images
images

धार्मिक ज्ञानकथा र कथाका पात्रहरू

कुनै पनि देवी, देवता, भगवान जिम्मेवारी विहीन देखिँदैनन् । सबैका लागि कुनै न कुनै प्रकारको काम तोकिएको र उनीहरूले ती काम गरेको देखाइएको छ । कुनै पनि देवी, देवता, भगवान केही नगरी उनीहरूबाट कुनै पकारको उपलब्धी भएको देखाइएको छैन । आआफ्ना  जिम्मेवारी पूरा गर्न उनीहरू मानिसकै रुपमा देखिएका छन् र मानिसले जसरी नै काम गरेका छन् । समुद्र मन्थन गर्दा होस् वा युद्ध गर्दा, उनीहरू आफै भिडेको देखिन्छ । मानिसहरूले जसरी नै आफन्तहरूसँग व्यवहार गर्ने, अपेक्षा गर्ने, जीविकाका लागि शिकार आदि गर्ने, विवाह, सन्तानोत्पत्ती आदि कार्य मानिससरह नै गरेको देखिन्छ ।  ‘लीला’का रूपमा गर्ने चमत्कारिक कामहरू पनि उनीहरूले मानिस नै बनेर गरेका छन् । राम, कृष्ण, बलराम, परशुराम आदिका कथामा यस्तै विषय छन् । देवी—देवता भनौँ वा भगवान उनीहरू मानिसभन्दा भिन्न देखिएका छैनन् । 

 

जहाँसम्म मत्स्य(माछो), कूर्म(कछुवा), वराह(वँदेल), नृसिंह(मानिसको शरीर र सिंहको टाउको भएको, आधा मानिस, आधा सिंह भएको, एउटै शरीरमा मानिस र सिंह भएको) आदि अवतारका कुरा छन्, यी जीवको उत्पत्तीको प्रारम्भको विषय हो भन्ने बुझिन्छ । निरपेक्ष ढङ्गले बुझ्न खोज्दा यी विषय पत्यार लाग्दा छैनन् । तर, यस्ता विषयको गहिराइसम्म पुगेर अध्ययन गर्ने र बुझ्ने प्रयास गर्ने हो भने यी अवतार र यस सम्बन्धी अवधारणा विज्ञानसम्मत रहेको र समाजविकासको महत्वपूर्ण आधारका रूपमा देख्न सकिन्छ ।  यस्ता विषय पौराणिक कथामा मात्र होइन, मानिसमा दार्शनिक अवधारणाहरूको विकासका क्रमको उल्लेख गरिएका अन्य पुस्तकहरूमा पनि पाइन्छ । अहिलेको विकसित अवस्थामा जन्मेका र बाँचिरहेका आँखाले हेर्दा पहिले भएकै विषय पनि कतिपय पत्यार नलाग्ने र कतिपय कमजोर लाग्ने थुप्रै विषय छन् । 

 

यस विषयमा एउटा यस्तो प्रसङ्ग पनि पढिन्छ, ‘अनांसी माकुरोले संसार भ्रमण गऱ्यो र बुद्धिमत्ताका कणहरू जम्मा गरेर एउटा भाँडोमा राख्यो । भाँडो भरिएपछि अनांसीले त्यसलाई एउटा रूखमा लुकाउने तयारी गऱ्यो । तर, त्यसैबेला ऊ आप्mनो छोरासँग रिसायो र उसले त्यस भाँडोलाई तल फ्याँकिदियो । भाँडो फुट्यो र बुद्धिमत्ताका कणहरू रूखमुनी चारैतिर छिरोलियो । जो मानिसहरू सचेष्ट र सावधान थिए, उनीहरूले ती कणहरू बटुले र जसले त्यस्तो गर्न सकेनन्, ती बुद्धिहीन नै रहिरहे ।’(WHAT IS PHILOSHOPH) G.Kirilenko, L. Korshunova द्वारा लिखित जगदीश चन्द्र पाण्डेयको हिन्दी अनुवाद, प्रगति प्रकाशन मास्को, पृष्ठ सङ्ख्या ११) । 

 

