काठमाडौँ, साउन १० (रासस)
कञ्चनपुरको भीमदत्तनगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्धाको टुङ्गो लागेको छैन ।
विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । उक्त घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभर आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बनेको थियो । यस प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीले विभिन्न छुट्टैछुट्टै छानबिन समिति गठन भए । तर हालसम्म पनि प्रहरी अपराधीसम्म प्रहरी पुग्नसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले
प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको जानकारी बताउनुहुन्छ । “अहिले पनि घटनाको निरन्तर अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “जिल्ला प्रहरी र सिआईबीको टोली अहिले पनि अनुसन्धानमा खटिएको छ ।” प्रहरीले अहिले पनि घटनामा शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ ।
घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म एक सय २३ जनाको डीएनए परीक्षण गरिसकेको छ । निर्मलाको न्यायका लागि सडकदेखि सदनसम्म जोडतोडका साथ आवाज उठ्यो । न्यायको लडाइका लागि निर्मलाका आमाबुवा महेन्द्रनगरदेखि काठमाडौँसम्म धाए पनि न्याय प्राप्त भएको छैन ।
घटना भएको एक महिनापछि २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका– १९ बागफाटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।