्द्र राजमार्ग र तराई मधेशका सजिला ठाउँहरूमा यस्ता अनेकौँ यात्रा—अभियान स्वयं एमाले र अन्य दलहरूले पनि नचलाएका होइनन् । जानकारी गराइए अनुसार यो लोकमार्ग दुई लेनको र जम्मा चौडाई साढे आठ मिटर छ । यसमा प्रतिघन्टा पचास किलो मिटर गतिमा सवारी साधन चल्न सक्नेछ । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो । यो मार्ग निर्माणबाट एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व–पश्चिम महेन्द्र राजमार्ग भएर अर्को बाटो लिनु पर्ने अवस्था रहने छैन ।
यो लोकमार्ग सम्पन्न भएपछि यसले छोएका साना गाउँहरू बजारमा र साना बजारहरू अलि ठूला सहरमा परिणत हुनेछन् । गाउँका कृषिजन्य उत्पादनको बिक्री वितरण बढ्नेछ । यातायातको सुविधाका कारण सडक ढुवानी मार्फत यहाँका उत्पादनका लागि प्रदेशका राजधानी, जिल्लाका सदरमुकाम र देशका अन्य ठुला सहरमा बजार विस्तार हुनेछ । यसबाट पहाडबाट तराई मधेश र अन्यत्र बसाइ सराइ गर्ने क्रम रोकिने छ । तराई मधेश र देशका ठुला सहरहरूमा मानवचाप घट्ने छ । जनसाङ्ख्यिक सन्तुलन कायम रहने छ । राज्यको लगानी र उपभोगमा सन्तुलन कायम हुनेछ । धार्मिक, सांस्कृतिक, सामाजिक विचलन रोकिने छ । ठुला सहर व्यवस्थापन थप सहज हुनेछ ।
नेता आए किन आए भन्ने, न आए आउँदैनन् भन्ने सोच फैलाउन खोज्ने नकारात्मक सोच कसैले नराखेकै राम्रो । यी सबै त छँदैछन्, सर्वोपरि विषय देशको भूगोल, माटो र जनतासँग जोडिने एमालेको यो अभियान अरुका लागि पनि अनुकरणीय हुने देखिन्छ ।
(लेखक नेकपा (एमाले) केन्द्रीय स्कुल विभागका सचिव हुनुहुन्छ ।)