काठमाडौं, फागुन ५ (अनलाइन बहस)
विश्वले ठूला–ठूला वैज्ञानिक उपलब्धिहरू हासिल गरिसक्दा पनि हामी अझै अन्योलमा छौं, धर्म र अध्यात्मका कुरा एवं शिव ठूलो कि विष्णु ठूलो भन्ने कुरामा नै अड्किएर बसेका छौं भनी केही विद्धान्हरूले बेलाबेलामा उद्गार दिने गरेको सुन्दा उदेक लाग्छ । वास्तविकतालाई नबुझ्दा विद्वत्वर्ग पनि अलमलमा परेका रहेछन् । यथार्थमा भन्नुपर्दा भगवान् पनि मान्छेजस्तै स्वरूप र आकारमा छन् । मान्छेजस्तै भगवान्को स्वरूप भएकोले शिव र विष्णुलाई सामान्य रूपमा हेरेको हुनुपर्छ । विज्ञानले विकासको उत्कर्षलाई छोएकै हो । प्रकृतिमा भएका वस्तु, पदार्थ, अग्नि, वायु र आकाश तत्वलाई प्रयोग गरेर अनौठो विकास गरेका हुन् । तर सुक्ष्म जगतको चेतनतत्वलाई विज्ञानले प्रयोग गर्न सकेका छ्रैन । तर पनि जो विज्ञानका आविष्कारकहरू थिए र छन्, ती सबै विज्ञानभन्दा केही मात्रामा पर पुगेका हुनाले नै विकासले चरमचुली छुन सकेको हो । विज्ञानले अध्यात्मको गन्तव्य अर्थात् अन्तिम छेउलाई छुन भने सकेका छ्रैनन् । पूर्वीय ऋषि तथा सिद्धहरूले सत्य युगमै त्यो अन्तिम तत्वलाई पाइसकेका थिए । अहिले आधी काँचो बुद्धि भएका विज्ञानका अनुयायीहरू शिव, विष्णु, देवी र कालीका स्वरूपलाई काल्पनिक देवता भनी तर्क गर्दछन् । जसले गर्दा नबुझ्ने सामान्य मानिसका लागि भ्रम पैदा हुने सम्भावना बढ्दै गएको छ । जसले जति नै भ्रमका विचार राखे पनि सत्य कतै हराउँदैन । कुनै समय ब्रह्मा र देवराज इन्द्र खुबै चर्चित थिए । अहिले तिनीहरूको पूजा र नाम लिने मान्छे कमै पाइन्छ । ऋग्वेद र यजुर्वेदमा इन्द्रलाई भगवान मानी स्तुति गरिएको छ । तर यज्ञ, पूजा, होम, वैदिक कर्महरूमा भने ब्रह्मा र इन्द्रको पूजा हुन्छ । दक्ष प्रजापतिले शिवको अवज्ञा गर्दा आफ्नो शिर गुमाउनु पर्यो । सोही समयदेखि शिव धेरैको प्रिय र पूज्य देवता बनेका छन् ।
भक्तिवादमा रमाउनेहरूले शिवलाई त्यति महत्व दिएका छैनन् । जब मानिसहरूले ज्ञान, भक्ति, योग, निष्काम कर्मलाई राम्ररी बुझ्न थाले, त्यसपछि विस्तारै सुरु भयो शिवको महिमा र गरिमा । वैदिक कालको समयमा ‘रुद्र’लाई एक शक्तिशाली देवताका रुपमा व्याख्या गरिएको छ । शिवलाई महारुद्र, रुद्र, महाकाल आदि नामले पुकार गरिन्छ । यद्यपि, त्यस समयमा उच्च आस्थाको दृष्टिकोणबाट हेर्दा ऋग्वेदमा गौण देवताका रूपमा शिवको वर्णन पाइन्छ । उनी ज्ञान, विज्ञान र योग दर्शनका रचयिता थिए । शिव शास्त्रदेखि शस्त्र, अस्त्र र दिव्यास्त्रसम्मको रचना गर्ने हैसियत भएका देवता हुन् । त्यसैले उनलाई महादेव भनिएको हो । ज्यादा भक्तिवादले गाँजेको समाजमा भने शिवलाई आत्मैदेखि महत्व दिनेहरूको संख्या कम पाइन्छ । श्वेताश्वेतरोपनिषदमा भनिएको छ– ‘रुद्र एक मात्र छन् । अरु कोही दोस्रो रुद्र छैनन् । रुद्र आफ्नो शक्तिबाट नै सबै मानिसहरूमाथि शासन गर्ने गर्छन् ।’ त्यस्तै, अथर्ववेदमा भनिएको छ, ‘वीरभद्र एवं शक्तिका केन्द्रबिन्दू, प्रलयका मुख्यकर्ता र कारक, ज्ञानीहरूका पनि ज्ञानी भनी गुणहरूको व्याख्या गर्दै शिवको महिमा बखान गरिएको छ ।
