हाम्रो समाज ‘हिँड्दैछ, पाइला मेट्दैछ’ जसरी अघि बढिरहेको देखिन्छ । मानिस वर्तमानमा बाँच्ने हो, भविष्यका लागि पनि केही गर्ने हो । तर, वर्तमान र भविष्यको आधार विगत हो, आफ्नै इतिहास हो । आफ्नो इतिहास हराउनु, नासिनु, मेटिनु भनेको पहिचान नासिनु, हराउनु र मेटिने हो । यसरी भनौँ, ‘वर्तमानमा बाँच, भविष्यका लागि साँच, तर इतिहास नमास ।’ संस्कृतमा एउटा भनाइ छ, छिन्ने मूले नैव शाखा न पत्रम् अर्थात् जरो नै काटियो भने न हाँगा रहन्छ, न पात नै ।’ हाम्रो मूल, हाम्रो वर्तमानको आधार हाम्रो इतिहास नै हो ।
आज राष्ट्रिय सहकारी दिवस हो । नेपालमा औपचारिक रूपमा सहकारी संस्था स्थापना भएको ६६ वर्ष भएछ । यो कानुनी रूपमा हो । सहकारी संस्थाको मात्र कुरा गर्दा यो सही हो, तर यसलाई आन्दोलन, अभियान, जीवन, सभ्यता आदि मान्ने हो भने सङ्कुचन हो, सङ्कीर्णता हो, अन्धविश्वास हो । आप्mना कुरा थाहै नपाई अरुका पछि लाग्नु नै त हो नि अन्धविश्वास ! सहकारी संस्थाहरूको विकाससँगै सहकारीका मर्म र भावना, इतिहास र संस्कृतिलाई विस्मृतितिर धकेलेको छ ।
नेपाली समाजमा सहकारीको जरा योभन्दा कैयौँ गुणा वर्ष पुरानो छ, अर्थात् हाम्रो जीवन नै सहकारी जीवन हो, हाम्रो सभ्यता नै सहकारी सभ्यता हो, यो अज्ञात कालदेखि चलिआएको छ । यसलाई समय र सभ्यतासँग जोड्दा वैदिककालदेखिको विगतसँग जोड्न सकिन्छ । पुराणकालमा पनि यो देखिन्छ, भेटिन्छ । बुद्धकालमा त यो मुख्य जीवनसूत्रका रूपमा रहेको भेटिन्छ । त्यतिबेला अहिलेको आधुनिक राष्ट्र थिएन । सबै विषय कानुनी औपचारिकताका विषय पनि हुँदैन थिए । मिलेर बस्नु, मिलेर काम गर्नु, मिलेर सत्रुको सामना गर्नु, मिलेर पढ्नु, मिलेर पौरख गर्नु, अर्मपर्म गर्नु, ऐँचोपैँचो गर्नु, सरसापटी लिनुदिनु जस्ताविषय कानुनी विषय थिएनन्, तर यी सहकारी थिए । तर, पछिल्लो समय विकास भएको सहकारी परिघटनालाई पछ्याउँदा हाम्रो सहकारी जीवन पनि थियो भन्न पनि नसक्ने गरी पछौटे भइयो । अन्यत्रबाट सिक्नु, बुझ्नु, जान्नु, मान्नु, गर्नु नराम्रो हुँदैहोइन, अझ साह्रै राम्रो हो, तर आप्mनो चटक्कै बिर्सनु त पुर्खा प्रतिको कृतघ्नता हो । आज मनाइँदै गरेको सहकारी दिवसले यसतर्फ हेक्का गरोस् ।
वेदको यी मन्त्रहरू हाम्रो सहकारी जीवनका मार्गदर्शन हुन्—
सङ्गच्छध्वं सं वदध्वं सं नो मनांसि जानताम् । देवा भागं यथा पूर्वे सञ्जानाना उपासते अर्थात्— आपसमा मिलेर हिँड, आपसमा मिलेरै बोलचाल गर । मनको कुरो आपसमा मिलेर आदान—प्रदान गर र नयाँ कुरो सिक । उहिलेका सज्जन मानिसहरूले आपसमा मिलेर यज्ञ उपासना आदिका काम गरेझैँ तिमीहरू पनि एकमत होओ । समानी व आकूतिः समाना हृदयानि वः । समानमस्तु वो मनो यथा वः सुसहासति अर्थात्— तिमीहरूको हृदय एकै होस्, तिमीहरूको मन एकै होस्, सङ्कल्प एकै होस् । त्यसैबाट एकापसमा मिलेर आआफ्ना सबै काम पूरा गर्न सक ।
