images
images

नेपाली चेस टोली बङ्गलादेश प्रस्थान

काठमाडौं, असोज २५ (रासस)
बङ्गलादेशको ढाकामा भोलि बुधबारदेखि सुरुआत हुने शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असोज २६ देखि कात्तिक ४ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलाडी तथा एक आर्विटर गरी ६ जनाको सहभागिता रहनेछ । 

प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ तथा सिङ्गेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागिता रहेको छ । पूर्व राष्ट्रिय च्याम्पियनसमेत रहेका बिमललाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागिता जनाईसकेका खेलाडी हुन । प्रतियोगितामा अन्तराष्ट्रिय आर्विटर नीरञ्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष विदुरप्रसाद गौतमलगायतले त्रिभुवन विमानस्थलमा शुभकामनासहित बिदाई गरेका थिए । 

गत असार अन्तिम साता सम्पन्न बुद्धिचाल सङ्घको अधिवेशनबाट अध्यक्षमा निर्वाचित गौतमले सम्भावना भएसम्मका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागी गराउन आफू प्रतिबद्ध भएको बताए ।