वैदिक कालपछि महाकाव्यकालमा रामायणजस्ता ग्रन्थहरू रचना भए, जसमा वाल्मिकीले रामायण कथा शिवले पार्वतीलाई बताएको भनी उल्लेख गर्नु भएको छ । अर्को कुरा, रावणजस्ता विद्वान एवं दस विद्याका ज्ञाताहरूले पनि शिवको तपस्या गरी अनेक उपलब्धि हासिल गरेको कुरा उल्लेख गरिएको छ । तर, शिवको महिमा र गरिमा यात्रा भने सम्राट अशोकको शासनकालपछिको समयमा केही फस्टाएको र आठौँ शताब्दीमा शङ्कराचार्यले शिवको उच्चता र अलौकिकताको कीर्तिलाई थप माथि उठाइएको पाइन्छ ।
अहिले भगवान शिवलाई पूजा गर्ने बेलामा हामीहरू लिङ्गको स्वरूपमा पूजा गर्ने गर्छाैं । यसको सिलसिला हेर्ने हो भने यसलाई हामीले लिङ्ग पुराणबाट नै लिएको संस्कारका रूपमा मान्ने गर्छाैं । विभिन्न इतिहासकारहरूको मत अनुसार संसारका प्राचीन सभ्यताहरूमा सृष्टिको आधार ज्योतिरूप भएकोले सोको प्रतीक रूपमा लिङ्ग पूजा गर्ने चलन भएको हो । लिङ्गलाई ज्योतिरूप शिव र तलको आधारलाई प्रकृति मानी पूजा गर्ने प्रचलन भएको हो । यसमा अनेक तर्क—वितर्क गर्नेहरू पनि छन् ।
प्राचीन इजिप्टमा पनि लिङ्ग पूजा गर्ने प्रचलन रहेको कुरा पश्चिमका विद्वानहरूले उल्लेख गरेको पाइन्छ । प्राचीन कालदेखि नै देवता तथा मनुष्यहरूले लिङ्गलाई सृष्टिको प्रतीकका रूपमा मान्ने गरेका थिए । मेसोपोटामियामा पनि सृष्टिकर्ता ब्रह्माको रूपमा लिङ्गको पूजा गर्ने गरिएको पाइन्छ । यसले गर्दा लिङ्गलाई सृष्टिको प्रतीकको रूपमा सङ्केत गरेको देखिन्छ । पहिले लिङ्ग पूजा गर्ने प्रचलन अनार्यहरूमा मात्रै रहेको भए पनि पछि आर्यहरूमा पनि यो परम्परा फैलिएको पाइन्छ ।
हामी ज्ञानको हिसाबले प्राचीन कालदेखि नै अगाडि थियौँ । तर, जो प्राविधिक क्षेत्रमा लागेर नयाँ खोजी गर्ने सम्भावना बोकेका व्यक्तिहरू छन्, उनीहरूलाई हामीले शास्त्र पढ्नै दिएनौँ । जसले गर्दा उनीहरू आफ्नो बसोवास छोडेर पश्चिमतिर लागे । तिनै व्यक्तिहरू वैज्ञानिक तत्वज्ञानमा बढी पारङ्गत भए, जसले गर्दा पश्चिममा भौतिक विकास बढी हुन गयो ।
भक्तिवाद एवं कर्मकाण्ड विशेष गरी शुक्लयजुर्वेदबाट सुरु भएको हो । ज्ञानको आविर्भाव ऋग्वेदबाट भएको हो । भक्ति र कर्मकाण्डले मात्र मानिस सुखी हुन नसक्दा ज्ञानको खोजीमा शिव उपासना गर्ने चलन बढी भयो । ब्रह्मवर्तमा बसोबास गर्ने आर्य समुदायहरू सुख, शान्ति र सुविधाको खोजी