सह नाववतु । सह नौ भुनक्तु । सहवीर्यं करवावहै । तेजस्वि नावधीतमस्तु । मा विद्विषावहै । अर्थात्— हामी दुई सँगै संरक्षित होऔँ । सँगै खाऔँ—भोग गरौँ । सँगै पराक्रम गरौँ । तेजिला ज्ञानी र अध्ययनशील बनौँ । कहिल्यै झगडा नगरौँ । सद्भाव, मेलमिलाप र सहकार्यका लागि प्रेरित गर्ने यी मन्त्रहरू समाजमा विद्यमान अनेकौँ समस्या समाधान गर्ने सामथ्र्य राख्दछन् । यस्तो ज्ञानगर्भित शिक्षा आजको आधुनिक भनिएको पाठ्य क्रममा कतै छ ? छैन ।
विकासका बारेमा निकै चर्चा चल्दछ । विकास सबैका लागि आवश्यक विषय हो । विकास बहुआयामिक विषय हो । केही मानिसहरू विकास भनेको भौतिक पूर्वाधार— बाटो, भवन, पुल, सिँचाइ, खानेपानी आदि मात्र बुझ्दछन् । केही मानिसहरू शिक्षा, रोजगार, सहभागिता, क्षमता अभिवृद्धि, जीवनस्तरमा सुधार आदिलाई विकास मान्दछन् । कतिपय मानिसहरू सुशासन, प्रशासनिक सहजता, उपभोग्य वस्तुहरूको सहज उपलब्धता आदिलाई विकास मान्ने गर्दछन् । केही मानिसहरूको बुझाइमा विकास भनेको अर्थतन्त्रमा आउने सकारात्मक परिवर्तन हो । राज्यको ढुकुटीमा सञ्चिति बढ्नु, मुद्रास्फीति स्थिर हुनु, विदेशी मुद्राको सञ्चिति बढ्नु आदिलाई विकासको विषय मान्दछन् । केही मानिसहरू न्याय, समानता, सद्भाव, समावेशिता आदिबारे नीतिगत सुनिश्चितता, नागरिक अधिकार उपयोगको दुरुस्त अवस्था हुनुलाई विकास मान्दछन् । वास्तवमा यी सबै बुझाइको समष्टि नै विकास हो । यस अर्थमा यी सबैलाई समेट्ने विकासको माध्यमको अभ्यास हुने ठाउँ सहकारी संस्था हुन् । सहकारीमा माथि उल्लेख गरिएका र उल्लेख नभएका विषय समेत समेटिएको हुन्छ । सहकारी व्यापकता समेटिएको सर्वाङ्गीण विकास अभियान हो ।
सहकारी र सहकारी संस्था फरकफरक विषय हो । सहकारी आन्दोलन वा अभियान अर्कै हो र सहकारी संस्कृति फरक विषय हो । ‘सह’ सँगै मिलेर, ‘कारी’ गर्ने, गरिने काम नै सहकारी हो । यो संस्थागत, संगठित वा असंगठित पनि हुन सक्दछ । अर्मपर्म गर्ने, ऐँचोपैँचो गर्ने, सरसापटी लिने—दिने, झारा जाने आदि सहकारी हो । यो असंगठित वा अनौपचारिक सहकारी हो ।
यसरी अर्मपर्म गर्ने, ऐँचोपैँचो गर्ने, सरसापटी लिने—दिने आदि कार्यलाई खातापत्रमा लेखी हिसाब—किताब राख्ने चलनसँगै यस्तो सहकार्यलाई व्यवस्थित र परिणाममुखी बनाउन बनाउन सुरु गरियो । यही चलनलाई लक्ष, उद्देश्य, नियम आदि समेत निर्धारित गरी समिति नै बनाएर अधिकार तथा जिम्मेवारी तोकी थप व्यवस्थित बनाएपछि सहकारी संस्था भयो । सरकारको सम्बन्धित निकायमा दर्ता गरेर चलाउने भएपछि यो पूर्णरूपमा औपचारिक हुँदै आयो । यसका लाभबारे धेरैलाई जानकारी गराउने, यसो गर्न प्रेरित गर्ने काम सहकारी अभियान हो । सहकारीको विकासका लागि सरकार वा राज्यसँग पैरवी गर्ने, उपयुक्त ऐनकानुन निर्माण गर्न दबावमूलक काम गर्नु सहकारी आन्दोलन हो । जुनसुकै राजनीतिक पक्षधरता, धार्मिक विश्वास, जुनसुकै जातजाति, लिंग, वर्ग भए पनि ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने विचार, भावनालाई जीवन पद्धतिको रूपमा स्वीकार गर्नु सहकारी संस्कृति हो । सामान्यतः सहकारीलाई यसरी बुझ्न सकिन्छ । सहकारी प्राकृतिक गुण हो । यस्तो गुण प्रकृतिले पशु–पंक्षीलाई पनि दिएको छ । माहुरी, कमिला, चरा, हरिण आदि समूहमा मिलेर बस्ने गर्दछन् ।
