images
images

सभ्य समाजका लागि स्वीकार्यता र लोकतन्त्र !

तपाईँलाई मन पर्ने कुरा अरु कसैलाई मन नपर्न सक्छ । तपाईँलाई भी आकारको गला भएको स्वीटर मन पर्न सक्छ भने अरुलाई राउण्ड(गोलो आकार) सेपको गला भएको स्वीटर मन पर्न सक्छ । रंगको छनोट पनि त्यस्तै हुन्छ । रातो टिका निधारमा लगाउँदा मन पराउने मान्छेले रातो कपडा मन नपराउन सक्छ । कसैलाई कालो रंगको कपडा मन पर्छ त कसैलाई सेतो, नीला, रातो, पहेँलोे वा अन्य कुनै रंग मन पर्छ  । कसैलाई भादगाउँले टोपी मन पर्छ भने कोही ढाका टोपीका पारखी हुन्छन् । कोही ह्याट(टोप) र क्यापमा सजिन मन पराउँछन् । कसैलाई लामो कपाल राख्न मन लाग्छ भने कोही थाईकटमा प्रस्तुत हुन पाउँदा खुसी हुन्छन् ।


खाने विषयमा पनि त्यस्तै हो । करेला कसैको लागि अति मन पर्ने औषधीय गुण भएको तरकारी हो तर कसैलाई यो करेला पटक्कै मन पर्दैन । अरु छोडौँ समान्य जुत्ताचप्पल लगाउने विषयमा पनि विविधता देख्न सकिन्छ । कसैलाई तुनावाला जुत्ता मन पर्दैन, सर्लक्क खुट्टा छिराउन मिल्ने साइड साइडमा इलास्टिक भएको जुत्ता मनपर्छ ।


यति मात्र कहाँ हो र ? एउटै कोठाको मौसम हो, तर कसैलाई गर्मी भयो भनेर पंखाको गति बढाउन मन लाग्छ, त्यही कोठामा अर्को कसैले पंखा बन्द गरेर न्यानो बनाउन खोजेका हुन्छन् । खाने कुरा पनि त्यस्तै हो । खाने कुरामा नै हे¥यौँ भने पनि थाहा हुन्छ, कसैलाई रोटी मन पर्छ भने कसैलाई ढिडो मन पर्छ । कसैले भात नखाइ नहुने बताइरहेका हुन्छन् । कसैलाई मटन मन पर्छ त कसैलाई चिकेन रुच्दछ । कोही पोर्क मन पराउँछन त कोही लेम्ब मन पराउँछन् । कसैले माछा मन पराएको पाइन्छ भने कोही त अझ भेगन समेत हुन्छन् । अरु त के कुरा त्यही अन्डा पनि कोही उसिनेको मन पराउने हुन्छन् भने कोही अम्लेट मन पराउने हुन्छन् ।


ठाउँ—स्थानविशेषमा पनि रुचिमा भिन्नता हुन्छ । कसैलाई हिमालको दृश्य अति नै  मन पर्छ भने कसैलाई तराईको घना जंगल र बाघ भालु, हात्ती, गैँडा आदि जनावर हेर्न मन लाग्छ । कसैलाई एकान्त मन पर्छ, भिडभाड र कोलाहल मन पर्दैन, तर कसैलाई भिडभाड वा समुहमा घुलमिल भएर रमाइलो गर्न मन लाग्छ ।सवारी साधन प्रयोगमा पनि मानिसका रुचिमा भिन्नता देखिन्छ । कोही होन्डा गाडीका पारखी छन् भने कसैले  टोयोटाभन्दा अरु सोच्नै सक्दैनन् । कोही टेस्ला चड्छन् त कोही निशान कम्पनीका गाडी मन पराउँछन् । मलाई लोकगीत अति नै मन पर्छ तर मेरो छोरा छोरीले लोकभन्दा आधुनिक गीत बढी मन पराउँछन् । कसैले भजन, धार्मिक कीर्तन आदि रुचाएको पाइन्छ ।


यहाँ भन्न खोजिएको कुरा के हो भने मानिसको खाने, लाउने, घुम्ने, सवारी प्रयोग गर्ने कुराको रुचिमा मात्र भिन्नता होइन कि उनीहरूको आनीबानी, स्वभाव, चिन्तन, सोच र दृष्टिकोणमा पनि भिन्नता हुन्छ । सामाजिकीकरण, संगत, माहोल, पारिवारिक तथा सामाजिक वातावरण, सम्बन्ध, व्यक्तित्वको प्रभाव अनि शिक्षा, तालिम आदि जस्ता कुराहरूले पार्ने प्रभाव पनि व्यक्तिपिच्छे फरक फरक हुन्छ । यो बाहेक व्यक्तिको उमेर, जाति, थर, लिङ्ग, धर्म, भूगोल आदि जस्ता संरचनागत भिन्नता त छँदै छन्, यिनमा आधारित विभेद पनि छन् । यी सबै कुराको प्रतिफल स्वरूप समाजमा अनेकता, विविधता र बहुलता देखा पर्नु स्वाभाविक हो । यसलाई जसले सहजतापूर्वक स्वीकार गर्न सक्छ, त्यो व्यक्तिलाई महान मान्न सकिन्छ । कसैको पेसा महान तर अरु कसैको पेसा सानो वा नराम्रो भनेर हेयभाव देखाउनु पूर्ण रूपमा गलत हुन्छ । स्वाभिमान सबैको हुन्छ । अपमान कसैलाई पनि मन पर्दैन । अरु सही भएको बेला हामी गलत पनि त हुन सक्छौँ ! छ भने एउटै कुरामा समानता छ त्यो हो मानवता ! त्यही कारण हो कि मानवअधिकार विश्वव्यापी समान अवधारणा र स्वीकार्य सिद्धान्त बन्न सकेको छ । समाजमा रहेको यही र यस्तै विविधता र भिन्नतालाई हृदयदेखि नै स्वीकार गर्न सक्नु सच्चा लोकतान्त्रिक हुनु हो । लोकतन्त्र भनेको वास्तवमा समाजिक, राजनीतिक, सामुदायिक विविधता सहनु, स्वीकार गर्नु हो । स्वीकार्नु भनेको वस्तुगत प्रश्नको उत्तर दिँदा थ्भक र  ल्य (हो, होइन) को विकल्प छनौट गरे जस्तो विषय होइन । यो त मन र व्यवहार दुवै पक्षमा प्रतिबिम्बित हुनु पर्दछ । मुखले एउटा कुरा बोल्ने तर व्यवहारमा अर्कै कुरा देखाउने दही चिउरे प्रवृत्ति कसैलाई पनि मन पर्दैन ।