गर्दै त्यहाँबाट पूर्वतिर आउन थालेका हुन् । त्यहाँबाट पूर्वतिर आउँदा केही मरुभूमितिर पुगे भने केही शिवको खोजी गर्दै उत्तरतिर आइपुगे । शिवको खोजीमा उत्तरतिर आउनेहरूले नै विस्तारै मिथिला राज्यको सुरुवात गरेका हुन् । त्यसपछि ऋषि यज्ञवाल्क्यको आविर्भाव भएको हो । त्यसै समयको आसपासमा पशुपतिनाथको पनि स्थापना भएको मानिन्छ । त्यतिबेला कृष्णयजुर्वेदको धेरै महत्व थियो । तर कृष्णयजुर्वेदमा केही हिंसाका कुरा मिसिएको हुँदा शुक्ल यजुर्वेदलाई बढी मान्यता दिएको पाइन्छ ।
शिव, स्कन्द तथा लिङ्ग पुराण अनुसार शिवमा एक सय चौध कला थियो । ती कला नै विज्ञानको रूपमा मानिन्छ । विज्ञान भन्नाले भौतिक ज्ञान र अध्यात्म विद्या दुवै हो । शिवमा भएको वैज्ञानिक सोचलाई भन्दा पनि भक्तिवादी सोचलाई शिरोधारण गरेर अघि बढ्नेहरूले भौतिक प्रगति गरेनन् । तर ती शिववादीहरू चेतनतत्वमा अलौकिक गहिराइमा पुगेका थुप्रै उदाहरण छन् । जसबाट अनेक ऋषिमुनि तथा अनेक सिद्धहरू प्रकट भएको कुरा सिद्ध हुन्छ । शिवत्वलाई बुझी मनबाट फूल, अक्षता चढाउनुको साथै त्यसमा ज्ञानमय पक्षलाई अँगाल्ने हो भने आध्यात्मिक चेतनाको विकासमा हामीले पर्याप्त अन्वेषणहरू पाउन सक्छौँ ।
एकातिर कृष्णयजुर्वेद अलि हिंसाजन्य भएको र अर्काेतिर कालो वर्णका वेदव्यासले लेखेको शास्त्र भएकोले केही ऋषिहरूले अर्काे शुक्लयजुर्वेदको सुरुआत गरेको हुन सक्छ, जसलाई धेरै कर्मकाण्डलाई विश्वास गर्ने कुरालाई आधार बनाई लेखिएको थियो । हामीले पूर्वजका योगदान राम्रै होला भनी त्यसैको पछि लागेर रमाउन सुरु ग¥यौँ । खालि कर्मकाण्डी प्रवाहले व्याप्त पार्दा ज्ञान लुप्त भएको देखिन्छ । हामीले धर्मलाई यथार्थमा नबुझी विश्वासको आधारमा अन्धभक्त भएर स्वीकार्न थाल्यौँ । जसका कारण प्राविधिक ज्ञान भएकाहरू हेपिन पुग्दा शिवको वास्तविक ज्ञान हामीले गुमाउन पुग्यौँ । जसले गर्दा हामी पूर्वीयहरू प्राविधिक ज्ञानमा पछि पर्यौ ।
बारम्बार दानव र राक्षससँग युद्ध भइरहने बेलामा देवताहरूलाई शस्त्र र धनुर्विद्याको ज्ञान तिनै शिवले दिएका हुन् । वाणीको शुद्धीकरण गर्न वैज्ञानिक आधार खोज्ने पाणिनिले तिनै शिवबाट ‘अइउण्, ऋलृक्....’ को मन्त्र पाए । विश्वकर्माको विज्ञान, आचार्य पतञ्जलिको योग दर्शन होस् या जति पनि प्राचीन गोप्यज्ञान, मन्त्र–तन्त्र विज्ञान, न्याय र साङ्ख्य दर्शन, वेदान्त चिन्तन तथा प्राविधिक ज्ञान दिने सबैका गुरु शिव हुन् । जगद्गुरु शङकराचार्यले शिवको मार्ग बताउँदा त्यही गोप्य ज्ञान विज्ञानलाई टेकेर सिकाए । त्यसैले त आदि शङ्कराचार्यले ३२ वर्षको उमेरमा नै सिङ्गो भारत वर्षलाई शिवको अनुयायी बनाउन सफल भए । यो सबै शिवको ज्ञान, विज्ञान, साधना, कलाको नतिजा थियो । सम्भवतः विश्वको पहिलो वैज्ञानिक चिन्तक, दार्शनिक र विश्वगुरू शिव हुन् ।