मानिस चेतनशील प्राणी त हुँदै हो । मानिस जन्मका हिसाबले कुनै लिंग, जाति, भूगोलको हुन सक्दछ । कुनै देशको नागरिक हुन सक्दछ । तर मानिसको सोच—विचार, आकाङ्क्षा तथा सहकार्यको दायरा सीमित हुँदैन । मानिसले आफ्नो हित तथा उन्नतिका लागि राज्यका सीमा नाघ्न सक्दछ । मानिस वास्तवमा अन्तर्राष्ट्रिय जाति हुने दौडमा रहेको छ । यसलाई अन्यथा मान्न आवश्यक छैन । सहकारीको माध्यमबाट पनि मानिस अन्तर्राष्ट्रिय बनेको छ । सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय संस्था ‘अन्तर्राष्ट्रिय सहकारी महासंघ’ निर्माण भइसकेको छ । यसबाट सहकारीले आपूmलाई आर्थिक नाफा नोक्सानको दायरामा मात्र सीमित नराखेको पुष्टि हुन्छ । ‘अन्तर्राष्ट्रिय सहकारी महासंघ’ले सन् १९९५ सेप्टेम्बरमा पारित गरेको परिभाषाले सहकारीको क्षेत्र विस्तारलाई यसरी व्यक्त गरेको छ: ‘आफ्ना समान आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकता र आकांक्षाहरुलाई संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रण रहने संस्था मार्फत् परिपूर्ति गर्नका लागि स्वेच्छिक रूपमा एकिकृत भएका व्यक्तिहरुको एक स्वायत्त उद्यम (संस्था) नै सहकारी हो ।’ ‘सहकारी’को शाब्दिक अर्थ लगाएर संगठित गरिएको सहकारीको संस्थागत विकासलाई यो परिभाषाले निकै माथि उठाएको छ । यसमा अब आर्थिक लेनदेन मात्र होइन, आर्थिक विकासका क्रियाकलाप मात्र होइन, सामाजिक तथा सांस्कृतिक विषयलाई पनि उच्च महत्व दिएको स्पष्ट हुन्छ ।
वास्तवमा भन्ने हो भने सहकारी भनेको मानवजातिले प्रकृतिबाट प्राप्त गरेका शिक्षाहरूको उत्कर्ष हो । प्रकृति र यहाँका मानवेतर प्राणीहरूका क्रियाकलाप सहकारीको विकासका आधार हुन् । प्रकृतिको गायनको माध्यमबाट संसारको पूर्वीय भूखण्डका मानव पुर्खा— ऋषिमुनिहरूले सहकार्यको गीत गाए । श्रुतिपरम्पराको माध्यमबाट जनजनका बीचमा पु¥याए । जात, लिंग, भूगोलभन्दा निकै माथि रहेर अनुमान, अन्तक्र्रिया, तप, साधना र दैनिक व्यवहारका अनुभवहरू सँगालेका हाम्रा पुर्खाले संकलन गरेका ज्ञान(वेद)मा यी विषय बडो स्पष्टतासाथ पाइन्छ । लेख्ने चलनचल्तीको विकास नभएको हुनाले वेद सुनाएर प्रसार गरिन्थ्यो । त्यसैले वेदलाई श्रुति भनिएको हो । हाम्रा पुर्खाले यस्तो सहकार्यलाई जीवन पद्धतिको अँगाले । यसलाई धर्म–संस्कृतिको रुपमा अवलम्बन गरे । परम्पराको रुपमा अघि बढाए । यज्ञ–यज्ञादिको रूपमा प्रयोग गरे । जीवन पद्धति, धर्म—संस्कृति, यज्ञ अर्थात् सामूहिक कर्मका रूपमा प्रयोग गर्दै परम्परा चलाएर हामीसम्म आइपुगेको यस्तो विषयबारे हामी अनजान जस्तै छौँ ।
