images
images

राजनीतिक अर्थशास्त्रको मुख्य विषयवस्तु

उत्पादन पद्धति 
राजनीतिक अर्थशास्त्र एक सामाजिक विज्ञान हो । यसले समाज विकासको आधारको अध्ययन गर्दछ । यस दृष्टिले भौतिक सम्पत्तिको उत्पादन तथा उत्पादन पद्धति नै सामाजिक विकासको आधार हो । उत्पादन पद्धति भनेको मानिसले उत्पादन गर्ने तरिका हो । उत्पादनको प्रक्रियामा मानिसहरू र प्रकृतिबिच अन्तरक्र्रिया कायम हुन्छ । मानिसहरूलो आफुलाई आवश्यक पर्ने भौतिक वस्तुहरू के–कसरी उत्पादन गर्दछन् र उनीहरूको बिचमा के–कस्तो सम्बन्ध कायम हुन्छ भन्ने कुरा नै उत्पादन पद्धति हो । उत्पादक शक्ति र उत्पादन सम्बन्धको संयुक्त रूप नै उत्पादन पद्धति हो । 

 

उत्पादक शक्ति 
"प्रकृतिमाथि विजय प्राप्त गर्न र त्यसलाई रूपान्तरण गर्नका लागि मानिसले जुन शक्तिको विकास र उपयोग गर्दछ त्यसैलाई उत्पादक शक्ति भनिन्छ ।" ज्ञान, अनुभव तथा कार्य कुशलता सहितको मानिस तथा उत्पादनका साधनहरूको संयुक्त रूप नै उत्पादक शक्ति हो । यसलाई अर्को शब्दमा भन्ने हो भने श्रम सहितका मानिस, श्रमको औजार र श्रमको वस्तुको संयुक्त स्वरूप नै उत्पादक शक्ति हो । उत्पादक शक्ति निरन्तर गतिशील रहने शक्ति हो । उत्पादक शक्तिमा सबभन्दा महत्वपूर्ण श्रमको औजार हो । श्रमको औजार मार्फत नै मानिसले प्रकृतिमाथि विजय प्राप्त गर्न सक्दछ् । तर श्रमको औजार महत्वपूर्ण भएपनि निर्णायक भनेको श्रम सहितको मानिस नै हो । माओ भन्नुहुन्छ "संसारका सबै कुराहरू मध्ये मानिस नै सबैभन्दा महत्वपूर्ण हो ।" मानिसले नै श्रमको औजारको निर्माण तथा प्रयोग गर्दछन् । तसर्थ प्रविधिलाई हामीले जति महत्वपूर्ण माने पनि त्यो मानिस भन्दा महत्वपूर्ण वा निर्णायक हुन सक्दैन । श्रम लगाइने वस्तुहरूलाई श्रमका वस्तु भनिन्छ । मानिसले श्रमको औजार वा उपकरण मार्फत आफ्नो श्रमलाई कच्चा पदार्थमा लगाउछ । हलो, कुटो, कोदालो, ट्याक्टर, यन्त्र, औजार आदि श्रमका औजारहरू हुन भने श्रम गरिने वस्तु वा श्रमको वस्तु कच्चा पदार्थ र खेत, खानी, कच्चा पेट्रोल, ग्याँस, अन्न, आदि हरू हुन । श्रमको औजार र श्रमको वस्तु मिलेर उत्पादनका साधन (Means of Production)  बन्दछन् । उत्पादक शक्तिको विकास भनेको श्रमका औजार, श्रमको वस्तु र श्रमिकको वैचारिक, सांस्कृतिक र प्राविधिक क्षमताको विकास नै हो । श्रमिकको उत्पादकत्वमा वृद्धिका साथसाथै उत्पादक शक्तिमा वृद्धि वा विकास गर्न सकिन्छ । उत्पादक शक्ति ऐतिहासिक प्रकृयाका मुख्य निर्धारक हो । उत्पादक शक्तिद्धारा नै मानव समाजको विकास हुन्छ । ुउत्पादन सम्बन्धको रूपान्तरण उत्पादक शक्तिको निश्चित विकासको अपरिहार्य परिणाम होु । उत्पादन सम्बन्धका स्वरूपहरू मान्छेका मनोगत इच्छाद्धारा नभएर उत्पादक शक्तिको विकास अनुकूल हुनुपर्दछ ।