ज्ञानको भन्दा पनि भक्तिका पछि कुद्नेहरुले शिवको त्यो अध्यात्म ज्ञानको सोचलाई कहिल्यै सम्मान गर्न सकेनन् । शिव सधैभरि उपेक्षामा नै बाँचिरहे । तर शिवका साधना, तपस्या, सामथ्र्य, शक्ति, कल्याणकारिता, सिर्जना र उच्च वैचारिक दृष्टिकोणलाई सत्ययुगमा पनि धेरै देवता र ऋषिहरूले अवलम्बन गर्दै आएका थिए । कोही पनि बिरामी नहुन् भनेर योग र प्राणायामको सुरुआत गर्ने पनि शिव नै हुन् । बिरामी भइहालेमा उपचार गराउनका लागि जडीबुटी विज्ञानको व्याख्या गर्ने पनि शिव नै हुन् । लङ्काको दरबार बनाउन सिकाउने पनि शिव नै हुन् । एउटा कठिन परिस्थिति, अनौठो प्रकृति र अप्ठ्यारा दिनहरूबाट गुज्रिएर आएका शिवको वैज्ञानिक सोचभन्दा पनि भक्तिवादी सोचलाई शिरोधारण गरेर अघि बढ्दा हामीहरूले भौतिक विकास गर्न सकेनौँ । तर उनै शिवको महिमा, गरिमा र आस्थाको आधारमा आध्यात्मिक चेतनाको भने उच्च विकास भएको छ ।
शिवको अनेक नामहरूमध्ये पशुपतिनाथ पनि एक हो । शिवरात्रि साधना पर्वमा पशुपतिमा अनेक साधक र सिद्धहरूको भीड लाग्छ । शिवको अनेक महिमा र गरिमा भएको कारण भगवान् पशुपतिनाथ गुरुहरूका गुरु, ईश्वरहरूका पनि ईश्वर-महेश्वर, देवका पनि देव-महादेव, दानव र दैत्यहरूका पनि देवता, भक्तहरूका भगवान्, साधुहरूका हृदय, योगी र सन्यासीहरूको परमात्मा हुनुहुन्छ । भगवान्् शिवले ज्योतिरूप धारण गर्दा पशुपतिनाथ बन्नुहुन्छ । पशुपतिनाथका पाँच मुखहरूमा सद्योजात, अघोर, तत्पुरुष, ईशान र वामदेव हुन् । पश्चिम मुख सद्योजात, दक्षिण मुख अघोर, पूर्व मुख तत्पुरुष, उत्तर मुख वामदेव र उध्र्वमुख ईशान हो । यसैले उहाँ अव्यक्त पञ्चानन स्वरूपमा निराकार हुनुहुन्छ । अवतारीहरूमा सिद्धपुरुष र गुरुहरूमा सद्गुरु नै शिव हुनुहुन्छ । उहाँ निराकार र साकार दुबै स्वरूपमा हुनुहुन्छ । पुकार गर्न सके भक्तलाई प्रत्यक्ष दर्शन दिनुहुन्छ । शिव र गुरुमा भेद गर्नु हुँदैन । जो शिव हुनुहुन्छ, उहाँ नै गुरु हो । जो सिद्ध गुरु हुनुहुन्छ उहाँ नै शिव हो । मार्ग देखाउने गुरु हो भने गन्तव्य भगवान् पशुपतिनाथ हो । पशुपतिको अर्थ जगत् र जीव सबै पशु हुन् भने पति पतनबाट जोगाउने परमेश्वर हुन् । तिनै पशुहरूका पति, पिता, नाथ उनै पशुपतिनाथ शिव भएको हुँदा हामी सबैको कल्याणदेव पशुपतिनाथ भनिएको हो । शिवको निराकार रूपमा पूजन एवं साधना गर्दा लिङ्ग वा ज्योति रूपमा गरिन्छ भने चेतनत्वको रूपमा उपासना र पूजन गर्दा सिद्धयोगी, महात्मा, सद्गुरु वा सन्तजनकोे पूजन गर्ने चलन छ । यसैले महाशिवरात्रिको महिमा दिव्यता, उच्चता र पूर्णताले परिपूर्ण छ ।
(लेखक स्वतन्त्र पत्रकार, पुराणकथा वाचक तथा आध्यात्मिक उत्प्रेरक हुनुहुन्छ ।)