वेदव्यासको भनाइको रूपमा यो भनाइ प्रसिद्ध छ: ‘संघे शक्ति कलौयुगे । अर्थात् कलियुगमा संघमा शक्ति हुन्छ ।’ वेदपछिका ग्रन्थहरू प्रायः स्मृति हुन् । स्मृति भनेको सम्झेर अघि बढाउने विषय हो । स्मृतिमा पनि यसरी संगठित शक्तिको महत्व दर्शाइएको छ । नीतिशास्त्रमा भनिएको छ: ‘अल्पानामपि वस्तूनां संहति कार्यसाधिका । तृणैर्गुणैस्त्वमापन्नैः बध्यन्ते मत्तदन्तिनः । अर्थात् थोरै थोरै वस्तुको समूह पनि काम सफल पार्न सार्थक हुन्छन् । ससना खरका त्यान्द्राले पनि बाटिएर डोरी बनेपछि बलियो मत्त हात्ती बाँध्न सक्दछन् ।’ यस्ता विषयबाट मानिसलाई संगठित भई सहकार्य गर्न प्रेरित गरिएको देखिन्छ । वेद, शास्त्रमा यस्ता अनेकौँ वचन र व्यावहारिक प्रयोगका प्रसंग छन् ।
महामानव गौतम बुद्ध त हाम्रै नेपाली भूभागमा जन्मेको गौरव छँदैछ । गौतम बुद्धले गरेको तपको ठूलो उपलब्धिका सूत्रहरू हामी सम्झन सक्छौँ: ‘बुद्धं शरणं गच्छामि अर्थात् ज्ञानको शरणमा जान्छु । धम्मं शरणं गच्छामि अर्थात् धर्मको (नीति—नियम र कर्तव्य) को शरणमा जान्छु । संघं शरणं गच्छामि अर्थात् संघको शरणमा जान्छु, संघलाई सर्वोपरि महत्व दिन्छु ।’ यी सूत्रहरू पूर्णतः सहकारीका विषय हुन् । यसबाट सहकारी अभिप्रेरित रहेको देखिन्छ ।
नेपालमा गुठी, धर्मभकारी, खलः आदि सहकारीकै रूप हुन् । चाडपर्व, आजापूजा, जन्ती, मलामी, रोपाइँ, दाइँ, घर छाउने आदिमा नगद खर्च गर्न नपर्ने गरी सहकार्यको प्रावधान हामीले देखे—भोगेकै विषय हुन् ।
जब हामीले आफूलाई बाहिरी जगतमा पुऱ्यायौँ, हामी बाहिरी घटनाहरूबाट प्रभावित भयौँ । पहिलो भनेर प्रचारित बेलायतको म्यानचेष्टरमा सन् १८४४ मा सुरु गरिएको रोचडेल इक्वीटेबल पायनियर सोसाइटी हो । यो खास घटनाबाट सुरु भएको हो । औद्योगिक क्रान्तिकारण किसानसँग खेती गर्ने जग्गाजमिन नरहने अवस्था भएपछि त्यहाँका श्रमिकहरूले यस्तो सहकार्यको सुरु गरेका हुन् । अन्यत्र पहुँच बढाउनु, अरुबाट सिक्नु, सिकाइबाट थप लाभान्वित हुनु राम्रो हो । तर, के हामी अरुबाट लिन मात्र पर्ने अवस्थाका हौँ र ? संसारका मानव जातिलाई हामीले दिएको र दिन सकिने योगदान कम छन् ? अवश्य छैनन् । आफ्नै नेपाली माटोमा सहकारी संस्कृति विकास गर्न र हाम्रा पुर्खाले सहकारीका सन्दर्भमा गरेका योगदानहरूको चर्चा अन्यत्र पुऱ्याउने हाम्रो दायित्व होइन र ?
सहकारीलाई आर्थिक क्रियाकलापको मात्र विषयभन्दा माथि उठेर हेर्दा यहाँको प्रकृति, वेद, शास्त्र, परम्परा, संस्कृति, सामाजिक क्रियाकलाप आदिले विश्वको सहकारी आन्दोलनमा ठूलो योगदान गरेको छ । जुनसुकै विषयको अन्तर्राष्ट्रिय सहभागितामा हाम्रो योगदान बिर्सनु हुँदैन । सहकारी आन्दोलनको पृष्ठभूमिमा हाम्रो पुर्खा र संस्कृतिले गरेको योगदानको सम्मान र स्मरण गरौँ । सहकारीलाई युरोपेली औद्योगिक—आर्थिक क्रान्तिसँग मात्र जोड्नु कृतघ्नता र भ्रम हो । यसमा पूर्वीय पहिचान र भाग गुमाउनु मूर्खता हो ।