 

उत्पादन सम्बन्ध  
भौतिक उत्पादनको क्रममा मानिसहरूबिच निर्माण हुने सम्बन्धलाई उत्पादन भनिन्छ । राजनीतिक अर्थशास्त्र मानिसहरूका बिचमा सामाजिक उत्पादन तथा उत्पादन सम्बन्धको विकासको विज्ञान हो । यो समाजको विकासको विभिन्न चरणमा भौतिक वस्तुको उत्पादन, वितरण, विनियम र उपभोगलाई नियमन गर्ने नियमहरूको व्याख्या हो । लेनिन भन्नुहुन्छ ूराजनीतिक अर्थशास्त्रले उत्पादनसँग हैन बरु उत्पादनमा मानिसहरूको बिचमा निर्माण हुने सामाजिक सम्बन्ध तथा उत्पादनको सामाजिक पद्धतिसँग सरोकार राख्दछ  यसरी उत्पादन सम्बन्धहरू नै माक्र्सवादी राजनैतिक अर्थशास्त्रका अध्ययनका विषय हुन् । एंगेल्सका अनुसार "अर्थशास्त्रले खालि वस्तुहरूका सम्बन्धहरू मात्र होईन, मानिसहरू बिचका सम्बन्धहरू र अन्ततः वर्गहरूबिचका सम्बन्धको लेखाजोखा गर्दछ ।" मानिसहरूको बिचमा उत्पादन सम्बन्धहरू कसरी कायम हुन्छन् ? यसलाई बुझ्नका लागि हामीहरूले मानिसहरूका उत्पादन सम्बन्धी क्रियाकलापहरूलाई केलाउन पर्दछ । उत्पादन गर्नका लागि मानिसहरूका बिच केही निश्चित आपसी सम्बन्धहरू निर्माण हुन जरुरी छ । व्यक्तिहरू छुट्टाछुट्टै रहेर उत्पादन गर्न सक्दैनन् । उत्पादन प्रक्रियामा मानिसहरूका बिचमा निर्माण हुने सम्बन्धलाई नै उत्पादन सम्बन्ध भनिन्छ ।

 

मर्क्सका अनुसार उत्पादन गर्नका लागि मानिसहरूले परस्परमा एक अर्का सित केही निश्चित सम्बद्धता र सम्बन्ध कायम गर्दछन् र खालि यिनै सामाजिक सम्बद्धता र सम्बन्धका बिचमा नै प्रकृतिमा उनीहरूको गतिविधि हुने गर्दछ र उत्पादन हुने गर्दछ । यसरी व्यक्तिहरू एक निश्चित उत्पादन पद्धति अन्तर्गत रहेर निश्चित प्रकारको उत्पादन सम्बन्ध कायम गरेर नै उत्पादन प्रकृयामा समेल हुन्छन् ।
उत्पादन सम्बन्धमा तीन पक्ष हुन्छन् । ती हुन्:
१) उत्पादनका साधनको स्वामित्वको स्वरूप ।
२) उत्पादनमा वर्ग तथा सामाजिक समूह बिचको सम्बन्ध ।
३) भौतिक वस्तुको वितरणको स्वरूप ।
उत्पादनका साधनको स्वामित्वको स्वरूप भन्नुको अर्थ हो ति साधनहरूमाथि कसको अधिकार छ, त्यसको निक्र्योल गर्नु । मेसिन, कारखाना, जमिन, कच्चा पदार्थ आदि माथि जसको स्वामित्व तथा अधिकार छ, त्यसले मुख्य रूपमा उत्पादन सम्बन्धलाई निर्धारण गर्दछ । यो नै उत्पादन सम्बन्धको मुख्य पक्ष तथा आधार हो, यसले नै उत्पादन सम्बन्धको प्रकृति निश्चित गर्दछ ।

 

