images
images

कृत्रिम बुद्धिको बढ्दो प्रभाव 

कम्प्युटरको विकास सँगसँगै कृत्रिम बौद्धिकताका सम्भावनाहरू अप्रत्याशित रूपमा बढेका छन् । यसका निम्ति अत्यन्त जटिल र प्रभावकारी भाषा (कम्प्युटर ल्याङवेज) हरू बनाइने कार्य द्रूत गतिमा बढेको छ । स्नायु विज्ञानमा भएका नयाँ अन्वेषणहरूले पनि कृत्रिम बौद्धिकताको विकासमा सहयोग पुर्याएका छन, किनकि कृत्रिम बौद्धिकताले पनि मानवीय स्नायु व्यवहारकै नक्कल गर्ने गर्दछ (अर्विन, २०१७) । 

 

कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) वा यान्त्रिक वुद्धि (मेशिन इन्टेलिजेन्स) मानव वा जनावरको बुद्धिभन्दा फरक वा मेशिन वा यन्त्रको सहयोगमा मानिस वा जनावरले जस्तै बुद्धिको विकास तथा प्रयोग गर्नु हो । यस सम्बन्धी खोजहरू ७०० वर्ष अघिदेखि हुँदै आएको भएता पनि विगत केही दशक यताका धेरै विज्ञान कथाहरू यसमा आधारित भएर लेखिएका थिए । 

 

कम्प्युटरको विकाससँगै सन् १९५० पछि यस सम्बन्धी अनुसन्धानमा धेरै वैज्ञानिकहरू लागि परेको पाइन्छ । सन् १९५६ मा म्याककार्थीले गृष्मकालीन अनुसन्धान कार्यशालामा धेरै इच्छुकलाई ‘कृत्रिम बौद्धिकताको निर्माणमा मिलेर काम गरौँ’ भनी निम्ता दिए र त्यही बेला उनले यो शब्दको विकास गरे । मान्छे जस्तै सोच्ने, अनुहारको हाउभाउ देखाउने, कारण खोतल्ने, तर्क दिन सक्ने यान्त्रिक मानवहरूको प्रयोगमा विगत केही दशक यता अप्रत्याशित रूपमा वृद्धि भएको छ । मोबाइलमा प्रयोग हुने ‘शिरी’ होस् वा चालकरहित कार, अस्पतालमा जटिल शल्यक्रिया गर्न प्रयोग गरिने यन्त्र हुन् वा मङ्कल ग्रहमा गएर केही खोजी गर्ने यन्त्र, यी सबै कृत्रिम बौद्धिकताका रूपमा काम गर्ने बौद्धिक यन्त्र  हुन् । यस दशकमा कृत्रिम बौद्धिकताबारे प्रशस्त अनुसन्धान मात्र भएनन्, यसको व्यापकता तथा दुरूपयोगबाट भविष्यमा हुन सक्ने गम्भीर असरबारे पनि धेरै चर्चा भए । 

 

सन् १९६५ एमआइटीका प्राध्यापक जोसेफ वेजनबमले एलिजा नामक कृत्रिम बौद्धिकताको विकास गरे जसले मनोवैज्ञानिक परामर्श दिने गथ्र्याे (अर्विन, २०१७) । सन् १९७५ मा विकास गरिएको मेटा डेन्ड्रलले रासायनिक परीक्षणको विश्लेषण गर्दथ्यो । सन् १९८७ मा चालकविहीन कारलाई यसैको सहयोगले सडकमा कुदाइयो । अहिले आएर कृत्रिम बौद्धिकताको प्रयोग स्वास्थ्य, विज्ञान, उद्योग, सुरक्षा आदि हरेक क्षेत्रमा हुन थालेको छ ।  कम्प्युटर तथा इन्टरनेट क्षेत्रका ठुला कम्पनीहरूले कृत्रिम बौद्धिकताका प्रखर व्यक्तिहरूलाई खोजी खोजी नियुक्त गर्ने गर्छन् । यस्तो किन भने उनीहरूलाई थाहा छ, अबको समयमा कृत्रिम बौद्धिकताको संलग्नता विना ठुला कामहरू असम्भवप्रायः बन्नेछन् । 

 

सन् २०१८ को मार्चमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले नेपालमा पहिलोपल्ट सोफिया नामक कृत्रिम मानवलाई एक कार्यक्रम बिच प्रस्तुत गर्यो । साउदी अरबले नागरिकको हैसियत दिएको भनिएको यी नारीरूपी मानवमा आममानिसझैं वार्तालाप गर्न सक्ने विलक्षण क्षमता रहेको पाइयो । कृत्रिम बौद्धिकताको यो उच्चतम रूप थियो । 

 

धेरै देशहरूले कृत्रिम बौद्धिकताको अनुसन्धानमा ठुलो रकम छुट्याएका छन् । संयुक्त राज्य अमेरिका, चीन, दक्षिण कोरिया, बेलायत, भारत आदि देशहरूले यस दिशामा विशेष ध्यान दिएका छन् । आगामी केही दशकभित्र कृत्रिम बौद्धिकताले उद्योग, स्वास्थ्य, सुरक्षा, कृषि आदि क्षेत्रमा ठुलो भूमिका निर्वाह गर्नेछ । मान्छेले गर्न नसक्ने तथा खतरनाक कामहरूमा समेत कृत्रिम बौद्धिकतायुक्त यन्त्र मानवहरूको प्रयोगबाट मानव जीवन झन् सहज हुन्छ । तर, यसो गर्दा रोजगारीमा कटौती हुने, यसमा हुन सक्ने सानो गल्ती वा मानिसको नियन्त्रणभन्दा बाहिर गएमा गम्भीर प्रकृतिका समस्या एवं दुर्घटना हुन सक्ने, साइबर अपराधका समस्याहरू बढ्न सक्छन् । हातहतियार र युद्धको क्षेत्रमा हुन सक्ने कृत्रिम बौद्धिकताको प्रयोगको गम्भीर असर हाम्रो आँकलनभन्दा निकै बढी हुन सक्छ । 
(लेखक पीएचडी सेन्टरका प्राज्ञिक सल्लाहकार तथा आइसीए नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)