अहिले नेपालको अवस्था हेर्दा आश्चर्य लाग्दो देखिन्छ । लोकतन्त्र छ, स्वीकार्यता कमजोर छ । लोकतन्त्रले कसैले बाँध्ने गर्दैन र बाँधेको पनि हुँदैन, धेरैले यसलाई बुझ्न नसकेर हो कि किन हो, एकले अर्कालाई सहजै स्वीकार गर्न सकेको देखिँदैन । राज्यबाट प्राप्त गर्न बाँकी विषय उठाउँदा समाजकै अर्को समुदाय, अर्को जाति, अर्को धर्म, अर्को भूगोलका बासिन्दाका विरुद्धमा गतिविधि भइरहेको देखिन्छ । लोकतन्त्र साझा हो र यो सबैको स्वीकार्यतामा मात्र बलियो हुन्छ भन्ने सोच कमजोर देखिन्छ । यस्तो हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो ।
राजनीतिको कुरा गर्नु पर्दा फरक विचारलाई सम्मान गर्न सक्नु, विपक्षीसँग पनि समन्वय र सहकार्यको ढोका खुला राख्नु, आफ्नै दल वा टिममा कसैले फरक मत राख्छ भने त्यसलाई उदार दिलका साथ स्वागत गर्न सक्नु महानता हुन सक्छ । आफ्नो रुचि अनुसारको दलमा आबद्ध हुनु उसको अधिकारको कुरा हो । बाउ—आमा वा दाइ—दिदीले वा परिवारका प्रभावशाली व्यक्तिले आस्था राख्ने दलमा छोरा—छोरी वा भाइ—बहिनी लाग्नै पर्ने भन्ने सोच पुरातनवादी सोच हो र यस्तो सोच वास्तवमा लोकतान्त्रिक सोच हुन सक्दैन । हिजो तपार्इँसँगै एउटै दल—समूहमा काम गर्ने व्यक्ति आज तपाईँको दल मन नपराएर अर्को दलमा जान पनि सक्छ । ती व्यक्तिहरू पुराना दलबाट टाढा बसेर स्वतन्त्र रूपमा आफ्नो पेसा कर्ममा लाग्न पनि सक्दछन् । त्यस्तो अवस्थामा पनि उनीहरूप्रति तपाईँको दृष्टिकोण सकारात्मक र सम्बन्ध राम्रो नै छ, उनीहरूलाई हेर्ने सवालमा तपाईँमा कुनै पूर्वाग्रह छैन भने तपार्इँ एउटा साँच्चिकै असल मानिस हुनुहुन्छ । मानवीय सम्बन्ध र आत्मीयता ठूलो कुरा हो । मानिस हुनका लागि मानवीययता र मानवीय सुसम्बन्ध अनिवार्य पक्ष हो । राजनीतिक दल, खानपानमा, पहिरनमा, दृश्यावलोकनमा, घुमफिरमा हुने रुचिको भिन्नता स्वाभाविक हो र कतिपय अवस्थामा यी विषय कृत्रिम पनि हुन सक्दछन् । यो मलाई लागेको कुरा हो ।


यतिबेला हाम्रो सामाजिक राजनीतिक परिवेश कस्तो छ ? हामी सबैले एकपटक गतिलो गरी नियाल्ने हो कि ? आन्दोलन, अभियान चलाउनेहरूले यस्ता विषयमा विशेष ध्यान दिने कि ? यसो गर्दा अरुलाई बदल्न नसके पनि हामीले आफूलाई त बदल्न सक्छौँ नि ! सबैले सबैको समान अस्तित्व स्वीकार गरौँ र स्वीकार्यता बढाऔँ । यसो गर्दा सभ्यताको विकास हुन्छ र समाजमा मेलमिलाप बढ्छ ।


लोकतन्त्रको र स्वीकार्यताका दृष्टिले हामीले आपूmलाई निरन्तर खारी रहन आवश्यक हुन्छ । शक्तिसमक्ष राखिने माग र गुनासा आपूmसरहकासँग गरियो भने त्यसले लोकतान्त्रिक अधिकार सुरक्षित र सुदृढ गर्न सक्दैन । लोकतन्त्रलाई सबल बनाउन स्वीकार्यताको मात्र बढाऔँ ।
(लेखक प्रशंसनीय दृष्टिकोणका सफल अभियन्ता हुनुहुन्छ ।)