काठमाडौँ - आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले हारका साथ प्रतियोगिता टुंग्याएको छ ।
प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । मौसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनायो ।
जवाफमा नेपालले ४७ ओभर ४ बलमा पुरै विकेट गुमाएर २ सय ६ रन मात्रै बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेले । सोमपाल कामीले ४७ रन बनाए । शेख र कामीले उत्कृष्ट ब्याटिङ गरे पनि कुशल भुर्तेल र रोहित पौडेल जम्न सकेनन् ।
रोहित पौडेलले १६ र कुशल भुर्तेल १० रन मात्र बनाए । नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । अमेरिकाका लागि सिरिज सुखद रहयो । यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल बराबरी बनेको थियो ।
लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा छ । नेपालले १६ खेलमा १५ अंक जोडेको छ भने अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा छ ।
सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने ओमानसँगकै दोस्रो भेटमा नेपालले ७ विकेटको जित निकालेको थियो।