अफ्रिकी दन्त्यकथाको रूपमा प्रस्तुत गरिएको यो कथा विश्वास लाग्दो छ त ? छैन । यो त दन्त्यकथा हो, यो त्यस बेलाका मानिसहरूको सत्य थियो, जो काल्पनिक थियो । यो त एउटा उदाहरण मात्र हो । यस्ता अनेकौँ उदाहरणहरू छन् । यस्ता कथाहरू दृष्टान्तका रूपमा लिन सकिने हुन्छन् ।  यस्ता विषय पढेर नै दर्शनको विकसित अवस्थाबारे थाहा पाइने हो । आजका धेरै दार्शनिकहरूले यिनै पुराना कल्पना पढेर आफूलाई विद्वान बनाउन सकेका हुन् । तर, हाम्रा पौराणिक ग्रन्थहरू तीभन्दा सत्यका नजीक छन् । प्रतिकका रूपमा अथ्र्याउन सकिने स्तरका छन् । 

 

अधिकांशतः पौराणिक पात्रहरूका नाम पनि ठाउँ, पूर्वज र कामकै आधारमा रहेको देखिन्छ । यी विषय पनि मननीय लाग्दछन् । देश, काल, परिस्थितिको सापेक्षता विना कुनै विषय सार्थक देखिँदैनन् । सापेक्ष रूपमा बुझ्न सक्दा पौराणिक कथाका पात्र तथा तिनीहरूका चरित्रले हामीलाई काम लाग्ने शिक्षा दिइरहन सक्दछन् । 
पुराण अट्ठारवटा छन् । यी अट्ठारवटै पुराणका रचनाकार महर्षि व्यास हुन् । ती पुराणका नाम हुन्— 
१.ब्रह्मपुराण, २.पद्मपुराण, ३.विष्णुपुराण, ४.शिवपुराण, ५.भागवत(महा)पुराण, ६.नारदपुराण, ७.मार्कण्डेयपुराण, ८.अग्निपुराण, ९.भविष्यपुराण, १०.ब्रह्मवैवर्तकपुराण, ११.लिङ्गपुराण, १२.वराहपुराण, १३.स्कन्धपुराण, १४.वामनपुराण, १५.कूर्मपुराण, १६.मत्स्यपुराण, १७.गरूडपुराण, १८.ब्रह्माण्डपुराण । 
यी पुराणहरूमा धेरै कथाहरू हुन्छन् । यी कथाहरू देवी, देवता, राजा—महाराजा, ईश्वर तथा ईश्वरीय शक्ति, ईश्वरप्रतिको भक्तिका विषय समेटिएका हुन्छन् । राजा—महाराजाका विषयमा त इतिहास पनि लेखिएका छन् । तर, यी पुराणहरूमा ईश्वर, भगवान, देवी, देवता, भक्ति, धर्म, स्वर्ग, पाप, नर्क आदिका विषयमा वर्णन गरिएको हुन्छ । यिनै वर्णनलाई पुराणका कथा, पुराणका ज्ञानकथा, भक्तिकथा भनिन्छ । पुराणहरूमा धेरै कथा हुन्छन् । यी कथाहरूबाट जीवनोपयोगी शिक्षा लिन सकिन्छ । 

 

मानवसमाज विकासको खास कालखण्डमा लेखिएका विषय हुनाले यी कथाहरूका सबै विषयवस्तु वर्तमान जीवनमा जस्ताको तस्तै मिलेको या मिलाउन खोजियो भने गल्ती हुनेछ । यो विषय पुराण भएर मात्र होइन, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना मुना—मदन पनि जस्ताको तस्तै लागू हुन सक्दैन । यही कुरा पुराणका सन्दर्भमा पनि हुन सक्दछ । आस्था तथा मान्यताका कारणले आमकथा र पौराणिक कथाका बीचमा फरक हुनु स्वाभाविक हो । आस्था तथा मान्यताका कारणले मात्र होइन, अन्य अनेकौँ कारणहरूले पुराण कथाहरूको महत्व विशिष्ठ रहेको छ । 

 

