काठमाडौँ l निर्वाचन आयोगले उम्मेदवारको एक पक्षीय अन्तरवार्ता नलिन र उम्मेदवारहरुलाई समान अवसर दिन सञ्चार माध्यमलाई निर्देशन दिएको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै केही दल र उम्मेदवारलाई मात्रै सञ्चार माध्यमले अवसर दिएकाले त्यसलाई सच्याउन निर्देशन दिएको हो।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘निर्वाचन प्रचारप्रसारका क्रममा रहेका केही दल र उम्मेदवारलाई मात्रै स्थान दिइ समान अवसरबाट वञ्चित गर्ने, अन्तर्वार्ता लिने क्रममा मुख्य उम्मेदवार भनेर आफु खुशी कसैलाई बढावा गर्ने वा कोही उम्मेदवारलाई कमजोर उम्मेदवार भनेर चित्रण गर्ने…।’
आयोगले मतदातासँग सञ्चार माध्यमले कसलाई मत दिनुहुन्छ भनेर आचारसंहिता विपरीत काम गरेको तर्फ पनि ध्यानाकर्षण गराएको छ।
‘यो वा त्यो पक्षको जित वा हार निश्चित भन्ने आशयले पूर्वानुमानयुक्त सामग्री प्रकाशन र प्रसारण गर्ने, कतिपय सञ्चारमाध्यमले मतदताहरुसँग अन्तर्वार्ता लिने क्रममा “कसलाई मतदान गर्नुहुन्छ? भनी उत्तर दिन बाध्य पार्ने तथा कतिपय अनलाइन सञ्चारमाध्यममा उम्मेदवारहरुबारे पक्ष वा विपक्षमा तथ्यहीन र आचारसंहिताविपरीतका समाचार सम्प्रेषण गराई त्यसलाई सामाजिक सञ्जालका विभिन्न खाता प्रयोग गरी बुष्ट (स्पोन्सर) गर्ने जस्ता क्रियाकपलाहरुप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ, आयोगले भनेको छ।
आयोगले सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोग कर्तालाई आचारसंहिताको पूर्ण पालना गर्न ध्यानाकर्षण गराएको छ।