उत्पादक शक्ति र उत्पादन सम्बन्ध मिलेर उत्पादन पद्धतिको निर्माण हुन्छ । सामाजिक उत्पादनका एक पक्ष उत्पादन सम्बन्ध हो भने अर्को पक्ष उत्पादन शक्ति हो । उत्पादन सम्बन्ध उत्पादक शक्तिको विकासको माग अनुरूप हुनुपर्दछ । जब उत्पादनका कुनै सम्बन्धहरू उत्पादक शक्तिको विकासमा बाधक हुन्छन्, त्यतिखेर ति उत्पादन सम्बन्धहरू कुनै अन्य नयाँ उत्पादन सम्बन्धहरू, जुन उत्पादक शक्तिको विकास अनुरूप हुन्छन्, द्धारा विस्थापित हुन्छन् । भनाईको तात्पर्य हो, उत्पादन सम्बन्धका स्वरूपहरू मान्छेका मनोगत ईच्छाद्धारा नभएर उत्पादक शक्तिको विकासको स्तरद्धारा निर्धारित हुन्छन् । उत्पादन सम्बन्ध उत्पादक शक्तिको विकास अनुकुल हुनुपर्दछ । यो मान्छेको इच्छाभन्दा स्वतन्त्र वस्तुगत नियम हो । कुनैपनि उत्पादन सम्बन्धको उद्भव, विकास अनि विनाश  खास उत्पादक शक्तिका अन्तरविरोधहरूको क्रमिक विकासको सँगसँगै हुन्छ ।

 

उत्पादक शक्ति र उत्पादन सम्बन्धबिच द्वन्द्वात्मक सम्बन्ध रहने गर्दछ । उत्पादन सम्बन्धहरू उत्पादक शक्तिको अनुरूप रहेको अवस्थामा उत्पादन सम्बन्धले उत्पादक शक्तिको विकासमा सकारात्मक भूमिका खेल्दछ । तर जब उत्पादन सम्बन्ध उत्पादक शक्तिको अनुरूप रहन्न, तब यसले उत्पादक शक्तिको विकासमा बाधा उत्पन्न गर्दछ । जब उत्पादक शक्तिहरू उत्पादन सम्बन्धलाई परिवर्तन नगरी विकसित हुन सक्दैन, तब उत्पादन सम्बन्धको रूपान्तरणले प्रमुख र निर्णायक भूमिका खेल्दछ । उत्पादन सम्बन्धमा परिवर्तन भएपछि नै सामान्य तथा उत्पादक शक्तिको मुख्य विकास हुन्छ । यो सार्वभौमिक नियम हो । तसर्थ ुउत्पादक शक्तिको विकासको लागि उनीहरूको विकास अनुरूप नहुने पुराना उत्पादन सम्बन्धहरूको विनाश र तिनीहरूको स्थानमा उत्पादक शक्तिको विकासको अनुरूप हुने नयाँ उत्पादन सम्बन्धहरूको स्थापना आवश्यक हुन्छ ।ु पुराना उत्पादन सम्बन्धहरूको विनाश र नयाँ उत्पादन सम्बन्धहरूको सिर्जना सहज र सरल तरिकाले हुँदैन । क्रान्तिकारी परिवर्तन मार्फत नै पुरानो उत्पादन सम्बन्धको खारेजी र नयाँ उत्पादन सम्बन्धको स्थापना गरिन्छ ।

 

