images
images

‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ.....!?’   

प्रा.डा. तत्वप्रसाद तिम्सिना
नेपाल राज्यको एकीकरणको समय (सन् १७४४ देखि १७६९ बीच) मा बेलायतमा औद्योगिक क्रान्तिको सरुआत गर्ने कपडा बनाउने मेसिन (स्पिनिङ्ग जेन्नी) को आविष्कार (१७६७) भएको थियो । बेन्जामिन फ्रेङ्कलिनले विजुलीबारेका अनुसन्धान (सन् १७५१), कार्ल लाइनसले जीव– वनस्पतिको वर्गीकरण (१७५३) र जेम्स वाटले वाष्प इन्जिनको आविष्कार (१७६९) यसैबेला गरेका थिए । नेपालमा भने त्यस बेलाका शासकहरूको ध्यान केवल सत्ता प्राप्तिमा मात्र भएकोले नेपालले पश्चिमी देशहरूमा भएको विकासको अनुभूति गर्न सकेन । 
सन् १८४६ मा नेपालमा कोतपर्व र भण्डारखाल पर्व भैरहँदा जर्मनीका जोनन गैल्ली र हेनरिच नेप्चून ग्रह पत्ता लगाउने कार्यमा व्यस्त थिए भने अब्राहम गेज्नरले कोइलाबाट मट्टितेलको विकास गर्दै थिए । यसैबेला इटालीले मिलान र भेनिसको बीचमा रेलका लागि ३.२ किलोमिटर लामो पुल बनाउन सक्यो र रोबर्ट थोम्सनले टायर बनाए । यति बेला नेपालमा भने शासकहरूबीच सत्ता प्राप्ति र नेतृत्वको लागि जघन्य अपराधहरू बढी हुने गरेको पाइन्छ । जङ्गबहादुर यस कार्यमा सफल भएपछि उनको हौसला झन् बढ्यो र चारवर्षपछि अर्थात् सन् १८५० मा उनी यूरोपको यात्रामा निस्किए । युरोपमा औद्योगिक क्रान्तिको शिखर अवधि रहेको यस बेलामा भएको उनको यात्रापश्चात् नेपालमा समेत पश्चिमी विज्ञान तथा प्रविधिको केही प्रभाव देखिन थाल्यो । आफ्नै शान – शौकतका लागि गरिएका कार्यहरू भए तापनि त्यसले आधुनिक विकासको सन्दर्भमा केही चासो बढाउन पुग्यो । त्यसपछिका शासकहरूले चाहेर होस् वा नचाहेर एकपछि अर्को विकासका कार्यहरू अघि बढाए– जसमा विज्ञान तथा प्रविधिको समेत केही भूमिका रहेको थियो । 
विज्ञान तथा प्रविधिको दशकौं लामो योगदानलाई संस्थागत गर्दै हाम्रा छिमेकी राष्ट्रहरू भारत तथा चीनसँग सहकार्य गर्दै अघि बढ्न सके आगामी केही वर्षमै यो क्षेत्रले फड्को मार्न सक्ने आशा गर्न सकिन्छ । नेपालमा विज्ञान तथा प्रविधिको इतिहास विकसित राष्ट्रहरूको तुलनामा कम खोजिएको विषय हो । यद्यपि यो इतिहास मानव आविर्भाव सँगँंगै सुरु भएको मान्न सकिन्छ । नेपालमा विज्ञानको इतिहासको कुरा गर्दा प्राग–एतिहासिक, एतिहासिक कालमा भेटिएका माटाका भाँंडा वा शिलालेखमा लेखिएका कुराहरूमा हामी सीमित हुन पुग्छौं । त्यसपछिको चर्चा गर्दा आरन वा ढिकीमा पुगेर विचार टुँग्याउछौं । यसैलाई हामी हाम्रो वैज्ञानिक विरासत मान्न पुग्छौं । 
ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ 
