काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा प्रस्तुत गरेको छ । समिक्षा मार्फत राष्ट्र बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको उद्घोष गरेको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने छ ।
कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि राष्ट्र बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिईएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ । आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग जानकारी पनि दिएको छ ।
मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई भने राष्ट्र बैंकले यथावत राखेको छ । मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिईने छ ।
राष्ट्र बैंकले विभिन्न ४७ प्रमुख शीर्षक अन्तर्गतका हार्माेनिक कोड भएका वस्तुहरुको आयातको लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ । तातोपानी भन्सार बिन्दुमार्फत हुने आयात कारोबारको सम्बन्धमा अधिकतम अमेरिकी डलर तीन हजारसम्मको सामान आयातको लागि नगद विदेशी मुद्रा उपलब्ध गराउन सकिने विद्यमान व्यवस्थालाई हटाइएको छ ।
वाणिज्य बैंकले तोकिएका शर्तहरू पालना हुने गरी परिवत्र्य विदेशी मुद्रामा बचत निक्षेप संकलन तथा परिचालन गर्न संचालित खातामा कायम हुनुपर्ने विद्यमान न्यूनतम मौज्दात परिवर्तन गरी अमेरिकी डलर एक हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।