उत्पादन सम्बन्ध र उत्पादक शक्तिको बिचको अन्तरविरोधको व्याख्याका साथै उपरी संरचना र आर्थिक आधारका बिचको सम्बन्धहरूको खोजबिन गरेर मात्र पुराना उत्पादन सम्बन्धहरूको नयाँ उत्पादन सम्बन्धमा रूपान्तरणको प्रक्रियालाई बुझ्न सकिन्छ । उत्पादन सम्बन्धहरू आर्थिक आधार हुन भने सरकार, सेना, कानुन, राजनैतिक संस्थाहरू, विचारधारा, दर्शन, संस्कृति साहित्य आदि उपरी संरचना हुन । आर्थिक आधारले उपरी संरचनालाई निर्धारित गर्दछ । माक्र्सका अनुसार— ुयस प्रकार जब पुरानो आर्थिक आधार विघटन हुन्छ, त्यो आधारमा बनेको संरचना विघटित हुन्छ । तर जुन रूपमा आधार विघटित हुन्छ, त्यही रूपमा संरचना विघटित हुदैन । खास गरेर सत्ताच्युत वर्गसित सम्बन्धित पुराना वैचारिक रूपहरू लामो समयसम्म रहन्छन् । संरचना आर्थिक आधारद्वारा निर्धारित हुन्छ । एकपटक संरचना कायम भएपछि त्यसले आर्थिक आधार माथि ज्यादै प्रभाव पार्दछ ।ु स्टालिनका अनुसार—  संरचनाले आफ्नो आधारलाई आकार ग्रहण गर्न र सुदृढीकरण गर्नका लागि सक्रिय सहयोग गर्दछ । पुरानो आधार र पुरानो वर्गहरूलाई ध्वस्त पार्न र हटाउन नयाँ व्यवस्थालाई सकेसम्म सहायता गर्दछ । यसरी संरचनाले पुँजीवादी संरचनाले पुँजीवादी आर्थिक आधारको सेवा गर्दछ भने समाजवादी संरचनाले समाजवादी आर्थिक आधारको सेवा गर्दछ ।
पुँजीवाद पूर्वका उत्पादन पद्धतिहरू 

 

आदिम साम्यवाद 
आदिम साम्यवादमा उत्पादन व्यवस्था उत्पादनका साधनहरू माथि सम्पूर्ण समाजको सामुहिक स्वामित्व रहनुका साथै समाजमा सबै सदस्यहरूका बिचमा समान तथा सहयोगी सम्बन्ध हुन्छ । ुआदिम सामुदायिक समाज परिमार्जित ढुंगे औजार र तामा तथा काँसका औजारहरू प्रयोग गरी सिकार तथा खाद्य संग्रह र प्रारम्भिक कृषि एवम् पशुपालन जस्ता क्रियाकलाप गर्ने वर्ग विहिन समाज हो । मानिस र पशुको बिचमा भिन्नता छुट्याउने सबभन्दा महत्वपूर्ण तत्व श्रमका औजारहरूको उत्पादन नै हो । यही औजारहरूको प्रयोगले कृषि र पशुपालन प्रारम्भ भयो । मानिसहरूले उत्पादन बढाउँदै लगे, जसले गर्दा सम्पत्तिको संचय सम्भव भयो । फलस्वरूप वर्ग विहिन आदिम सामुदायिक प्रणाली क्रमशः वर्गीय समाजतिर उन्मुख हुन लाग्यो । यसरी उत्पादनका साधनहरूमाथि रहेको समाजको सामुहिक स्वामित्वको अन्त्य भै व्यक्तिगत स्वामित्वको प्रादुर्भाव हुन पुग्यो ।

 

दास प्रथात्मक व्यवस्था 
दास प्रथात्मक समाज मुख्य रूपमा दास र दास मालिक वर्गमा विभाजित एवम् दास मालिक वर्गको कुलीन तन्त्रीय शासन चल्ने समाज हो । दास व्यवस्थामा उत्पादनका साधनहरूको साथै स्वयम् दास पनि दास मालिकको स्वामित्वमा रहने गर्दथ्यो । दासलाई किनबेचको वस्तुको रूपमा व्यवहार गरिन्थ्यो । दास व्यवस्थाबाट नै उत्पादनको साधन माथि नीजि स्वामित्वको जन्म भयो अर्थात शोषणको जन्म भयो । दास प्रथामा दासहरू माथि अत्यन्त ठुलो शोषण र दमन हुने गर्दथ्यो र त्यसको विरुद्ध ठुला ठुला विद्रोह र अवज्ञा आन्दोलन समेत भए । जसको फलस्वरूप दास प्रथा आफैमा अनुत्पादक र बोझिलो हुन थालेपछि दास मालिकले यो प्रथालाई अन्त्य गर्न बाध्य भयो ।

