images
images

निर्वाचनमा भयरहित वातावरण सिर्जना गर्न प्रहरीलाई निर्देशन

काठमाडौँ l प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीले सङ्गठनको हितका लागि विधिसम्मतरूपले इमान्दारी, निष्ठा र पूर्ण व्यावसायिकता निभाउनुपर्नेमा जोड दिएका छन्। 

प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअलरूपमा भिडियो कन्फ्रेन्समार्फत् उनले एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवं निष्पक्षरूपमा सम्पन्न गराउन पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिए। 

उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख, सङ्घीय प्रहरी एकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुखको सहभागिता थियो। प्रदेश प्रहरी कार्यालयले एकआपसमा समन्वय गर्दै आवश्यक योजना बनाई काम गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो कार्यकालमा सङ्गठनको हित तथा सुधारका लागि निर्वाह गरेको भूमिकाप्रति आभार प्रकट गरे। 

सङ्गठनको प्रणाली, कार्यविधि, नीतिलगायत सङ्गठनको सुधारका निम्ति तयार गरिएको कार्ययोजना एवं मापदण्ड लागू गर्न सबै प्रहरी कर्मचारीको भूमिका रहने उल्लेख गर्दै उनले आगामी दिनमा समेत स्वअनुशासन र चरित्र अङ्गीकार गर्दै थप क्रियाशील रहन आग्रह गरे।