प्रह्लाद नाटकमा बालकृष्ण समले ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्नुको अत्युक्ति विज्ञानका कारण हुने विनाशका पक्षलाई भनेको हो । हुन त हरेक वस्तुको दुई वटै पाटा हुन्छन्, राम्रो तथा नराम्रो । तर, समको यो भनाईले त्यसबेलाको नेपाली समाजले विज्ञानलाई हेर्ने दृष्टिकोण इङ्गित गर्छ, जुन अहिलेसम्म पनि खासै परिवर्तन भएको छैन । समले ‘ भक्त प्रह्लाद्’ मार्फत् त्यसो भन्नु त्यसबेला उनमा परेको दोस्रो विश्वयुद्धको प्रभाव हुन सक्छ वा केही वर्षअघि आफ्नो बच्चाको शैशव कालमै भएको मृत्यु । कलकत्तामा (हाल कोलकाता) रँहदा देखेको समृद्धि आफूले नेपालमा नपाएको उनले व्यक्त गरेका थिए । आफ्नो बच्चाको मृत्यूको कारण नै त्यसवेलाको नेपालको स्वास्थ्य सेवाको स्तरलाई उनले जिम्मेवार ठानेका थिए जुन कुरा यदि कलकत्तामा भएको भए नहुने कुरा उनले व्यक्त गरेका थिए ।
त्यसबेला भएका विध्वंस तथा युद्धको नकारात्मकतामा विज्ञानको भूमिका ठूलो देखेर समले नाटकको लय मिलाउँदा विज्ञानलाई दोषी देख्न पुगे । आध्यात्मिक तथा भाववादी समको यस भनाईको असर त्यस्तो समूहको प्रतिनिधित्व गर्ने कतिपय बौद्धिक जमातबीच अझै पनि छ । सम त्यो समूहको प्रतिनिधित्व गर्थे जसले आफ्नै समूहको भएरै पनि आविष्कार र वैज्ञानिक सोच राखेकै कारण गेहेन्द्र शमसेरलाई दण्डित गर्न पुग्यो । 
विज्ञानको तुलनामा साहित्य अपूर्ण छ, यो कोरा ज्ञानको भण्डार मात्र हो भन्नेहरूको संख्या पनि कम छैन । विज्ञान विशेष ज्ञान हो, यो परिष्कृत र पुष्टि गरिएको ज्ञानको भण्डार हो । वैज्ञानिक दृष्टिकोणमा कुनै पनि कुराको दुई पल्ट आविष्कार हुन्छ । एक पटक मस्तिष्कमा अनि त्यसपछि वास्तविक यथार्थमा । कुनै पनि कुरा बन्नुभन्दा अगावै मस्तिष्कमा त्यसको संरचना बन्छ, जसलाई वैज्ञानिकहरूले वास्तविकतामा उतार्छन । धेरैका लागि कविता केवल दिमागी सपना हो, जुन वास्तविकतामा उत्रिन सक्दैन । 
कला, संस्कृति तथा साहित्य सर्जकहरूलाई पुस्कार दिने संस्था तथा प्रतिष्ठानबीच नेपालमा ठूलो होडबाजी छ । यस्ता पुस्तक निक्लनै नपाई पुरस्कारको सूचीमा उनीहरूको नाम सामेल हुने गर्छ । कवि बन्ने लहडमा धेरैले आफ्नो सव्रिmय जीवन समेत अनुत्पादक रुपमा बिताएका छन् । त्यो खालको जमातमा उनीहरूको वाहवाही हुन्छ । यस्ता कार्यले देश विकासमा दिएको योगदानको लेखाजोखा कसैले गरेको छैन । हामीले गल्ली गल्लीमा यस्ता सर्जक जन्मायौं, तर त्यसको परिणति के भयो ? के यसले हाम्रो गरिबीलाई न्यून गर्यो वा हामीलाई समृद्धितर्फ डोरयायो ? राजनितिक बृत्तमा पनि यस्तै समस्या छ । घरैपिच्छे नेताहरू छन जो अनुत्पादक कार्यमा बढी समय विताउंछन । हामी विकासको सन्दर्भमा धेरै पछि पर्नुमा अनुत्पादक र रसरङ्गकोे प्रवृत्तिलाई बढी प्रश्रय दिनुले पनि हो । 
कविताले मात्र देशको विकास हुने भए सायद हाम्रो देश अति विकसित राष्ट्रको दाँजोमा उहिले पुगिसकेको हुने थियो । नाट्ककार बालकृष्ण समको ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कथनलाई आत्मसात गर्ने हाम्रो समाजले कसरी विज्ञानलाई महत्व देला ? विज्ञान र प्रविधिलाई अद्योगतिको बाटोको संज्ञा दिईनुले पनि हामी विश्वकै अत्यन्त गरीब मध्येका एक देश बन्न पुगेका छौं । राजनीतिज्ञ तथा नोकरशाहीको मनस्थितिमा पनि अझै यही कुरा गढेको छ । संस्कृतका ठूलाठूला श्लोक घोकेको भरमा विकास भएको हाम्रो नोकरशाहीको समूहले समको भनाइलाई आदर्श मानेका छन् । यसतो समूहबाट विज्ञान तथा प्रविधिले के आशा गर्न सक्छ ? 
