— घनश्याम कोइराला, काठमाडौँ ।
‘जब म बालक थिएँ,
मलाई लाग्थ्यो, म संसार बदल्न सक्छु ।
जब म जबान भएँ,
मलाई लाग्थ्यो, म मेरो देशलाई बदल्न सक्छु ।
जब मेरो विवाह भयो,
मलाई लाग्थ्यो, म मेरो परिवारलाई बदल्न सक्छु ।
अब म बूढो भएको छु,
मलाई थाहा भयो, म आफूलाई मात्र बदल्न सक्नेरहेछु ।’
यी हरफका सर्जक को हुन् ? मलाई अहिलेसम्म थाहा छैन । सामाजिक रुपान्तरण र प्रशंसनीय दृष्टिकोणको अभियानमा हिँड्ने क्रममा यी हरफहरु मेरो कानमा परे । पछि, यी हरफहरु लेखिएको कागज मेरो हातैमा प¥यो र त्यसमा मेरो आँखा परेपछि परिवर्तनका सन्दर्भमा कुरा चल्दा यी हरफहरुले मलाई छोडेका छैनन् । सर्जक र स्रोतबारे उल्लेख गर्न नसकेकोमा क्षमा चाहन्छु ।
हाल, अस्तित्वमा रहेका वस्तुहरु नश्वर छन् । परिवर्तन अवश्यम्भावी र शाश्वत । यही परिवर्तनको शाश्वतताले नै वस्तुहरु नश्वर भएका हुन् । परिवर्तनको धर्म नै वस्तुलाई यथास्थितिमा रहन नदिनु हो । मानव निर्मित निर्माण र सिर्जना मात्र होइन, मानवको निर्माण तथा सिर्जनशीलताले प्राकृतिक अवस्थाहरुमा समेत परिवर्तन ल्याइदिएको छ ।
मानव जातिले आफूअनुकूल हुनेगरी थुप्रै परिवर्तन गरेको छ । मानव जातिले भौतिक अवस्थामा मात्र होइन, सभ्यता र सँस्कृतिमा समेत ठुल्ठूला परिवर्तन गरेको छ । परिवर्तन त नियमित प्रक्रिया हो, यो त भई नै रहन्छ । परिवर्तनका दुईवटा पाटा छन्, स्वतः हुने परिवर्तन र गरेर हुने परिवर्तन । स्वतः हुने बदलाव परिवर्तन हो भने गरेर हुने परिवर्तन रूपान्तरण हो । मानवद्वारा सचेतनतापूर्वक गरिने परिवर्तनलाई विकास भन्ने गरिन्छ । विकास मानवले आफ्नै हितका निम्ति प्रारम्भ गरी अघिबढाउँदै आएको रुपान्तरणको नियमित प्रक्रिया हो ।
हरेक मानिस सुखशान्ति र सुविधा चाहन्छ । अर्काको सुखशान्ति र सुविधा खोसेर आफ्नै भागमा मात्र पार्नु शोषण हो । यो नकारात्मक पाटो हो । समाजमा यस्तो अवस्था विद्यमान छ । तर, यसो नगरेर अवलम्बन र उपयोग गर्नसक्दा अरुको समेत हितहुने नयाँ आविष्कार, सिर्जना, निर्माण गरेर र नयाँ विचार, दृष्टिकोण, नीति, विधि स्थापित गरेर सुखशान्ति र सुविधा प्राप्त गर्नु सकारात्मक पाटो हो ।
हाम्रो देश नेपाल प्राकृतिक तथा साँस्कृतिक विविधताले भरिपूर्ण
रहेको छ । देशमा आएका पछिल्ला राजनीतिक परिवर्तनहरुले जनतामा नयाँनयाँ जागरण पैदा भएको छ । यस्ता जागरणका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन् । यस्तो हुनु स्वभाविकै हो । कुनै पनि विकास शून्यबाट प्रारम्भ हुँदैन । विकासकालागि विकासको पूर्वाधार आवश्यक हुन्छ । सामान्यतया विकासको पूर्वाधार भनेको प्राकृतिक स्रोत र अघिल्लो पुस्ताबाट वर्तमान पुस्तामा सरेको भौतिक तथा सामाजिक अवस्था नै हो । हाम्रो राष्ट्रमा विकासका यी आधारहरुको कमी छैन ।
आफू र आफ्नो वरिपरि रहेका राम्रा पक्षहरुलाई पहिचान गरेर, तिनीहरुलाई हुर्काएर, बढाएर नै हामीले आफू र आफ्नो समाजलाई विकसित अवस्थामा पु¥याउन सक्नेछौँ । यसका लागि सकारात्मक तथा सचेत प्रयत्न आवश्यक छ । यस्तो काम कुनै व्यक्ति विशेषले अर्ती—उपदेश दिँदै हिँडेर संभव हुँदैन । यसलाई पद्धतिले व्यवस्थित गर्नुपर्छ ।
यसो गर्न मूलतः शिक्षा र राजनीतिक क्षेत्रमा सकारात्मक सोच, दृष्टिकोण र अभ्यास आवश्यक छ ।
जुनसुकै समयमा पनि मानिसहरुमा आसा, उत्साह र उमंग हुन सक्दछ भने निराशा, कुण्ठा र अवसाद हुन सक्दछ । यस्तो अवस्थालाई भौतिक विकासले मात्र पन्छाउन सक्दैन । यसका निम्ति मानिसमा आफैप्रति विश्वास जन्माउन, जगाउन र हुर्काउन जरुरी हुन्छ । यसका लागि उत्प्रेरणा जगाउने साहित्य या अध्ययन सामग्रीको आवश्यकता पर्दछ । हुन त सकारात्मक सोच, दृष्टिकोण र विचार बनाउन कुनै निश्चित किताब नै पढ्नुपर्छ भन्ने हुँदैन । यो त जेसुकै, जहाँसुकै र जस्तासुकै अध्ययन सामग्रीबाट पनि प्राप्त गर्न सकिन्छ । तर, त्यसको सुरुआतको लागि भने प्रस्तुत सामग्री उपयोगी हुन सक्दछ ।
अहिले मानिसहरुमा संगठित हुने प्रयास र प्रक्रियासँगै व्यवस्थाकीय ज्ञान र सीपको माध्यम तथा स्रोतको खोजी समेत भइरहेको छ । सबै तहका विद्यालयहरु व्यवस्थाकीय ज्ञान र सीप विकासका माध्यम हुन् । यसो गरिरहँदा पनि विद्यालयहरुमा विद्यार्थी आफैमा भएका ज्ञानको खोजी तथा त्यसको प्रयोगको ब्यवहारिक अभ्यास गराउनु आवश्यक हुन्छ अर्थात्, विद्यार्थीले स्वयं आफूभित्रै संभावना र सिर्जनाको अथाह भण्डार रहेको अनुभूति गर्नु पर्दछ । बाहिरी पक्ष त सहयोगी हो, साधन र माध्यम हो, वास्तविक शक्ति त मानिसभित्रै रहेको हुन्छ ।