 

सामन्ती उत्पादन व्यवस्था 
सामन्तवादी समाज मुख्य रूपमा किसान र जमिन्दार वर्गमा विभाजित वर्गीय समाज तथा आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले शोषणयुक्त र भेदभावयुक्त समाज हो । सामन्ती व्यवस्था  एक वर्गीय शोषणमा आधारित व्यवस्था हो । यस व्यवस्थामा किसान र भूदासहरूमाथि चर्को शोषण र दमन हुने गर्दथ्यो । भूमिमाथि जमिन्दारहरूको स्वामित्व रहेको हुनाले किसानहरूलाई उत्पादनको एक सानो हिस्सा दिएर अरु हिस्सा स्वयम् जमिन्दारहरूले लिने गर्दथे । तर संसार भरी नै सामन्तीवादी व्यवस्थाको विरुद्धमा किसानहरूको ठुला ठुला संघर्षहरू संचालन भए । यसको साथसाथै सामन्ती व्यवस्थाको गर्भभित्रै पुँजीवादको भ्रूण विकास हुन थाल्यो । औद्योगिक क्रन्तिको परिणाम स्वरूप  युरोपमा पन्ध्रौं र सोह्रौं शताब्दीमा पुँजीवादी उत्पादन प्रणालीको विकास भयो । विभिन्न देशहरूमा पुँजीवादी जनवादी क्रान्तिको परिणाम स्वरूप सामन्तवाद समाप्त भएर पुँजीवादको स्थापना हुन गयो । सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिले युरोपबाट सामन्तवादका जरा उखेलेपछि सामान्यतया विश्वभरिमा सामन्तवाद समाप्त भएको मानिन्छ । तर एशिया, अफ्रिकाका विभिन्न अविकसित मुलुकहरूमा अझै पनि सामन्तवादले जरा गाडिरहेको छ । नेपालमा वि.सं. २०६२।०६३ को आन्दोलनबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्नुका साथै संविधानसभाबाट मुलुकको संविधान जारी गरेपछि संस्थागत रूपमा नै सामन्तवादको अन्त्य भएको मानिन्छ । नेपालमा सामन्तवादका अवशेषहरू भने आर्थिक, सामाजिक, सांस्कृतिक, वैचारिक पक्षहरूमा अझै देखा परिरहेका छन् । यिनीहरू विरुद्ध सशक्त रूपमा आन्दोलनअघि बढाउँदै वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढ्नु नै नेपाली क्रान्तिकारीहरूको मुख्य र केन्द्रीय कार्यभार हो ।

 

पुँजीवादी उत्पादन पद्धति :
माल 
पुँजीवादी उत्पादन पद्धतिलाई बुझ्नका लागि सबभन्दा पहिले माललाई बुझ्नु पर्दछ । पुँजीवादी समाजमा हरेक उत्पादन माल हुन्छ । उत्पादनका साधन र उपभोक्ता वस्तुहरू मात्र माल ९ऋयmmयमष्तथ० हुने होइन कि मानवीय श्रम पनि माल हुन पुग्दछ । माल पुँजीवादी अर्थव्यवस्थाको कोशिका हो । 

 

माल विनियमका लागि गरिएको श्रमको उपज हो । बजारमा बेच्ने उद्देश्यले निर्माण गरिएको वस्तु नै माल हो । जनु वस्तु बजारमा लगेर बिक्री गर्न खोजिँदैन, उपभोगको लागि उत्पादन गरिन्छ, त्यसलाई माल नभनिकन उपभोक्ता वस्तु भनिन्छ । मालको विकास आदिम साम्यवाद पछि दास युगबाट प्रारम्भ भयो र समन्तवादमा केही मात्रामा विकास हुँदै पुँजीवादमा चरम रूपमा विकास भयो । पुँजीवादमा संसारमा रहेको हरेक कुरा माल हुन, मानवीय श्रम समेत ।  (लेखक नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुल विभाग सदस्य हुनुहुन्छ र राजनीतिक अर्थशास्त्र प्राध्यापन गर्नुहुन्छ ।)