विज्ञान तथा प्रविधिमा लगानी
समृद्धिकालागि विज्ञान तथा प्रविधिमा लगानीको आवश्यकता पर्दछ । विज्ञानमा लगाइएको लगानीको प्रतिफल दीर्घकालीन हुने गर्छ । यस सम्बन्धी गरिएको अनुसन्धानबाट नयाँ उत्पादनको  विकास हुन सक्छ र नयाँ संस्थाहरू जन्मन सक्छन् । यसबाट देशलाई आवश्यक पर्ने मानव स्रोतको विकास गर्न सकिन्छ जसले समृद्धिका लागि विविध क्षेत्रमा आफ्नो योगदान दिन सक्छन् ।
विज्ञान तथा प्रविधिमा अहिले लगानी नगर्ने हो भने भविष्यमा हामीले पछुताउनु पर्नेछ । आर्थिक, सामाजिक र वातावरणीय सुधारबिना समृद्धि प्राप्त गर्न सकिंदैन । विज्ञान तथा प्रविधिसँग सम्बन्धित क्षेत्रको  विकास गर्न अनुसन्धानमा विशेष जोड दिनुपर्छ । अनुसन्धानबाट प्राप्त नतिजालाई आमजनसमूहबिच पुर्याउन उद्योग तथा व्यापारीहरूबिच सहकार्य गर्नुपर्दछ ।

विज्ञान तथा प्रविधिको ज्ञानबिना दिगो विकास प्राप्त गर्न सकिदैन । यसको प्रयोग गरेरै मानिसले समुद्रको पिँधदेखि अन्तरिक्षसम्म आफ्नो प्रभुत्व जमाउन सकेको छ । विज्ञान प्रविधिको प्रयोग गरेर इजरायल जस्ता देशले मरुभूमिलाई समेत हरियाली बनाएका छन् भने संधंै हिउँले ढाकिने ठाउँलाई समेत कतिपय देशले समृद्धिकाकेन्द्रका रुपमा विकास गरेका छन । यी सबैका पछाडि यी देशहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेको लगानी नै हो । 
विज्ञान तथा प्रविधिको क्षेत्रमा गरिएका अनुसन्धानका उपलब्धिहरूलाई प्रभावकारी वस्तु वा सेवामा परिवर्तन गरी रोजगारी सिर्जना गर्न सकिन्छ । यस काममा विश्वविद्यालय तथा उद्योगलाई जोड्न सकिन्छ । वैज्ञानिक ज्ञानलाई प्रविधिसँग जोड्दै आर्थिक तथा सामाजिक विकास गर्नेतर्फ यी संस्थाहरूले जोड दिनुपर्छ । 
समृद्धिकालागि विज्ञान तथा प्रविधिमा ठूलो लगानी आवश्यक पर्छ । यसको महत्व बुझेका राष्ट्रहरूले यस्मा विशेष ध्यान दिए । दशकौंदेखि संयुक्त राज्य अमेरिकाले यस दिशामा अग्रणी भूमिका निभाएको छ । विगत केही वर्षयता चीन यूरोपियन युनियन, जापान आदिलाई पछि पार्दै विज्ञान तथा प्रविधिमा लगानी गर्ने दोस्रो प्रमुख  राष्ट्रका रुपमा अघि बढेको छ सन् २००६ देखि प्राकृतिक विज्ञान तथा इन्जिनियरिङ्ग विषयका  सबैभन्दा बढी विधावारिधि प्रदान गर्ने देशका रुपमा समेत चीन परिचित भएको छ (भेउगेलस, २०१७) । 
अनुसन्धान र विकासको सन्दर्भमा आफ्नो कुल ग्रार्हस्थ्य उत्पादनको अनुपातमा दक्षिण कोरियाले सबै भन्दा बढी लगानी गर्ने गरेको छ । दक्षिण कोरियाले ४.२९ प्रतिशत, इजरायलले ३.९३ प्रतिशत, बेलायतले १.७ प्रतिशत, अमेरिकाले २.६४ प्रतिशत, चीनले २.१ प्रतिशत, भारतले ०.८५ प्रतिशत लगानी गर्ने गर्दछन्  (भेउगेलस, २०१७) । नेपालमा भने सन् १९९० को दशकदेखि  विज्ञान तथा प्रविधिको अनुसन्धान  तथा विकासमा सरदर ०.३६ प्रतिशत् लगानी भएको देखिन्छ (ब्रजाचार्य र अन्य २००६) । विकासोन्मुख राष्ट्रहरूले विज्ञान तथा प्रविधिका क्षेत्रमा सरदर ०.