यी पौराणिक कथाहरूले जीवको उत्पत्ति र मानवसमाज विकासको दार्शनिक अवधारणा समेत बोकेका छन् । विष्णुका १० र २४ अवतारहरूको वर्णनमा ध्यान दिँदा यी विषय फेला पार्न सकिन्छ । पानीको बहुलता, पानीबाट जीवको उत्पत्ती र क्रमिक विकास यी अवतारहरूका अध्ययनबाट थाहा पाउन सकिने विषय हुन् । यी विषय विज्ञानसम्मत छन् ।  यी कथाहरूमा वर्णित कथाका पात्रहरूको चरित्रभित्र वर्तमानलाई छुने अनेकौँ प्रतिकात्मक विषय छन् । सबै पुराणहरूमा ब्रह्मासँग सरस्वती, विष्णुसँग लक्ष्मी, महादेवसँग पार्वती हुनु र पार्वतीलाई दुर्गा, आदिशक्ति आदि भनिनुलाई यिनीहरूका भूमिकाका विषयमा गहिरिएर अध्ययन गर्दा मात्र बुझ्न सकिन्छ । सबै पौराणिक कथामा जस्तो कि ब्रह्मा सृष्टिकर्ता हुन् । विष्णु पालनकर्ता हुन् । महादेव या शिव संहारकर्ता हुन् । 

 

सृष्टि, पालन र संहारलाई आज कसरी हेर्न सकिएला ? यसको औचित्य के हुन सक्ला ? यस्ता प्रश्न धेरैका मनमा होलान् । कथा वाचकले आजको सन्दर्भमा यी कथाको मर्म बुझाउन बाँकी रहेको हुुन सक्दछ ।  ब्रह्मालाई ज्येष्ठ, श्रेष्ठ, पितामह पनि भनिएको छ । सरस्वतीलाई विद्याकी अधिष्ठात्री भनिएको छ । विष्णुलाई नारायण भनिएको छ, लक्ष्मीलाई धनकी देवी भनिएको छ । शिव भनेको कल्याण हो र शिवलाई रूद्रका रूपमा पनि देखाइएको छ । रूद्र भनेको संहारक हो । पार्वतीलाई आदिशक्ति भनिएको छ । यी सबैको विषयको अन्तर्वस्तु कथाका बाहिरी विषयले मात्र प्रकट गर्न सक्दैनन् । यिनीहरूलाई थप गम्भीरता साथ अध्ययन गर्न आवश्यक छ । 

 

मानिस यस्तो उपभोगवादी हुँदै गइरहेको छ कि उसले खोजेको कुरा खोजेकै रूपमा प्राप्त गर्न चाहन्छ । अनि, उसले आजको चेतनासँग जोडेर हेर्छ, अमिल्दो पाउँछ र विरोध गर्न थाल्दछ । अलिकति मात्रै पनि ध्यान दिने हो भने धार्मिक कथाहरूमा वर्णन गरिएका हतियार, पात्र, औजार, खाद्यपरिकार, शृङ्गारका साधन, शृङ्गारका तरिका, कुनै पनि वस्तुहरूको स्थान निर्धारण आदिबारे बुझ्न सकिन्छ । कतिपय मानिसहरूले देवीदेवताका हातमा देखाइएका हतियार तथा अन्य शंख, घन्ट, त्रिशुल, कमण्डलु, बञ्चरो, पास-डोरी आदि त आजका कलाकारले बनाएका हुन् भन्ने तर्क पनि गर्दछन् । तर, उनीहरूलाई के थाहा नभएको स्पष्ट देखिन्छ भने यी विषय धेरै पहिले लेखिएका धार्मिक ग्रन्थहरूमा उल्लेख छन् । मन्दिरको बनोटका विषयमा यस्तै यस्तै विषय जान्न पाइन्छ । 

 

लेखेकै कुरा मात्र जान्नु, देखेकै कुरा मात्र पत्याउनु पनि सही होइन । देख्ने विषय होस् वा सुन्ने, पढ्ने विषय, तिनीहरूको आसय बुझ्ने क्षमता नहुनेहरूले दोष देख्दछन्, दोष लगाउँछन् र दोषकै विस्तार गर्दछन् । तर, यसो गर्नु देश, समाज, प्राचीन वैभव र विरासतको विरुद्ध हो । अज्ञानको विस्तारले अज्ञान नै बढ्दछ । आपूmले नजानेको सत्य पनि हुन सक्दछ भन्ने सोच सबैमा जागृत हुन आवश्यक देखिन्छ । 

 

धार्मिक कथा, त्यहाँका पात्रहरू, त्यहाँका औजार उपकरण, हातहतियार आदिको अध्ययनबाट हाम्रो आफ्नो  इतिहास पनि बुझ्न सकिन्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ । 
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)