२ प्रतिशत् मात्र लगानी गर्ने गर्छन्  । दिगो विकास प्राप्त गर्न विज्ञान, प्रविधि तथा नवीन आविष्कारका लागि कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत लगानी गर्नु आवश्यक छ । विज्ञान प्रविधि तथा नवीन आविष्कारमा पर्याप्त लगानी नगरी कुनै पनि देश समृद्ध बन्न नसक्ने कुरामा संयुक्त राष्ट्र संघ समेत विश्वस्त छ । कुनै पनि देश गरिबीको माखे साङ्गलो यदि तोड्न चाहान्छ भने उसले विज्ञान प्रविधि तथा नवीन आविष्कारमा लगानी गर्दै आधारभूत विज्ञान सम्बन्धी शिक्षा तथा चेतनामा व्यापक अभिवृध्दि गर्नु पर्ने कुरा बताइएको छ । 
आर्थिक विकासको विश्वव्यापी इतिहास हेर्ने हो भने विज्ञान र नवीन आविष्कारको महत्वपूर्ण भूमिका भएको पाइन्छ  (द रोयल सोसाइटी, २०१०) । सामान्यतया, विज्ञानमा गरिएको लगानीको असर दीर्घकालीन हुने गर्छ । बेलायतको रोयल सोसाइटीको मत छ, राज्यले विज्ञानका निम्ति लगानी,  संरचनाको विकास र सहयोगी नीतिको तर्जुमा गर्नुपर्छ । 
सरकारले विज्ञान प्रविधि तथा नवीन आविष्कार सम्बन्धी दीर्घकालीन नीति तर्जुमा गरी लगानीको प्रत्याभूति गर्नुपर्छ । यस सम्बन्धीको अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादन गर्न विशेष पहल लिनुपर्छ । यस क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्न, आर्थिक उत्पादकत्व बढाउन तथा अन्य क्षेत्रको लगानी आकर्षण गर्न सक्षम हुनु पर्नेछ । 
विज्ञान तथा प्रविधिमा यथोचित लगानी नगरी हामी प्रभावकारी परिवर्तनको आशा पनि गर्न सक्दैनौं । विभिन्न देशका आर्थिक परिसूचकले विपन्नताको एउटा मूल कारण त्यस देशले विज्ञान तथा प्रविधिमा  यथोचित लगानी नगरेकाले हो भन्ने कुरा पुष्टि भएको छ । कुनै पनि मुलुकको आर्थिक वृध्दिको कम्तीमा आधा जति भाग विज्ञान र प्रविधिको उपयोगमा नैैै निर्भर गर्दछ (बज्रचार्य, वि.स. २०६९) ।
नेपालको एउटा प्रमुख चुनौती भनेको कम्पनी तथा संघ– संस्थाहरूले उपयुक्त जनशक्ति पाउन नसक्नु होे । नेपालमा शिक्षित युवाहरू धेरै छन् तर उपयुक्त सीपमा प्रशिक्षितको संख्या भने कम छ । समृद्धि प्राप्त गर्न उल्लेखनीय भूमिका खेल्न सक्ने नेतृत्वदायी जनशक्तिको अहिले खाँचो छ । हामीले आफ्नो विगतलाई मात्र मध्यनजर गरेर, आलंकांरिक क्षमताले युक्त तथा परम्परागत नेतृत्वकै  जनशक्ति धेरै विकास गर्यौ,   तर आफ्नो तथा देशको भविष्य हेर्न सक्ने दूरदर्शी क्षमतायुक्त जनशक्तिको विकासमा भने हाम्रो ध्यान जान सकेन । आहिलेका धेरै विषयहरू बीस वर्षपछि अर्थहीन हुन सक्छन्, नयाँ संभावनायुक्त विषयहरूका लागि यस किसिमको जनशक्तिको विकास गर्ने कार्यको थालनी समयमै सुरु गर्नुपर्छ । 
(लेखक पीएचडी सेन्टरका प्राज्ञिक सल्लाहकार तथा आइसीए नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)